IMG-LOGO

शेराप गुरुङ्गको फोन र फेसबुक लाइभले मानवीय क्षति भएन

 मंगल, असोज २७, २०८३  प्रशन्न पोखरेल

    गोरखाको बूढीगण्डकी नदीमा आज बिहानै लेदोसहित ठूलो बाढी आयो । नदी किनाराका घर तथा पुलहरू बगायो तर मानिसहरू जोगिए । बाढीबारे सूचना समयमै थाहा पाउँदा बूढीगण्डकी नदी किनारा क्षेत्रका मानिसहरू सुरक्षित ठाउँतर्फ जान सकेका हुन् । तर यो सूचना सरकारी संयन्त्रबाट गएको थिएन । बिहान ४ बजेको हुँदो हो, चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित लोक्पाका स्थानीय शेराप गुरूङले जमिन थर्किएको र ठूलो आवाज आएको सुने । चुमतर्फ बूढीगण्डकी नदीका मुख्य दुईवटा सहायक खोला छन् — स्यार र उङ्गिलुङ । उङ्गिलुङ खोलातर्फ तुम्जे क्षेत्रमा पहिरो गएर ठूला ढुंगासहितको लेदो बग्दै स्यार खोलामा मिसियो र बूढीगण्डकीतर्फ अघि बढेको थियो । ठूला ढुंगासहितको बाढीका कारण जमिन त्यस भेगमा जमिन थर्कने र ठूलो आवाज आएको सुनिएको थियो ।
    ‘आज बिहान करिब ४ बजेको थियो होला, स्यार खोलामा ठूलो आवाज सुनियो । जमिन पनि थर्कियो । कहाँबाट के आयो पत्तो लगाउन सकिएन । पहिरो गयो भनेर हामी घरबाट सुरक्षित ठाउँमा गयौं । मैले फिलिम, जगत, माछीखोला लगायत ठाउँका साथीहरूलाई फोन गरेर जानकारी दिइहालेँ । उनीहरूले हल्लाखल्ला गरे होलान् । सुरक्षित ठाउँमा गए होलान्,’ शेरापले सेतोपाटीसँग भने, ‘केही बेरमा उज्यालो भयो । पाहुना पनि थिए । चिया खानुप¥यो भनेर घर आयौं ।’ घर आएपछि आफूले केही बेर फेसबुक लाइभ गरेर बाढीको जानकारी दिएको उनले बताए । ‘केहीबेर फेसबुक लाइभ गरेँ, पोस्ट राखेँ, बिजुली गइहाल्यो, इन्टरनेट गइहाल्यो,’ उनले भने ।
    उनले फेसबुकमा लोक्पाबाट देखिने सर्दीभिरतर्फ रहेको स्यार खोला उर्लेको भिडिओ लाइभमा देखाएका थिए । लाइभमा दिएको जानकारी र उनले गरेका फोनकलका कारण बूढीगण्डकीको तल्लो तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा जान सहज भएको थियो । शेरापले पटक पटक बाढी आएको र बूढीगण्डकी नदी किनार आसपास रहेका मानिसहरूलाई सुरक्षित रहन अपिल गरेका थिए । उनका अनुसार बाढीपछि लोक्पा लगायत गाउँमा बिजुली र इन्टरनेट छैन । ‘सर्दीभिरको क्यान्टिलिभर पुल पनि लगे जस्तो छ, नजिकै रहेको झोलुंगे पुल बगाएको चाहिँ देखिन्छ,’ उनले भने, ‘हामी त गाउँबाट यताउता जाने बाटो नै छैन, नाकाबन्दी जस्तो पो भयो त ।’
    उनले पहिरो गएको क्षेत्रमा मानिसहरू हराइरहेको र उद्धारका लागि हेलिकप्टर आए पनि अवतरण गर्न नसकेको बताए । ‘बाढीपछि यस क्षेत्रमा धुलो, धुवाजस्तो उडेको थियो । उद्धारका लागि हेलिकप्टर आए पनि बस्न सकेन । पहाड सम्याएर हेलिकप्टर अवतरण गर्न मिल्ने समथर ठाउँ बनाउनुपर्नेछ । अब भोलि बिहान आउला कि हेलिकप्टर,’ उनले भने । चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार पहिरो गएको उङ्गिलुङ क्षेत्रमा गोठहरू थिए । त्यहाँ ५ जना गोठाला पनि सम्पर्कविहीन छन् । अध्यक्ष लामाका अनुसार बूढीगण्डकीमा बाढी आएको जानकारी पाउनासाथ तल्लो भेगमा जानकारी गराइएको थियो ।
    ‘चुम्चेतको उङ्गिलुङ खोलामा सुक्खा पाहिरो आएकोले बूढीगण्डकी नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जानुहुन अनुरोध गर्छौं भनेर बिहानै सामाजिक सञ्जालमा पनि सूचना राखेका थियौं ’ उनले भने । उनका अनुसार उङ्गिलुङ ठाडो खोला हो । पहिरोले उक्त खोला थुनिएर लेदोसहित बाढी सिर्जना हुँदै स्यार खोलामा मिसिएर बूढीगण्डकीमा आइपुगेको थियो । ‘५ जना गोठाला सम्पर्कविहीन छन् , उनीहरू चुम्चेतका हुन् । पहिरोको आसपास गोठहरू थिए,ु उनले भने, ‘१०० भन्दा बढी चौंरी पनि हराइरहेका छन् ।’
    सिर्दिवास ३ न्याकफेदीदेखि माथिल्लो क्षेत्रमा क्षति नरहेको पनि उनले बताए । न्याकफेदीदेखि तल्लो क्षेत्र चुमनुब्रीकै जगत, घट्टेखोला, सल्लेरीमा घर तथा पुल र सडकमा क्षति पुगेको छ । मनासलु पदमार्गमा पनि क्षति पुगेको छ । साथै धार्चे गाउँपालिकाको दोभान, माछीखोला, आरूघाट गाउँपालिकाको सोतीबजारका केही घर र पुल, आरूघाटको पुल बगाएको छ । बूढीगण्डकीमा बाढी आएकोबारे फेसबुक लाइभ र फोनहरूबाट मानिसले जानकारी पाएका थिए । त्यसपछि स्थानीय र पर्यटकहरू सुरक्षित ठाउँतर्फ गएका थिए ।
    सरकारले बाढी प्रभावित बूढीगण्डकी क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको छ । चारवटा हेलिकप्टरसहित सेनाको टोली परिचालित छ । अहिलेसम्म ४९ जनालाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । चुमनुब्रीको केन्द्र फिलिमलाई आधार बनाएर स्वदेशी तथा विदेशी नागरिकहरूको उद्धार गरिएको हो ।
श्रोत ः सेतोपाटीबाट

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्