स्वाभिमानी र निर्भीक सर्जक हुन् पारिजात । आफ्नो कुरा खुलस्त व्यक्त गर्न सक्ने क्षमता थियो, उनमा । उनी यौनका बारे र त्यसमा आफ्नो अनुभव पनि खुलस्त राख्थिन् । उनको यस्तो अन्तरंग पत्रहरू प्रकाशमा आएका छन् । डा। महेश मास्के ‘चिकित्सक, कवि तथा कूटनीतिज्ञ’ पारिजातका ठूलो हितचिन्तक हुन्। राजनीतिक विचारबाट पनि यी दुई निकत । पारिजातले आफ्ना अन्तरंग कुराहरू डा. मास्केसँग पत्रमार्फत् खुलस्त बताएकी थिइन् । ६ वैशाख ०४० मा लेखिएको पत्रमा उनी भन्छिन्, ‘ मैले आफूलाई विवश भएर एउटा पुरुषसँगको शारीरिक सम्पर्कमा हुत्याइदिन ुपर्दा ममा अमानवीय किसिमको धारणा विद्यमान थियो । यदि त्यो पुरुष सभ्य भइदिएको भए मेरो गलत धारणामा सुधार हुन सक्थ्यो होला, तर त्यो हुन सकेन । एकातिर म अति संकोचशील र विवश अर्कातिर ऊ अति कामुक असभ्य र परपीडक, अनि जटिलता त आउने भइगयो । जुन वेला यो सम्बन्ध कायम भएको थियो, त्यो वेला म चर्र्को रूपले बिरामी पनि थिइनँ । शारीरिक रूपले सुन्दर साथै सक्षम पनि थिएँ । तर, मैले त्यो व्यक्तिसँग शारीरिक सम्बन्ध चाहेकी थिइनँ । त्यो पीडादायक सम्बन्ध सम्झिँदा अझ पनि सेक्सुअल रिलेसनदेखि मलाई डर लाग्छ । ‘वेदना’, पूणर्ाङ्क ५४-२०५२ वैशाख-असार, पृ। १८-२४
पारिजातले डा. महेश मास्केलाई लेखेको पत्रहरूमा एकजना नारी सर्जकले समाजमा भोग्नुपर्ने अनेकौँ चुनौतीबारे पनि खुलस्त पारेकी छन् । उनीसँग एकान्त खोज्ने, प्रेम (यौन) आग्रह गर्नेहरू पनि देखिए । उनलाई ‘शिरीषको फूल’को सकम्बरी देख्नेहरू पनि निस्के । उनको चर्चा भट्टीतिर पनि भयो । फोटो प्रदर्शन गरेर एकापसमा झगडा गर्ने मर्द लेखकहरू उनीकहाँ आएर एकअर्काको निन्दा गर्थे । उनीसँग नजिक हुन खोज्ने, पैसा लुटाउनेसम्म देखिए । यति मात्रै नभएर उनको कोठामा मातेर आइदिने, आधारातमा मातेर आएर ढोका घचघच्याउने, सडकबाट बोलाइदिने व्यवहार भोग्नुपर्यो पारिजातले । (वेदना, उही) यस्ता व्यवहारले पनि पारिजातलाई सङ्घर्षशील बनाउँदै लग्यो । सङ्घर्षशील सर्जक पारिजातलाई शारीरिक अस्वस्थता, आर्थिक अभाव र अनागरिक हुनुको पीडाहरू नगण्य हुन थाले ।
बिर्सिनसक्नु त्यो पहिलो प्रेम
कतिपयको नामसँग पारिजातको नाम जोडेर चर्चा गर्नेहरूको सामना गर्नुपर्यो, पारिजातले । तर आफू किशोरावस्थामै जोसँग प्रेममा परिन्, त्यो प्रेमलाई उनले जीवनभर भुल्न सकिनन् । २०१० सालमा जब पारिजात नेपाल आइन्, त्यसपछि उनीहरूबीचको प्रेम अधुरै अवस्थामा टुट्यो । उनमा यो अधुरो प्रेमप्रति निकै ठूलो पछुतो देखिन्छ । यसप्रति उनी आफूले आफैँलाई ठगेको, छलेको जस्तो लाग्छ । प्रेममा विश्वासघात गरेर आर्जन गरेको अपराध बोध हुन्छ । उनमा आफ्ना प्रेमीलाई सपनामा देख्नु र रुनु छुटेको हुँदैन । उनी यसो आफूलाई छामेर हेर्छिन्, फेरि पनि प्राप्तिको लोभ छैन, उनीसँग । न कुनै शारीरिक मोह छ । सम्भव छ, उनको अवचेतनामा ठूलै दखल दिएर बाँचेको होस् यो अधुरो कथालाई नकार्न सक्ने प्रमाण हुँदैन उनीसँग । उनी झन् बढी आकुलव्याकुल हुन थाल्छिन्। चिठी लेख्न मन लाग्छ, तर उनी के सोच्दा हुन् ? डर पनि लाग्छ । लेकाली खोला र डुङ्गाको कापबाट फुलेको फूलदेखि कति टाढा आइसकेको छ समय । उनलाई उनको याद आउँछ, कति प्रगति गरेर कति सुखी भएर बाँचेका होलान् उनी ? सोच्छिन्, विस्मृतिको चिहानमुनि पुगिसके होलान्, ती दिनका सम्झनाहरू उनका निम्ति । (पारिजात, ‘अध्ययन र संघर्ष’, उही, पृ।१४१-१४२०
पारिजातलाई संवाद गर्न मन लाग्छ, आफ्ना पूर्वप्रेमीसँग । दार्जिलिङकी एक साथीमार्फत उनको ठेगाना मगाउँछिन्। स्नातक भएर पनि प्रशासनतर्फ अधिकृत भइसकेका रहेछन्, उनी । हत्केलाभरि पसिना झिकेर एउटा पत्र पठाउँछिन् । प्रत्युत्तर पनि तुरुन्तै आउँछ । पत्रमा सानो क्षमायाचना छ, मानवताको नाममा । उनको विवाहको सूचना पत्रलाई पछ्याउँदै एउटा निम्तो पत्र पनि आइपुग्छ । निम्तो पत्र उनकै विवाहको हुन्छ । यस पत्रले एउटा पहाड खस्कन्छ, पारिजातको छातीदेखि । उनी शिर उठाउँछिन्, अनाशय र सोध्छिन् आफैँलाई, छ केही गुनासो यस आकस्मिकता सँग ? (पारिजात, उही) अब उनको त्यो अधुरो प्रेम क्रमशः ‘ट्रजेडी’मा बदलिन्छ । उनले २०३९ साल पुस ४ गते डा. महेश मास्केलाई लेखेको पत्रमा ‘आज पनि मलाई एक्लै घुम्न मन लाग्छ । तर,घर परिवार, लोग्ने र आत्मसमर्पणबाट आतङ्कित भएर मैले त्यस्तो विधि मन पराएको मान्छेलाई प्रेम गर्न सकिनँ । बाटो बिराएँ र आफ्नै पाइताला भरि काँडा रोपेँ । मैले घर पाइनँ । घर नपाएर मैले खुला आकाश पनि पाइनँ । त्यसैले मेरो प्रथम प्रेम ट्रेजेडी हो, बाँकी मात्र दुःख हुन् । दुःख भन्ने कुरा बिर्सिंदै जाने हो । तर, ट्रेजेडी बल्झी-बल्झी मान्छेलाई आक्रान्त पार्ने तर्साउने क्षण हो । यो भोग्नेलाई मात्र थाहा हुन्छ ।’ (मास्के, डा। महेश, ‘पारिजात स्मृति ग्रन्थ’ २०५१, पृ।११-१२)
पारिजातले आफ्नो पहिलो प्रेमीका बारेमा बारम्बार जसको सम्झना गर्ने गर्थिन्, उनको नाम हो धनुवर मुखिया । हुन त पारिजातले आफ्ना प्रेमीसँग उनको भावनात्मक प्रेम सम्बन्ध मात्र भएको संकेत गरेकी छिन् आफ्ना लेखनहरूबाट । तर, उनी दार्जिलिङमा हुँदा भाडाको कोठामा धनुवरसँग सँगै बस्थिन् भनेर लालकोठीका घरधनी चन्द्र राईले भनेको चर्चा पनि हुने गरेको छ । (सेर्मा, मुनाराज, अनलाइनखबर डट कम-२०७७ साउन १६) तर लेखकले पारिजात कुन समयमा आफ्ना प्रेमीसँग सँगै बसेकी हुन् त्यो भने खुलाएका छैनन् । उनका संस्मरणहरूमा पनि यो प्रसंग पढ्न पाइँदैन । तर पनि पारिजातको जीवनका यी अविस्मरणीय पात्रका बारेमा उनी डा. महेश मास्केलाई लेख्छिन्, ‘...सेक्सलाई लिएर आक्रमण र समर्पण दुवै छैन मसँग र पनि भन्छन् मान्छेहरू म के गरूँ ? मेरो फस्ट लभरसँगको शारीरिक चाहना अझ पनि छ मसँग तर म अमर्यादित हुन चाहन्न । उहाँले मेरो हात मात्र समाइदिँदा पनि मलाई सुखद अनुभूति हुन्छ, पहिले होइन आजभोलि । तर, त्यसअघिको चाहनालाई म उहाँको अघि रोएर पचाइदिन्छु । यो दुःख एकतर्फी छैन, उहाँ पनि मजत्तिकै दुःखी र विचलित भएर बाँच्नुभएको छ । उहाँ सभ्य हुनुहुन्छ, त्यसैले मेरो मर्यादाको रेखा नाघ्न सक्नुहुन्न । दार्जिलिङवासी लेखक शरद प्रधानसँग भेट हुँदा पनि पारिजात धनुवर मुखियाको हालखबर सोधिरहन्थिन् । अहिले दुवैजना यो संसारमा छैनन् । (प्रधान, शरद, ‘इकागज डट कम’ २०७७ पुस ११) उनले भोगेको आफ्नो ट्रेजेडी सम्झेर उनी वेला-वेलामा रुन्थिन् । उनले यो ट्रेजेडी गीतका लयहरूमा पनि उनेकी छिन् । उनी रामेश, रायनहरूको प्रतिभादेखि प्रभावित थिइन्, उनीहरूलाई भाइका रूपमा माया गर्थिन् । उनीहरू पारिजातको डेरामा पुगिरहन्थे । एक दिन उनले एउटा कागज थमाउँदै रामेशलाई भनिन्, ‘तिमीलाई एउटा कोसेली...’ केही दिनपछि एक साँझ पारिजातसमक्ष उनले उनको गीति भावनालाई स्वर शृंखलामा राखेर सुनाए । गीत गाउँदा-गाउँदै पारिजातले आँसु झार्न थालिन्। घोप्टो परेर रुन थालिन् । आफ्नो अभिव्यक्तिले आफैँ मर्मान्त बनिन्, उनी । (रामेश, ‘पारिजात स्मृति ग्रन्थ’ २०५१, पृ।३९)
गीतका शब्दहरू यस्ता छन् ः
मर्न मन लाग्छ मायालु रातसँगै मध्याह्नसँगै
डुब्न मन लाग्छ मायालु साँझसँगै आकाशसँगै ।
धेरै चिसो इनारभित्र हिउँद वसन्त साँचिरहेछु
एकान्तजस्तै सधैँ एक्लै वारिसविना बाँचिरहेछु
डढ्न मन लाग्छ मायालु घामसँगै बालुवासँगै
जल्न मन लाग्छ मायालु रापसँगै खरानीसँगै ।
हुरी चल्ने गोरेटोभरि उड्न त्यसै मन गरेछु
मरिसकेको बगरमाथि बग्न त्यसै चाह गरेछु
झर्न मन लाग्छ मायालु शीतसँगै असिनासँगै
जम्न मन लाग्छ मायालु हिउँसँगै तुसारोसँगै ।
प्रेम कुनै त्यो बिस्कुन होइन, जो अञ्जुलीबाट पोखाएर फेरि उठाउन सकियोस् । प्रेम त अञ्जुलीभरिको त्यो पानी हो, जो फेरि पोखिएपछि उठाउन सकिन्न । पारिजातको प्रेममा पनि यस्तै भयो । अधुरो रह्यो उनको प्रेम ।
