पूरै साताको तातो राजनीतिक खवर बनेको छ ः नेपाली कांग्रेस । यसको मुख्य विन्दूमा रहेका छन् । साविकका सभापति शेरबहादुर देउवा र भृकुटी मण्डपमा आयोजित विशेष अधिवेशनले बनाएका सभापति गगन थापा । कतिपय राजनीतिक विश्लेषकहरुले यसलाई पुस्तान्तरणको झगडा बताएका छन् । तर, यो पुस्तान्तरणको झगडा नभएर ‘विशेष’ सभापति गगन थापाको उच्च महत्वाकांक्षाले सिर्जना गरेको विवाद हो भन्नेहरु धेरै छन् । अपहरणको शैलीमा ‘विशेष’ सभापति बनेका गगन आफनो आधिकारिकता स्थापित गर्न बोलेको बोलेकै छन् भने अहिलेसम्म चूपचाप रहेका ‘साविक’ सभापति शेरबहादुर देउवाले आफना सहयोगी मार्फत केही प्रश्न राखेका छन् ।
साथीहरु म ओरालो लागेकोे देखेर होला, उता गएका होलान् । अदालतको आदेशपछि ती फर्केर यतै आउँछन् सिग्देलसँगको संवादमा देउवाले भनेका छन् । पञ्चायत, गिरिजाप्रसाद, तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी हिंसाका समयमा पनि साथ नछोडेका साथीहरुले देउवासँग छलफल र सरसल्लाहसम्म नगरी साथ छाडेका छन् । तर, उनको आशा छ ः अदालतले कांग्रेस सभापतिका रुपमा आफनोे वैधानिकता कायम गरेपछि ती आफूतिर फर्किने छन् । सभापति देउवा न्यायको खोजीमा छन् । प्रश्नगर्न उनको निवास पुगेको मलाई देउवाका प्रश्नहरुको सामना गर्नु प¥यो । देउवाका केही प्रश्न यस्ता थिए ः
के मैले न्याय पाउनु पर्दैन ?
चौधौं महाधिवेशनबाट निर्वाचित सभापति को हो ?
निर्वाचित सभापतिलाई कसले र कसरी हराउँछ ?
भदौ २४ मा भएको घटनामा हामी स–परिवार झण्डै मारिएका होइनौं ?
हामीले देशको खिलाफमा त्यस्तो के गरेका थियौ ?
बालापनदेखि नै प्रजातन्त्रका लागि लडनु के मेरो गल्ती थियो ?
विशेष महाधिवेशन सभापतिको सहमतिमा केन्द्रीय समितिले आयोजना गर्ने होइन ?
देउवाका यी प्रश्नहरु मार्मिक छन् । उनको आशंका छ ः विधि र विधान नास भएको त होइन ? सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भनेको अवस्थामा महाधिवेशन नरोकिनु दुःखद होइन ? देउवाको टिप्पणी थियो – हामी रगतै रगतमा लत्पतिएर अस्पतालमा उपचार गराइ रहँदा सभापतिलाई के भयो भनेर सोध्न को आयो ? घाइते सभापतिको शारीरिक र कानूनी उपचारपट्टि नलागेर उसलाई हटाउन हस्ताक्षर अभियान थालिनु मानवीय काम हो ? विशेष अधिवेशन आयोजनागर्ने पक्षतिर संकेतगर्दै देउवाले भने ः हाम्रोभन्दा अरुको कति मायाँ लाग्न सकेको होला ! देउवाका प्रश्नहरु निर्वाचन आयोगतिर लक्षित थिए । त्यस्तै भीड जम्मा गरेर हामी पनि निर्वाचन आयोगमा गए मान्यता पाइने हो ?
शेरबहादुर देउवाको दृढ भनाइ थियो ः म त अहिले पनि मिल्न र मिलाउन तयार छु । तर, ‘उहाँहरु’ म सँग भागी रहनु भएकोछ । किन भाग्दै हुनुहुन्छ ? त्यसको कारण के हो ?
(सिग्देल देउवा निकट पत्रकार हुन् ।)
