IMG-LOGO

बालेन र रविको एकताबारे अन्तर्राष्ट्रिय चर्चा

 मंगल, पौष १५, २०८२  – टाइम्स टिप्पणीकार

     काठमाडौं महानगरपालिका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचमा भएको ७ बुँदे सहमतिको अन्तर्राष्ट्रिय रूपमा नै चर्चा भएको छ । यस बिषय अन्तर्राष्ट्रिय संचार माध्यम रोइटर्सका अनुसार नेपालमा आगामी फागुनमा हुने संसदीय निर्वाचन अघि दुई चर्चित नेताहरूले गठबन्धन बनाएका छन् । यसले विगत तीन दशकदेखि हिमाली राष्ट्रको राजनीतिमा हावी रहेका पुराना दलहरूलाई चुनौती दिने पार्टी पदाधिकारी र विश्लेषकहरूले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

     लोकप्रिय निर्वाचित जनप्रतिनिधि तथा र्‍यापरबाट काठमाडौंको मेयर बनेका बालेन्द्र शाह (बालेन) आइतबार पूर्व–टेलिभिजन प्रस्तोताबाट राजनीतिज्ञ बनेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको पार्टी पदाधिकारीहरूले बताएका छन् । रास्वपासँगको सम्झौता अनुसार, आगामी फागुन २१ को निर्वाचनमा रास्वपाले जितेमा ३५ वर्षीय बालेन प्रधानमन्त्री बन्नेछन् भने ४८ वर्षीय लामिछाने पार्टी सभापति मै रहने उनीहरूले बताएका छन् ।

दुवै नेताले गत भदौमा व्यापक भ्रष्टाचारविरुद्ध भएको ‘जेनजी’ वा युवा नेतृत्वको आन्दोलनका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो । ‘बालेन र उनका युवा समर्थकहरूलाई आफ्‌नो पक्षमा ल्याउनु रास्वपाको निकै चतुर र रणनीतिक कदम हो,’ विश्लेषक विपिन अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भने, ‘आफ्‌ना युवा मतदाताहरू रास्वपातिर लाग्ने डरले परम्परागत राजनीतिक दलहरू त्रसित छन् ।’

     निर्वाचन आयोगका अनुसार नेपालका ३ करोड जनसंख्यामध्ये करिब १ करोड ९० लाख मानिस निर्वाचनमा मतदान गर्न योग्य छन् । आन्दोलनपछि करिब १० लाख मतदाता धेरैजसो युवाहरू थपिएका छन् । सेप्टेम्बरको आन्दोलनपछि बालेन चर्चाको केन्द्रमा थिए र उनी आन्दोलनको नेतृत्व गर्ने युवाहरूका अघोषित नेता थिए । उनले निर्वाचन सम्पन्न गराउन पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार गठनमा पनि सहयोग गरेका थिए । केही आलोचकहरूले आन्दोलनका क्रममा बालेनको भूमिकामाथि प्रश्न उठाएका छन् । उनी सार्वजनिक रूपमा विरलै देखा परेको र सामाजिक सञ्जालमार्फत मात्र समर्थकहरूलाई सम्बोधन गरेको उनीहरूको भनाइ छ ।

     ओलीको नेकपा (एमाले) र मध्यमार्गी नेपाली कांग्रेसले विगत तीन दशकको अधिकांश समय सत्ता साझेदारी गरेका छन् र उनीहरूलाई नै बालेनले चुनौती दिने सम्भावना बढी छ । लामिछानेले २०२२ को निर्वाचनअघि रास्वपा गठन गरेका थिए र उनी टेलिभिजन प्रस्तोताका रूपमा भ्रष्टाचार विरोधी अभियानका कारण लोकप्रिय छन् । सहकारीका ठगीको आरोप लागेको मुद्दामा उनी हाल धरौटीमा रहेका छन् । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बालेन र लामिछाने दुवै ‘विवादास्पद’ नेता भएको र उनीहरूको गठबन्धनले कुनै ठोस प्रभाव पार्ने सम्भावना नरहेको बताए । ‘मलाई लाग्दैन कि उनीहरूको गठबन्धनले कुनै उथलपुथल ल्याउनेछ । जनताले अझै पनि पुराना र अनुभवी दलहरूलाई नै रोज्नेछन्,’ महतले रोयटर्सलाई भने ।

     सहकारी ठगी आरोप लागेका रवि लामिछाने धरौटीमा मात्रै छुटेका हुन् । सहकारीको मुद्दा यथावत भएकाले उनी चुनावमा उठ्न पनि पाउने छैनन् । चुनावमा उठन नपाएपछि खेल खत्तम भयो । रवि जितेको खण्डमा प्रधानमन्त्री पद कसैलाई दिन्न थिए, त्यसैले रविले चर्तुयाइँ गर्दै बालेनलाई उधारो प्रधानमन्त्री बनाएर आम युवालाई झुक्याउने खेल खेलेका र यसलाई चिर्न नेपाली राजनीतिका खेलाडी प्रचण्ड मात्रै हुन् । उनले आगामी दिनमा कुलमान वा अरु कुनै पात्र उभ्याएर उचित जवाफ दिन सक्ने कुरा वरिष्ठ पत्रकार किशोर नेपालले काभ्रे टाइम्सलाई बताएका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्