IMG-LOGO

    बुल्दी दुर्घटनापछि कांग्रेस

 मंगल, मंसिर २३, २०७७  ---


    यो लोकमा राजनीतिको महिमा अपरम्पार छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले देशका महत्वपूर्ण कार्यसूचिलाई थन्क्याएर सुटुक्क संसद अधिबेशनको अन्त्य गर्दा चूँ सम्म नबोलेको नेपाली कांग्रेस पार्टी यतिबेला ब्यास नगरपालिका, तनहुँको बुल्दी पुल उद्घाटनको क्रममा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित थुप्रै नेता र कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा प्रहरी प्रशासनको अतिक्रमणमा परेपछि, अचानक ब्यूँझिएको छ । कोरोना महामारीले आक्रान्त जनतालाई सहानुभूतिसम्म नदिने पार्टीले आफना ‘आदरणीय’ नेता रामचन्द्र पौडेलमाथि प्रशासनले चलाएको दमन चक्र त्यत्तिकै सहने कुरा थिएन । त्यो घटनाको जति सक्यो चर्को बिरोध गर्नु सभापति शेरबहादुर देउवाका लागि एक प्रकारको अनिवार्यता थियो । कांग्रेस पार्टीको चौधौं महाधिवेशन तोकिएको मिति फागुन ७ गते नै हुनुपर्ने जीरह गरिरहेका बरिष्ठ नेतामाथि सरकारी दुब्र्यवहारका बिरोधमा मंसीर २९ गते देशभरि आन्दोलन गर्ने निर्णय गरेको छ कांगे्रसले । रामचन्द्र पौडेल स्वयंका लागि भने बुल्दी पुल उद्घाटनका समयमा भएको आक्रमण एउटा सजीव अनुभव बन्यो होला ।
    २०४७ साल यता उनी यसप्रकारको मूठभेडमा शायद परेका थिएनन् । बुल्दी आक्रमणमा परेपछि रामचन्द्र पौडेलको प्रतिक्रिया निकै रोचक र पौराणिक पनि छ । उनले राणा शासनमा नभएको दमन ओली शासनमा भएको बताएका छन् । दमनको स्मरण गर्न बरिष्ठ नेता पौडेल राणाकालमा नै पुगे । उनी र उनका मित्रहरु माथि सर्वाधिक दमन राजा महेन्द्र, राजा बीरेन्द्र तथा राजा ज्ञानेन्द्रका शासनकालमा भएको कुरा उनले कसरी चटक्क बिर्सिए ? यो गम्भीर बिषय हो । कांग्रेसका धेरै नेताहरु बृध्दावस्थामा छन् । तर पनि, उनीहरु सत्तामा जाने समयको प्रतीक्षामा रहेका छन् । त्यसो त, रामचन्द्र पौडेलले पनि पार्टीबाट पाउने पद, प्रतिष्ठा र मान–सम्मान नपाएका होइनन् । कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला दुबैको बिश्वास पात्र बनेर उप–प्रधानमन्त्री पदमा बसेकै हुन । नेपाली कांग्रेसको समाजवादी नीति लागु गरेर किसानका दुःख दर्द मोचनको पबित्र उद्देश्य पुरागर्न उनी कृषिमन्त्री पनि भएकै हुन् । यो सपना पूरा भएन ।
    हो, अत्यन्त खेदजनक कुरा यति हो कि, संसदमा भएको शक्ति संघर्षमा उनी प्रधानमन्त्री पदमा सत्र पटक पराजित भए । यसलाई कर्मको फल नै भन्नु पर्ला । देशमा लामो समयदेखि कुनै यस्तो घटना भएको थिएन जहाँ कांग्रेसले जवाफी हमला गर्नु परोस । बुल्दी पुल घटनापछि, बरिष्ठ नेता पौडेलका एकजना शुभ चिन्तक मित्रले टिप्पणी गरेका थिए, बल्ल रामचन्द्रजीको आन्दोलनकारी स्वरुप देखियो । हो त, अब कांग्रेसले बुल्दी पुल घटनालाई उचालेर नेकपाका बलिष्ठ बाहुवलीलाई चुनौति दिए हुने भयो । बरिष्ठ नेता रामचन्द्र पौडेलले यो घटना मार्फत सभापति शेरबहादुर देउवालाई मौन चुनौति दिए । यो चुनौतिको भाषा जतिसक्यो छिटो बुझ्नुमा नै सभापति देउवाको पनि कल्याण छ । देशमा बिरोधको माहोल चर्किदैं गएपछि कांग्रेसका लागि वातावरण तयार हुनेछ । बरिष्ठ नेता पौडेल यसैमा प्रसन्न हुनेछन् । त्यो प्रसन्नतामा उनले महाधिवेशन जेठमा सार्ने सभापति देउवाको प्रस्ताव सहर्ष मान्ने सम्भावना उत्तिकै छ ।
आखिर सभापति देउवाले आफनो गिरफ्तारीलाई ठूलो महत्व दिएकै हुन । आशा गरौं, जेठसम्म नेपालमा पनि कोभिद – १९ को भ्याक्सिन आई सकेको हुनेछ । सुरक्षित वातावरणमा महाधिबेशन सम्पन्न हुने भएपछि कार्यकर्ताको मत लिन र दिन पाएर नेताहरु खुशी हुनेछन् । बुल्दी पुल उदघाटन बिथोल्न रामचन्द्र पौडेलको करङ्ग दुख्ने गरी भएको प्रहरी प्रशासनको हस्तक्षेप दुःखदायी घटना त हुँदै हो, यसलाई मानक बनाउन सकिदैन । रामचन्द्र पौडेल पछिल्लो चुनावमा पराजित नभएको भए अहिलेको घटना हुने नै थिएन । उनको त्यो पराजयले उनका प्रतिस्प्रर्धीलाई बढी नै उत्साहित तुल्याएको छ । रामचन्द्र पौडेलजस्ता महत्वपूर्ण नेताहरुलाई सुरक्षित मार्गबाट संसद बैठकमा अवतरण नगराउने हो भने बुल्दी घटना दोहोरिइनै रहन्छ । यो समस्या नेपाली कांग्रेसमा मात्रै हो भने कसैले केही गर्न सक्दैन । रामचन्द्रजी, शेरबहादुरजी, रामशरण महतजी, अर्जुन नरसिंहजी लगायत जति पनि बयोबृध्द नेता छन् ती सबैले आ–आफ्नो चुनाव क्षेत्र नयाँ पुस्तालाई सुम्पिने हिम्मत गर्नु पर्दछ ।

    आफ्नो गोरु सँधै बार टकामा बिक्छ भनेर सोच्नु गलत हो । रामचन्द्रजीको पुस्ताबाट शेरबहादुरजी अनेक पटक प्रधानमन्त्री भई सकेका छन् । अब अरुले आफनो चित्त बुझाउनु पर्दछ । नेपाली राजनीतिमा अहिले सरकार चलाउने नेपाल कम्युनिष्ट पार्टी आपसी द्वन्दमा फँसेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महाधिवेशनको चटारोमा लठारिएको छ । दुबै पार्टीमा राजनीतिक र सामाजिक समझदारी घट्दो क्रममा छ । नेताहरु आ–आफ्नै सुर र आ–आफ्नै तालमा देखिन्छन् । नेपाल कम्युनिष्ट पार्टी परिस्थितिबश अहिले ठूलो दलका रुपमा देखिएको छ । केही समय अघिसम्म नेकपाले संसदमा दुई तिहाइ मत कमाण्डमा लिएको थियो । अहिले कुन परिस्थितिमा छ दुई तिहाईको अवस्था ? कसैले हिसाव गर्ने जाँगर चलाएको छैन । महाधिवेशनपछि कांग्रेसमा पुनर्जागरण आउने आशा सबैले राखेका छन् । खास गरेर, युवावर्गमा यो आशा बढी नै देखिएको छ । के अहिलेको युवा जमातले कांग्रेसको अनुहारमा आवश्यक परिवर्तन ल्याउन सक्लान् ? बुल्दी खोला पुलको घटनामा जस्तै प्रतिक्रियात्मक मात्रै भएर केही हुने देखिंदैन । कांग्रेसमा ते¥हौं महाधिबेशनले निर्देशन गरेका बिषयहरु नै कार्यान्वयन हुन बाँकी छन् ।
    चौधौ महाधिवेशनले त पार्टीलाई झन् चर्को दायित्व दिनेछ । आगामी चुनावमा कांग्रेसको बिजयका लागि खास रणनीतिहरुको निर्माण गर्नुपर्ने हुन्छ । यतिबेला कांग्रेस पार्टी जुन अवस्थामा छ त्यो आगामी राजनीतिका लागि अनुकुल छैन । कांग्रेसले जनता समाजवादी पार्टीसँग भाइचारा सम्बन्ध बिकासका लागि आधारभूत छलफल शुरु गर्नु पर्ने थियो । नेकपा आन्तरिक बिबादमा फँसेको बेला कांग्रेस र जसपाका बीच कामगर्ने राजनीतिक सम्बन्ध स्थापित हुनु जरुरी थियो । त्यतापट्टि कांग्रेसका कुनैपनि नेताको ध्यान पुगेको देखिएन । यति नै बेला, कांग्रेसले नेकपाभित्र पनि आफनो पहूँच बनाउन सक्नुपर्ने थियो ।तर, नेकपाभित्रका दुबै समूहसँग ब्यक्तिगत स्वार्थको बाहेक राजनीतिक सम्बन्ध बनाउन खोजेको देखिएन । पछिल्लो समय, कांग्रेसमा दक्षिणपन्थी सोच हावी हुँदै गएको छ । बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको बिरासत थाम्ने कुरा अक्सर सुनिने गर्दछ कांग्रेसमा । अघिल्लो पुस्ताको बिरासत धान्ने कुरा सुखद मनोकामना मात्रै हो । हिजोका नेताहरुले बाटो देखाई सकेका छन् । त्यो निर्देशित मार्गमा हिड्न कोही तयार छैन । सबै राजनीतिमा सफलताका लागि छोटो बाटोको खोजीमा छन् । यो नै अहिलेको बिडम्बना भएको छ ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्