शक्ति भनेकै मनि र मसल्समा छ । अर्थात पैसा र बलिया पाखुराका अगाडि कसैको केही लाग्दैन । त्यस्तै देखियो नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा । गाउँ नगर देखि प्रदेश र केन्द्रसम्म नेपाली कांग्रेसको आदर्श मूल्य मान्यता केही काम लागेनन् । लागे त केवल छलछाम, घात प्रतिघाट, असैद्धान्तिक अमर्यादित गतिविधिहरु प्रधान भएर आए । बहस, छलफल, सर्वस्वीकार्य, सर्वसम्मती केही कतै भएन । पैसाको खोलो बग्यो, पद प्राप्तीका लागि सबै हर्कतहरु प्रयोग भए ।
समाजमा राजनीतिले सबै बेथितिहरुको निरुपण गर्छ । राजनीति नै समाजलाई डोहो¥याउने प्रमुख नीति हो तर राजनीतिमा नेतृत्वतहमा आएका पात्र र प्रवृतिलाई हेर्दा आशा भन्दा निराशा बढि लाग्ने हुन्छ । राजनीतिमा आउनु भन्दा अघि अनेकौ कु–कर्म गरेर दाग लागेका एकातिर छन् भने राजनीतिमा आएपछि अनेकौँ कु–कर्म गर्नेहरु अर्का तर्फछन् ।
त्यस्ता पात्र र प्रवृतिबाट के आशा र भरोशा गर्ने ? तिनीहरु नेतृत्वमा आएका किन ? किनभने आफू आफ्नाका लागि भूँडी भर्न, भूँडी फुटुन्जेल खान र देश दोहन गर्न आएका त हुन् ती । अचेल राजनीतिमा आएका त्यस्ता अनुहार हेर्दा असल मानिसहरु राजनीतिमा आउन हिचकिचाइ रहेका छन् ।
