राष्ट्रियसभाको चुनावी परिणामले हौसिएको एमाले नेपाली काङ्ग्रेसका नव –निर्वाचित सभापति गगन थापासँग सम्बन्ध बढाउन कोसिस गरिरहेको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पल्ट काङ्ग्रेस सभापति गगन थापालाई टेलीफोन गरी राष्ट्रियसभामा नेपाली काङ्ग्रेस पहिलो पार्टी भएकोमा शुभकामना दिएका छन् । हाम्रो समाचारसुत्रका अनुसार ओलीसँगको टेलिफोन वार्तामा गगनले भने त्यति महत्व नदिएको तर झापा ५ को चुनावी अपडेट सोधपुछ भएको बताइन्छ । एमालेले आफ्ना दुत मार्फत गगन र विश्वलाई आगामी चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्न र महत्वपूर्ण ठाउँमा तलमेलसम्म गर्न प्रस्ताव गरेको थाहा भएको छ । चर्चित झापा ५ मा नेपाली काङ्ग्रेसले एमालेलाई सघाउन र बदलामा सर्लाही ४ मा गगनलाई जिताउन सहयोग गर्ने त्यसका साथै रुकुम पूर्वमा नेकपा संयोजक प्रचण्डलाई पनि हराउन पर्ने प्रस्ताव ओलीले अगाडि सारेको बुझिएको छ ।
पछिल्लो परिस्थितिलाई अन्दाज गर्दै २१ फागुनको निर्वाचनमा गगन थापा र केपी ओली आफ्ना–आफ्ना क्षेत्रमा दबाबमा परेपछि कांग्रेस र एमालेबीच अघोषित सहकार्यको तयारी भएको चर्चा यतिबेला भित्र भित्र चलेको छ । स्रोतका अनुसार, झापा र सर्लाहीजस्ता क्षेत्रमा एकअर्कालाई सघाउने रणनीतिमा प्रारम्भिक छलफल एक चरणमा भइसकेको छ । प्रभावशाली रास्वपा उम्मेदवार बालेन साह र अमरेशसिंह मैदानमा आएपछि हारको जोखिम टार्न दुबै दल नजिकिँदै गएको संकेत देखिएको छ भने यसलाई धेरैले बालेन हराउने ओली र गगन ग्राण्ड डिजाइन भन्न थालेका छन् ।
ओलीलाई बालेन र प्रचण्ड दुबै हराउन परेको छ त्यसैले खोजीखोजी प्रचण्डका विरोधीसँग चुनावी तालमेल गर्दैछन् । यसैक्रममा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विच तालमेलको सहमति भएको छ । आइतबार दुई पार्टीबिच तालमेलको सहमति हुँदा एमालेले रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा नेकपाका उम्मेदवार प्रचण्डविरुद्ध उठेका प्रलोपाका सन्दीप पुनलाई सघाउने निर्णय भएको छ । तीन बुँदे सहमति पत्रको पहिलो बुँदामा भनिएको छ, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) द्वारा मतदान गर्ने सहमति भएको छ ।
यस्तै दोस्रो बुँदामा कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई भोट हाल्नेछ । बुँदा नम्बर २ मा भनिएको छ, ‘कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा एमालेका उम्मेदवारहरुको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा मतदान गर्ने सहमति भएको छ ।
सहमतिको तेस्रो बुँदामा दुवै पार्टीहरूले सहमति कार्यान्वयन गर्न आ–आफ्नो आन्तरिक पङ्क्तिलाई अविलम्ब निर्देशन गर्ने उल्लेख छ । सहमति पत्रमा एमालेको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाबाट अध्यक्ष दुर्गा सोबको हस्ताक्षर छ ।
