IMG-LOGO

नेपाली राजनीतिमा अनिष्टको संकेत

 मंगल, चैत २२, २०७८  जगदीश दाहाल

      राजनीतिमा एउटा भनाइ प्रचलित छ –‘जोगी बन्न राजनीति गरेको होइन’ यो भनाइ नेपाली राजनीतिज्ञको हकमा धेरै लागू हुन्छ । राणा शासन उत्कर्षमा रहेका बेला राणा शासन विरुद्ध विद्रोह गरिरहेका नेताहरु विपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीहरु धनाढ्य बन्न राजनीति गरेका थिएनन् । उनीहरुले कुनै निर्णय दिनुप¥यो  भने नेपाली भूमिको माटोलाई साक्षी राखेर मुलुकको हितमा निर्णय गर्ने सामथ्र्य राख्थे। मुलुकमा आफू विरुद्ध ज्यान मुद्दा परेका बेलासमेत विपीले मर्नु परे मातृभूमिमै गएर मर्ने भनेर ज्यानको जोखिम लिएर स्वदेश फर्किएको इतिहास हामी सबैले पढेका छौं । इतिहास एउटा थियो तर अहिले त्यही इतिहासको जगमा टेकेर आएका दलका नेताहरुको वर्तमान भने पूरै भिन्न छ । अहिले मुलुकको शासन सत्ता चलाइरहेका नेताहरुले आफूलाई उनै विपी, गणेशमान, मनमोहनका अनुयायी हौं भन्छन् । उनीहरुले स्थापना गरेको दलबाटै अहिलेका नेताहरुले आफ्नो राजनैतिक ‘करिअर’लाई निरन्तरता दिइरहेका छन् । तर अहिलेका नेताहरु विपी, गणेशमान, मनमोहनका अनुयायी नै हुन् भन्न पनि सोच्नु पर्ने भएको छ । यहाँ अहिलेका कुनै पनि नेताले जोगी बन्न राजनीति गरेका होइनन् । पद र सत्ता प्राप्तिका लागि नेताहरु जस्तोसुकै सम्झौता गर्न पनि तयार देखिएका छन् ।

      पछिल्ला केही घटना क्रमले नेपाली राजनीतिमा कालो बादल मडारिरहेको त छैन भन्ने आशंका उब्जाएको छ । सत्ता प्राप्तिका लागि आफ्नो विचार, सिद्धान्त पटक्कै नमिल्ने दलहरुबीच चुनावी तालमेलको कुरा बाहिर आएको छ । बिपीले कहिल्यै पनि विचार र सिद्धान्त नमिल्ने शक्तिसँग सहकार्य गर्ने बारेमा सोचेनन् । तर आज उनका अनुयायीहरु पद र सत्ताका लागि अप्राकृति गठबन्धन गर्न तयार भएका छन् । कांग्रेस–माओवादी, एमाले–राप्रपाबीचको चुनावी तालमेलले त्यसैको संकेत गर्छ । आफ्नो व्यक्तिगत र आफ्नो परिवारको स्वार्थका लागि विचारलाई तिलाञ्जली दिने, सिद्धान्तलाई तिलाञ्जली दिने, मूल्य मान्यतालाई तिलान्जली दिने, शक्ति राष्ट्रको समर्थनका लागि नेपालको हित र नेपाली जनताको हित नहेर्ने यो प्रवृत्ति गठबन्धनका नेतामा देखिएको छ । यो नेपाली राजनीतिमाथिको कालो बादल हो । बहुदलीय व्यवस्थामा स्वस्च्छ र स्वस्थ प्रतिस्पर्धालाई सामान्य मान्नुपर्छ । अहिले हामीले अंगीकार गरेको राजनीतिक व्यवस्थामा कुनै एक दलले बहुमत ल्याउन नसक्ने भएका कारण गठबन्धन गर्नुलाई अनुचित मान्न सकिँदैन । तर त्यस्तो गठबन्धन विचार, सिद्धान्त र आदर्श मिल्ने दलहरुबीच हुनुपर्छ । अहिले दलहरुबीच हुन लागेको गठबन्धनले नेपाली राजनीतिलाई गिजोलेर फोहोर बनाउने काम मात्रै गर्छ ।

      किनकि अहिले बनाउने भनिएका राजनैतिक गठबन्धनमा सहभागी दलहरुको विचार, दृष्टिकोण मात्रै होइन राज्य संचालनको प्रक्रिया नै मिल्दैन, कहाँ प्रजातान्त्रिक विचारधाराको कांग्रेस र कहाँ समाजवादी विचार धाराको माओवादी यी दुईको विचार पटक्कै मिल्दैन । कांग्रेस पूँजीवादी अर्थतन्त्रमा विश्वास गर्ने पार्टी हो भने माओवादी समाजवादी अर्थतन्त्रको पक्षधर हो । अब यी दुईको गठबन्धन भयो भने मतदाताले के गर्ने? दलका नेताहरुको विचार मिल्यो भन्दैमा मतदाता, जनताको विचार पनि त्यस्तै त हुँदैन । देशमा समाजवादी व्यवस्था चाहने मतदाताको क्षेत्रमा कांग्रेस उम्मेदवार उठाइदिएर माओवादीलाई त्यसैमा मतदान गर्न लगाउने र प्रजातन्त्रवादी मतदातालाई माओवादी उम्मेदवारलाई मतदान गर्न लगाउने कहाँको न्याय हो? जनतालाई समेत जबरजस्ती बाध्य पार्न पाइन्छ? एमाले र राप्रपाको हकमा पनि दुरुस्तै यही कुरा लागू हुन्छ । यस्तै अर्को अनिष्टको संकेत चुनाव आउन केही महिनामात्रै बाँकी रहँदा प्रधानमन्त्रीको भारत भ्रमणले पनि गरेको छ । चुनाबको मुखमा चिनियाँ विदेशमन्त्री नेपाल आउने र चीनका प्रतिनिधि फर्किनासाथ प्रधानमन्त्रीको भारत भ्रमण घोषणा हुनुले नेपाली राजनीतिमा एक किसिमको तरंंग ल्याएको छ । राजनीतिका प्रतिस्पर्धी शक्तिहरुले प्रधानमन्त्रीले के गर्नुपथ्र्यो र के गर्नु पर्दैनथ्यो भन्ने कुरा औंल्याउन र प्रधानमन्त्रीलाई भारत परस्तको आरोप लगाउन यो भ्रमणले सहज पारिदियो । राष्ट्रिय मामिलामा कांग्रेसलाई आक्षेप लगाएर जनतामा भ्रम सृजना गर्ने र कांग्रेस कमजोर बनाउने कामका लागि यो भ्रमणले थप मलजल गरिदियो ।

      अहिले प्रधानमन्त्रीको भारत भ्रमणको समय उपयुक्त थिएन तर के गर्नु? चीन यसैबेला आइदियो । चीन आउनु र प्रधानमन्त्री भारत जानु नेपाली राजनीतिमा राम्रा संकेत होइनन् । किनकि चुनाबको मुखमा यी दुई छिमेकीको सक्रियताले आसन्न निर्वाचनमा गणितीय हिसावले तलमाथि पार्छ । तलमाथि पार्छ भन्नु भन्दा पनि यी दुवै छिमेकीको यो सक्रियता चुनाबी परिणाम तलमाथि पार्नकै लागि भएको छ । हाम्रा शक्तिशाली दुई छिमेकीबीच शक्ति संघर्ष चलिरहेको छ र यी दुईको शक्ति संघर्ष बीचमा रहेको हाम्रो देश रणनैतिक हिसाबले महत्वपूर्ण छ । त्यसैले नेपालमा आफू अनुकूल सरकार बनाउने चाहनाकै कारण हाम्रा छिमेकीहरु सल्बलाइरहेका छन् । त्यस्तै सात दशकदेखि तटस्थ बस्दै आएको नेपालले अहिले आएर रुसले युक्रेनमा आक्रमण गरेको विषयमा युक्रेनको पक्षमा खुलेर समर्थन मात्रै गरेन मतदान समेत ग¥यो । नेपालको यो भूमिकाले नेपाल नेटो र अमेरिकाको पक्षमामा उभिएको भन्ने बुझिन्छ । यसरी नेपाल अमेरिका र नेटोको पक्षमा जानुले भोलिका दिनमा दूरगामी प्रभाव पार्न सक्छ । हाम्रा दुई बलिया छिमेकी चीन र भारतबीचमा आपसी शक्ति संघर्ष छ तैपनि युक्रेनको मामिलामा उनीहरु तटस्थ छन् । बरु उनीहरुले अप्रत्यक्ष रुपमा आफ्नो व्यापार, व्यसाय र आवश्यकतामा रुससँग हात मिलाइरहेका छन् ।

      यसबाट हामीले पाठ सिक्न जरुरी छ । संसारको नाकाबन्दी व्यहोरिरहेको रुसले जसरी चीन, भारत र उत्तर कोरियाबाट राहत पाइरहेको छ त्यसैगरी नेपालले पनि विश्वमा चरम शक्ति संघर्षको अवस्थामा पनि आफ्नो हित हुने गरी निर्णय गर्न सक्नुपथ्र्याे । यी सबै घटनाक्रममा नेपालले आफूलाई कहाँ राख्नुपथ्र्याे? कहाँ उभिनुपथ्र्यो, आफ्नो हैसियत के हो? कहाँ उभिँदा आफ्नो र नेपाली जनताको हित हुन सक्थ्यो, त्यो नेपालले विचार गर्न सकेन कि? आफ्नो हित हेर्नुपर्नेमा पश्चिमा राष्ट्रको लहैलहैमा नेपालले गलत निर्णय गरेको हो कि? यस्ता गम्भीर प्रश्नहरु हाम्रा अगाडि छन् । अहिले नेपाली राजनीतिमा कालो बादल मडारिएको मात्रै होइन, नेपाल र नेपाली जनताको नियति र भविष्यसमेत दुष्चक्रमा फस्दै जान लागेको अनुमान गर्न सकिन्छ। नेपालका आगामी निर्वाचनहरु सबैमा नजिकको छिमेकीदेखि टाढाका शक्ति राष्ट्रहरुको समेत प्रभाव पर्न सक्ने देखिएको छ । आफ्नो व्यक्तिगत र आफ्नो परिवारको स्वार्थका लागि विचारलाई तिलाञ्जली दिने, सिद्धान्तलाई तिलाञ्जली दिने, मूल्य मान्यतालाई तिलान्जली दिने, शक्ति राष्ट्रको समर्थनका लागि नेपालको हित र नेपाली जनताको हित नहेर्ने यो प्रवृत्ति गठबन्धनका नेतामा देखिएको छ । यो नेपाली राजनीतिमाथिको कालो बादल हो । नेपाल र नेपाली जनताका लागि सुख शान्ति र उज्यालो दिन यसले दिँदैन । यसले नेपाली राजनीति, नेपाली जनता र सिंगो नेपाललाई अँध्यारोतिर, अशान्ति र पीडातर्फ धकेल्छ । यो गठबन्धन कायम रहँदासम्म देशमाथि जोखिम रहिरहनेछ । यो गठबन्धनले दिन लागेको वैदेशिक नीति, स्वभाव, चरित्र र चिन्तनले मुलुक र मुलुकबासीलाई दुर्भाग्य निम्त्याउने निश्चित छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्