IMG-LOGO

दशैं गयो तर दशैंको चर्चा कहिल्यै सकिदैन

 मंगल, कार्तिक ११, २०८३  अमृत खरेल

    २०८३ सालको मुख्य चाड दशैं गएता पनि चर्चा अझै दशैंको छ । २०४६ को परिवर्तन पछि हरेक वर्ष दशैं सुरु भएसँगै नेपालमा कतिपय समुदायलाई यो चाड पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेपश्चात् बलपूर्वक लादिएको चाड भएको भ्रममा पार्ने गरिएको छ । अनेकौं खालका साम्प्रदायिक अभियन्ताहरुले दशैं वहिष्कार गर्नुपर्ने वा रातो टीका लगाउन नहुने भनी आम नेपालीहरुको सांस्कृतिक एकतालाई विभक्त गर्ने गरी भ्रम छर्ने गरिएको छ । यस्तो प्रकारको भ्रम कतिपय जातिवादी संगठन तथा आइएनजिओ र एनजिओ चलाउने अभियन्त्ताहरुले चलाउने गरेका छन् । यसर्थ नेपालीहरुले सबैभन्दा पहिले दशैं काठमाडौं उपत्यकामा कहिलेदेखि मनाउन थालिएको रहेछ भन्ने तथ्य र प्रमाणिक इतिहास बुझ्न जरुरी रहेको छ र हामीले बुझ्न र बुझाउनु पर्छ । 
    दशैंका बेला शक्ति पीठहरुमा पूजाआजा गरी जमरा राखेको स्थानमा नवरात्रमा देवीको महात्म्यका रुपमा मार्कण्डेय पुराण अन्तर्गतको सप्तशती चण्डी पाठ गर्ने शास्त्रोक्त चलन रहिआएको छ । पौराणिक हिसाबले त सत्ययुगदेखि नै देवीको महात्म्य पाठ गरी देवी पूजा गर्ने चलन रहेको धार्मिक शास्त्रीय मतावलम्बीहरुको भनाइ रहेको छ ।
    हुन पनि उपत्यकामा मातृशक्तिका रुपमा अष्टमातृकाको पूजा गर्ने चलन लिच्छवि कालदेखि नै व्याप्त रहेको तथ्य उपत्यकामा रहेका सर्वप्राचीन मूर्तिहरु मध्ये अष्टमातृकाको मूर्तिहरु पाइनुले पनि पुष्टि हुन्छ । तर ठ्याक्कै दशैंका रुपमा टीका प्रसाद ग्रहण गरी दशैं मान्ने परम्पराबारे लिच्छविकालमा अभिलेखीय प्रमाणिक इतिहास भने भेटिदैंन । इतिहासकार एवं संशोधन मण्डलका अध्यक्ष डा. महेशराज पन्तका अनुसार लिच्छविकालमा प्राप्त पलाञ्चोक भगवतीको विजयस्वामिनीको अभिलेख नै तत्कालीन लिच्छविकालको सबैभन्दा पूरानो शाक्त मतको अभिलेख हो । उक्त अभिलेख मानदेव संवत् ४२५ अर्थात् विक्रम संवत् ५६० को अभिलेख रहेको छ ।
    हिन्दू वर्ण व्यस्था अनुसार प्रमुख चाडबाड पनि वर्ण अनुसार विभाजित रहेको र ब्राह्मण समुदायको सबैभन्दा महत्वपूर्ण चाड जनैपूर्णिमा रहँदै आएको भनी ऐतिहासिक डा. पन्त बताउनुहुन्छ । दशैं विशेष गरी क्षेत्रीय वर्णका लागि महत्वपूर्ण चाड रहेको र वैश्यका लागि लक्ष्मीपूजा एवं शुद्रका लागि होली पर्व सबैभन्दा महत्वपूर्ण रहने शास्त्रीय मत विद्यमान रहेको उहाँले प्रकाश पार्नुभयो ।
    पन्तका अनुसार अभिलेखीय रुपमा हेर्दा मध्यकालको सुरुवातमा तेह्रौं शताब्दीको अभिलेखमा दशैं पर्वको पहिलो उल्लेखन रहेको छ । यसले त्यतिबेला पनि दशैं नेपाल मण्डल उपत्यकाको प्रमुख चाडका रुपमा मनाइने गरेको रहेछ भन्ने खुल्दछ । विक्रम संवत् १३७५ मा अभिलेखीय रुपमा दशैं पर्वको उल्लेख भएतापनि त्योभन्दा अगाडिदेखि नै उपत्यकामा दशैं मनाइने गरिएको थियो भन्ने तथ्य स्थापित हुन्छ ।
    यस्तै ‘वर्षकृन्ति’ शीर्षकको एक मल्लकालीन ठ्यासफूको विषयमा सिएनएएस जर्नल भोलुम १४ नं १ डिसेम्बर १९८६ मा प्रकाशित धनवज्र वज्रचार्यद्वारा लिखित आलेखमा उक्त ठ्यासफू अर्थात् पट्याई बनाएको टिपोट पुस्तिका प्रताप मल्लको पाला पछि कान्तिपुरमा तयार पारिएको र त्यसा वर्षभरिका गर्नुपर्ने कामहरुको टिपोट उल्लेख गर्दा विश्वजात्रा अर्थात् बिस्केट जात्राबाट टिपोट सुरु गरिएकोमा वर्षभरि मनाइने चाड मध्ये दशैंलाई विशेष महत्व दिइएको वज्राचार्यले उल्लेख गर्नुभएको पाइन्छ ।
    खड्गस्थापनाको विधि विधान साइत हेरी गर्नुपर्ने हुनाले तीन मल्ल राज्यमा साइतको कुरालाई लिई त्यतिबेला पनि मतभेद बराबर भइरहने कुरा वज्राचार्यले उल्लेख गर्नुभएको छ । यस ठ्यासफूमा दशैंसम्बन्धी टिपोट विशेष रुपमा गरिएको छ । घटस्थापनादेखि चालनसम्मका हनुमानढोका दरबारमा गरिने दशैंका विधानको चर्चा यसमा परेको छ । मल्लकालमा हनुमानढोका दरबारमा दशैं कसरी मनाइन्थ्यो भन्ने बुझ्न यो ठ्यासफु उल्लेखनीय रहेको छ । गौतमवज्र वज्रचार्यद्वारा लिखित हनुमानढोका राजदरबार शीर्षकको सिनासले २०३२ मा प्रकाशन गरेको ग्रन्थको पृ १५५ मा पनि यसको चर्चा गरिएको पाइन्छ ।
    यी सबै प्रमाणले के पुष्टि गर्दछ भने गोर्खालीले नेपाल मण्डल एकीकरण गरेपछि मात्रै दशैं पर्वलाई सांस्कृतिक ढंगले लादिएको कदापि होइन रहेछ । दशैं पर्व उपत्यकामा पहिलेदेखि नै प्रख्यात रही जनजीवनमा यसको विशेष पर्वका रुपमा महत्व रहेको बु्झ्न सकिन्छ साथै पछिबाट गोर्खाबाट फूलपाती भित्र्याउने लगायतका चलन यसमा थपिएको देखिन्छ । अतः दशैंलाई सबै नेपालीको सांस्कृतिक पर्वको रुपमा एकताको भावनालाई अभिवृद्धि गर्दै असत्यमाथि सत्यको विजयको पर्वका रूपमा मनाउन उपयुक्त देखिन्छ । दशैं अहिले हाम्रो मुलुकको मात्रै चाड नभएर भारत म्यानमार थाइल्यान्डमा रहेका नेपाली र २०४६ पछि खुल्ला समाज भए पछि विश्वका विभिन्न देशमा पुगेका नेपाली माझ यो चाड मनाइन्छ । यो चाड एक धर्म एक जात र एक समुदायको हुँदै होइन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्