नेपालको राजनीति गम्भिर एक्सिडेन्टल टर्निङ प्वाइन्टमा पुगिरहेको बेला संवेदनशील विषयमा कार्यक्रम राख्दै जन्मथलो निम्त्याउनु भएकोमा मार्क्सवाद आध्ययन समुह काभ्रेलाइ धन्यवाद दिन चाहन्छु । कार्यक्रमको प्रथम वक्तालाई फाइदा पनि छ र घाटा पनि । विषयको उठान त गर्न पाइन्छ, अन्यवक्तालाई जिज्ञाशा र प्रश्न छोडने सुविधा पनि हुन्छ । तर विषयको संवेदनशीताले सहमत, विमतमा आफ्ना मान्यता राख्ने अवसर भने गुमाइन्छ । यो कर्मकाण्डी कार्यक्रम नभएकाले विषयको गम्भीरता र त्यस्का अथोरिटी लिने वक्ताब्यक्तित्व समेत भएकाले पनि सिक्न, बुझ्न र जीवनमा उतार्न पनि कन्जुस्याँइ काभ्रेले गर्ने छैन् ।
जव सपनाको हत्या भैरहेको हुन्छ, लोकतान्त्रिक बरबरतालाई न्यायिक बरवरताले अैचित्य दिइरहेको हुन्छ, जुन आधारमा टेकेर भर्याङ चढेको शक्ति तला उक्लने वित्तिकै त्यही भर्याङ पहिला ढालेर सुरक्षित भठान्छ, अझ भद्र प्रतिपक्ष, जागरूक वर्ग मौन या भूमिकामा खासै देखिदैन् त्यस्तोवेला जिँउदो समाजमा यस्ता गम्भिर विषय बहस गराउने आयोजक धन्यवादका पात्र रहेका छन । बधाइ छ । मलाई केही भएको छैन, असर परेको छैन, भने किन बोल्ने ? भन्ने सोच पनि केहीका हुँन सक्लान ? मौनता अत्याचारको समर्थक हुन्छ ।
अहंकारमा चोट पुगेपछि शक्ति आफ्नै आमाखाँने माकुराका बच्चा जस्तै बन्न पुग्छन । शक्तिमा पुग्न जे,जसो गरेपनि त्यहाँ टिकिरहन षडयन्त्रको सिद्दान्त आवस्यक पर्छ । राज्यसत्तालाई निरन्तरता दिने कालाकोटे र खैराकोटे जर्नेल हुन् । जनउभारको समय आफ्ना हतियार विसाए पनि ती अनुकुलतामा भने साँध लगाउँछन । परिवर्तनका राप र चाप मथ्थर हुन्ने वित्तिकै आफना मोर्चामा सक्रिय हुन्छन् । नयाँ चेहरा र नुतन ट्रेडमार्कमा पुरानै सत्ताचरित्र हावी हुन्छ । आन्दोलनले विभिन्न चाल,चेहेरा र चरित्रलाई एउटै नारामा केन्द्रिकृत गरे पनि प्रतिकुलतामा बनेका आर्दश अनुकुलतामा भत्किन्छन् ।
आन्दोलनको नेतृत्वसंग आधुनिक राजनीतिक दृष्टिकोण भएर मात्रै पुग्दैन सामाजिक अन्डर करेन्ट बुझ्ने क्षमता पनि आवस्यक पर्छ । आधुनिक चेत र प्रगतिशील चरित्र नभै नयाँ राजनीतिक अवस्था स्वीकार गर्न वाध्यशक्ति राजनीतिलाई प्राविधिक रुपमा मात्रै बुझनेहुँदा समस्याको हल अग्रगामी चेतबाट गर्न सक्दैनन, चाहाँदैनन् । इतिहासले आफनो क्रमभंगतासंगै ठूलो मूल्य चुकाएको हुन्छ । मूल्यरहित परिवर्तन चिठ्ठाको धनसम्पती हो। तीनीहरू परिवर्तन सित्तै आएको सोच्दै परिवर्तनकारीसंग इष साँचीरहेका हुन्छन । उनकालागी त्यसवेला मरे वा मारिएकाको कुनै अर्थ हुँदैन, जिँउदालाइ त झन अपराधी सोच्न पुग्छन । तर सहिद अकार्को घरमा जन्मियोस उपलब्धीको पहिलो अंशियार आफु हुँनपाँउ सोच्छन । तव अंशमा टेक्दै समग्रमा आक्रमण हुन्छ । हामी अंशमा हेरेर धारणा बनाउछौँ र समग्रलाइ ध्यान दिँदनौँ । इतिहासले समयका संकटको सन्देश दिइरहेको हुन्छ । हामी त्यसलाई बुझ्न सक्दैनौँ वा बुझ पचाइरहेका हुन्छौँ । भनिरहनै परेन, संकेत चेत्ने मान्छे हुन्छ, परिणामले चेत्ने पशु । संविधान च्यातिदैछ, कुनै सैन्य कु भएर हैन् परिवतर्नकै नाममा, प्रजातन्त्रकै नाममा ।
म एउटा इतिहासको विद्द्यार्थी मात्र नभै इतिहासले डामेको पात्र र साक्षी पनि हुँ । मित्रहरू.! इतिहास मुदार्को कथा र चिहानघारीको यात्रा मात्रै हैन् यो त उर्जा हो, अणु हो, परमाणु शक्ति पनि हो । यदि मेरा जोडिदारहरू काभ्रेका यानप्रसाद गौतम आलोक, प्रेमबराइली र मिनबहादुर तामाङ्गहरू अहिले जिँउदै हुँनुहुन्थ्यो भने उहाँहरू पनि अवतार सिह पासले भन्या जस्तै यह हादसा भि मेरा हि जमाने मे होना था, भन्नुहुन्थ्यो होला । अहिलेको अवस्था देखेर मैले पनि पूणर्सपथ लिँदै दागिस्थानी लेखक रसुल हमजातोभले उधृत गरेका अबुतालिबको कबिताको पङ्ति यहाँ दोहोर्याउनु सान्दर्भिक हुन्छः । यदी तिमी आफ्ना विगतलाइ पेस्तोलले गोली दाग्छौ भने तिम्रो भविस्यले पनि तिमी माथी गोला बर्साउनेछ ।
-अब के त ? यहाँ राजा नाङ्गै छ भन्ने हेन्स यन्डरसनको इम्परर न्यूक्लोथ कोर्षमा पढेर आएकै ठूलो तप्का छ, त्यसले ह्वाङह्वाङ्ति र छयाङछयाग्ती भएको वेला बरू हामीले शासक र शक्तिलाइ पाकिस्थानी सायर हबीव जालिवका भनाइ सम्झाउन हिचकिचाउनु हुन्न ।
तुम से पहले वो जो इक शख़्स यहाँ तख़्त(नशीं था
उस को भी अपने ख़ुदा होने पे इतना ही यक़ीं था
कोई ठहरा हो जो लोगों के मुक़ाबिल तो बताओ
वो कहाँ हैं कि जिन्हें नाज़ बहुत अपने तईं था ।
- नेपाली काग्रेसको संविधान सभाको पुनरस्थापना एतिहासक कार्यनीति हो । संसद विघटनको चोटको घाइते र शिक्षा लिएको पार्टी किन अहिले धरमराइरहेको छ ? इतिहासले उस्लाइ बारम्वार सचेत गराएपनि किन शिक्षा लिएर भूमिका निर्वाहा गर्न भद्रप्रतिपक्ष हिचकिचाइरहेको छ ?
- नेपाल सामरिक महत्वको संवेदनशील भूगोल भएकाले शक्तिराष्ट्रको कृणा स्थल बन्दैछ । अहिलेको राजनीतिक दन्द एंङ्लो अमेरिकन भर्सेस चीन हो ।
- किन प्रतिगमन विरूद्दको आन्दोलनमा जनउभार देखिएन त भन्दा नेतृत्वको समस्याले गर्दा हो । पिरवतर्नले ह्वात्त आशा र अपेक्षाा जगायो, तर क्रमणकाल लम्याइँदा यस १४वर्षको अभ्यासमा कांगेस र कम्युनिष्टलेभन्दा पनि देशमा क्रोनी क्याप्टिलिज्म र क्लेप्टोक्रेसीले रजाइ गर्यो । हरेक क्षेत्र र रूपमा भ्रष्टाचार राष्ट्रिय संस्कृति बन्यो । सिण्डिकेटमा सत्ता केन्द्रितहुँदा न्यायिक,अर्धन्यायिक वा प्रशासनिक क्षेत्र अस्तब्यस्त भए । चेक एण्ड ब्यालेन्स हुँन सकेन नसक्दा शक्तिको केन्द्रिकरण भयो । नेता शासकमा फेरिँदै गए । यि हिजोको कमजोरी स्वीकार्दै आइन्दा बच्ने सार्वजनिक प्रतिवद्दता अर्थात स्वेतपत्र प्रकाशन गरेर पुन विश्वासको अवस्था ल्याउन आवस्यक छ ।
- कोरोनाकाल संसारका सबै अधिनायक शासकलाइ बरदान बन्यो । विश्वासको संकट र निराशाको चरम मानविय त्रासदी बन्यो । नेपालमै यसअवधीमा कोरोनाले २ हजार २९ को ज्यान जाँदा ९ हजार भन्दामाथीले आत्माहत्या गरे । डिप्रेसको अवस्था भयावह रह्यो ।
-वहस संविधानको छ, संकटको कुरा छ । संसदको पुनरस्थापना, राजनीतिक शक्ति आत्मा समीक्षाको स्वतपत्र र नयाँ उजमर्शील नयाँ नेतृत्वले संकट निकास हुँन सक्छ । तर शक्तिको हस्तान्तरणा राजनीतिक संस्कृतिको अभावले तेस्रोविश्वमा हुँन कठिन छ । (टोनी ब्लेयर, लेवर प्रसंग)
अव म एक प्रसंगबाट आफ्ना भनाइ अन्त गर्छुः भारतीय संविधान ड्राफ्टिंग समितिका अध्यक्ष, बी. आर. आंबेडकरको २५ नवंबर, १९४९मा संविधान सभाको जिममेवारी पुराहुँनु १ दिन पहिलाको बहुचर्चित भाषण ख्याल गर्नुपर्छ । राजनीतिक सर्घषपछि पनि आर्थिक,सामाजिक र धर्म सास्कृतिक विषय गम्भीर हुन्छन । उनले त्यसवेला जा‘न स्टुअर्ट मिल र आइरिश पैट्रियट डैनियल ओ’कोनेलको विचार सदनमा राखेका थिए । ततपश्चात पत्रकारवार्तामा संविधान कस्तो बन्यो प्रश्नको जवाफमा उनले भनेका थिएः संविधान त हामीले अत्यन्तै राम्रो बनायौँ,तर लागु गर्नेका नियतमा भर पर्छ । गाडी नयाँ भएर मात्र हुँदैन, ड्राइभर पनि राम्रो हुँनुपर्छ ।
वर्चश्वशाली वर्ग शक्ति हन्तान्तरण गर्न चाहाँदैन, शासकवर्गको नियति राजनीतिक सस्कृतिमा झल्कन्छ । मूल समस्या भनेको नेतृत्वमा नैतिकपुजी ह्रास हुँदै गएर सार्वजनिक अपिलको इक्षााशक्ति हराउदै जानु, कायर्कता लालदासमा फेरिँदै जानु, जनतालाइ भिड बनाउदै जानु र दोस्रो तहमात्रै हैन् तेस्रोतहको पनि विश्वासिलो नेतृत्वको अभाब खटकदैजाँनु हो ।
गम्भीर हौँःआज हामी संविधान च्यातिइरहेको र जीवनरक्षाको लागि चिच्याइरहेको अवस्थामा छौँ । आफ्नै मृत्यूमा उत्सव त पिसाचले मात्रै गर्छ । के नेपाली राजनीतिमा पिसाचवाद हावी भएकै हो । आग्रह र अहंकारको मूल्य इतिहासले कसरी भूक्तान गर्ला ? (प्रस्तुत बिचार गत शनिबार मार्क्षवादी अध्ययन केन्द्र काभ्रेले आयोजना गरेको अनातार्किया कार्यक्रममा अतिथि बक्ता पिटरको मन्तब्यबाट लिइएको हो ( काभ्रेटाइम्स )
