IMG-LOGO

नेपाली समाजको बदलिँदो राजनीतिक मनोविज्ञान

 मंगल, मंसिर ९, २०८३  डा. निरञ्जन सापकोटा

आलोचना गर्ने नागरिकलाई भक्तको संज्ञा किन ?
    अहिलेको राजनीतिक बहसमा देखिएको अर्को गम्भीर समस्या आलोचनाको विषयवस्तुभन्दा आलोचकको राजनीतिक पहिचान खोज्ने प्रवृत्ति हो । कसैले पुराना दलको कमजोरीबारे प्रश्न उठायो भने उसलाई नयाँ सरकारको समर्थक भनेर वर्गीकृत गरिन्छ । कसैले नयाँ सरकारको निर्णयमाथि प्रश्न उठायो भने उसलाई पुरानै राजनीतिक व्यवस्थाको पक्षधर ठान्ने प्रवृत्ति देखिन्छ । यसले लोकतान्त्रिक बहसलाई साँघुरो बनाइरहेको छ ।
    कुनै नागरिकले कांग्रेस, एमाले वा माओवादीको विगतको कार्यशैलीको आलोचना गर्नु उसको अधिकार हो । त्यसका लागि उसले नयाँ सरकारको भक्त हुनुपर्दैन । त्यसैगरी नयाँ सरकारको कुनै निर्णय गलत छ भनेर प्रश्न उठाउने व्यक्तिलाई पुराना दलको एजेन्ट भन्न पनि मिल्दैन ।
    नागरिकको राजनीतिक चेतनालाई पार्टीको सदस्यता वा समर्थनको आधारमा मात्र मापन गर्न मिल्दैन । नागरिक स्वतन्त्र हुन सक्छ । उसले कुनै पनि राजनीतिक दलको राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्न सक्छ । उसले एउटा सरकारलाई समर्थन गर्दै अर्को राजनीतिक दलको वैचारिक योगदानको सम्मान पनि गर्न सक्छ । यो संस्कारको विकास हुन सके समाजको अराजकता पनि न्यूनीकरण हुन्थ्यो । लोकतन्त्रको सुन्दरता नै यही हो ।
    नयाँ सरकारलाई समर्थन गर्ने नागरिकहरूको ठूलो हिस्सा पुराना दलहरूको विरोधका लागि मात्र विरोध गरिरहेको छैन । उनीहरूको असन्तुष्टिको पछाडि राजनीतिक अनुभव, लामो समयको प्रतीक्षा, पूरा नभएका प्रतिबद्धता र परिवर्तनको चाहना छ । त्यसैले उनीहरूको आलोचनालाई व्यक्तिगत आक्रोश वा विरोधका रूपमा खारेज गर्नु समस्याको वास्तविकतालाई बेवास्ता गर्नु हो ।
सरकारको समर्थनसँगै जवाफदेहीको माग आवश्यक 
    नयाँ सरकारप्रति देखिएको जनसमर्थनलाई स्थायी राजनीतिक सम्पत्ति ठान्नु उत्तिकै ठूलो भुल हुनेछ । जनताको विश्वास परिवर्तनशील हुन्छ । आज जुन आशाले समर्थन प्राप्त भएको छ भोलि त्यही आशा पूरा गर्न नसक्दा असन्तुष्टिमा बदलिन सक्छ ।
    नयाँ सरकारका अगाडि सबैभन्दा ठूलो चुनौती यही हो । उसले आफ्नो लोकप्रियतालाई शासन सञ्चालनको क्षमतामा रूपान्तरण गर्न सक्नुपर्छ । सुशासनको प्रतिबद्धता व्यवहारमा देखिनुपर्छ । भ्रष्टाचार नियन्त्रणमा निर्मम हुनुपर्छ । राज्यका संस्थाहरूलाई बलियो बनाउनुपर्छ । कानुनी शासन र नागरिक अधिकारको सम्मान गर्नुपर्छ । राजनीतिक प्रतिशोधबाट माथि उठेर सार्वजनिक संस्थाहरूलाई प्रभावकारी बनाउनुपर्छ । विधिको शासनलाई आत्मसात् गर्नु नै अहिलेको सरकारको दायित्व बनोस् ।
    सरकारलाई समर्थन गर्ने नागरिकहरूले पनि यो कुरा बुझ्नुपर्छ कि सरकारप्रतिको विश्वासलाई प्रश्नरहित समर्थनमा बदल्नु हुँदैन । सरकारको आलोचना गर्ने अधिकारलाई सुरक्षित राख्नु नै लोकतन्त्रको रक्षा गर्नु हो । त्यसैले नयाँ सरकारका समर्थकहरूले पनि आफ्नै पक्षको कमजोरी देख्ने र बोल्ने आँट गर्नुपर्छ । सरकारको राम्रो कामको प्रशंसा गर्दा नराम्रो कामलाई ढाकछोप गर्नु हुँदैन । सरकारको असफलतालाई स्वीकार गर्नु सरकारविरोधी हुनु होइन । बरु समयमै कमजोरी औँल्याएर सुधारको बाटो देखाउनु जिम्मेवार नागरिकको भूमिका हो ।
पार्टीगत निष्ठा कि नागरिकको विवेक 
    नेपाली समाजको अहिलेको राजनीतिक विभाजनलाई पुराना र नयाँ शक्तिबीचको प्रतिस्पर्धाका रूपमा हेरेर पुग्दैन । यो पुरानो राजनीतिक संस्कार र नयाँ राजनीतिक अपेक्षाबीचको सङ्घर्ष पनि हो । एउटा पक्ष विगतको राजनीतिक इतिहास,सङ्गठन र निष्ठाको आधारमा आफ्नो अस्तित्व जोगाउन चाहन्छ । अर्को पक्ष विगतको अनुभवबाट पाठ सिकेर नयाँ राजनीतिक अभ्यासको सम्भावना खोजिरहेको छ । तेस्रो पक्ष यी दुवैबीचको असन्तुष्टि र अवसरको राजनीतिक उपयोग गर्न खोजिरहेको हुन सक्छ । तर अन्ततः यी सबैभन्दा माथि नागरिकको विवेक हुनुपर्छ ।
    नेपाली जनताले कुनै पनि दल वा नेतालाई स्थायीरूपमा आफ्नो मालिक बनाएका छैनन् । उनीहरूले राजनीतिक दलहरूलाई शासन गर्ने जिम्मेवारी दिएका हुन् प्रश्नभन्दा माथि रहने अधिकार होइन । निर्वाचनमा मत दिनु भनेको आफ्नो विवेक सुम्पिनु होइन । राजनीतिक समर्थन गर्नु भनेको आफ्नो स्वतन्त्र पहिचान गुमाउनु होइन ।
    अबको राजनीतिक बहसमा कसले कसलाई समर्थन गर्छ भन्ने प्रश्नभन्दा कसले देश र जनताका लागि के गरिरहेको छ भन्ने प्रश्न महत्त्वपूर्ण हुनुपर्छ । पुराना दलले आफ्नो ऐतिहासिक योगदानको सम्मान खोज्ने हो भने वर्तमानका कमजोरी स्वीकार गरेर आफूलाई सुधार्नुपर्छ । नयाँ सरकारले जनताको समर्थन कायम राख्ने हो भने परिणाम देखाउनुपर्छ । वैकल्पिक राजनीति गर्नेहरूले आफूलाई अरूभन्दा फरक घोषणामात्र नगरी व्यवहारबाट प्रमाणित गर्नुपर्छ ।
    नेपाली समाजलाई अहिले चाहिएको अर्को राजनीतिक विभाजन नभई जिम्मेवार राजनीतिक प्रतिस्पर्धा हो । पुराना दलका समर्थकलाई शत्रु ठान्ने, नयाँ सरकारका समर्थकलाई अन्धभक्त भन्ने र फरक विचार राख्ने सबैलाई अवसरवादी करार गर्ने प्रवृत्तिले समाजलाई थप विभाजितमात्र बनाउँछ ।
    देश कुनै एउटा पार्टीको मात्र होइन । सरकार कुनै एउटा समूहको निजी सम्पत्ति होइन । राजनीतिक परिवर्तन पनि कुनै एक व्यक्तिको वा कुनै अमुक समूहको उपलब्धि होइन । यो सम्पूर्ण नागरिकको साझा आकांक्षा र जिम्मेवारी हो । आज नयाँ सरकारलाई समर्थन गर्ने नागरिकहरूले राखेको आशा पूरा हुन्छ कि हुँदैन भन्ने समयले प्रमाणित गर्नेछ । तर एउटा कुरा स्पष्ट छ — नेपाली नागरिक अब पार्टीको झन्डा बोकेर हिँड्ने कार्यकर्तामात्र भएर बस्न चाहँदैनन् । उनीहरू आफ्नो विवेक प्रयोग गर्न, प्रश्न उठाउन, समर्थन गर्न र आवश्यक पर्दा विरोध गर्न स्वतन्त्र रहन चाहन्छन् । यही स्वतन्त्र नागरिक चेतना नै अहिलेको नेपाली राजनीतिको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । र सम्भवतः नेपालको लोकतान्त्रिक भविष्यको सबैभन्दा बलियो आधार पनि यही हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्