संसारका सबैभन्दा क्रूर बजार तिनै हुन्, जहाँ मान्छे किनबेच हुन्छ तर हातमा रसिद थमाइँदैन । एउटा भव्य बंगला, मोटो बैंक ब्यालेन्स, महँगो गाडी र हातमा बाँधेको ब्रान्डेड घडी –समाजमा पुरुषत्वको हैसियत नाप्ने यी सबै भौतिक प्रमाण हुन् । यो सूचीमा सबैभन्दा महँगो वस्तु थपिन बाँकी नै हुन्छ ‘एउटी सुन्दर पत्नी’ ।
पितृसत्ता र पुँजीवादको खतरनाक जुगलबन्दीले पुरुषको मगजमा एउटा नमीठो भ्रम भरिदिएको छ, जहाँ स्त्री कुनै सोच्ने वा सास फेर्ने मान्छे होइन ः ऊ केवल उसको सफलताको शोकेसमा सजाउने एउटा ‘ट्रफी’ हो । चियाका पसलदेखि घरका बैठकहरूसम्म ‘केटी अलि राम्री, भान्छा र बैठक सम्हाल्न सक्ने अनि ‘मीठो’ बोल्ने चाहियो’ भन्ने बोली सहजै बिक्छ । त्यहाँ कुनै प्राकृतिक रोजाइ होइन, पुरुषत्वको यही दम्भ, नियन्त्रण र हैसियत प्रदर्शनको राजनीति चलिरहेको हुन्छ । गहिरिएर हेर्ने हो भने, यहाँ ‘सौन्दर्य’ केवल आँखाको सन्तुष्टि हुँदै होइन । यो त शक्ति, नियन्त्रण, हैसियत र सुरक्षाको एउटा जटिल अर्थशास्त्र हो ।
‘ट्रफी’ पत्नी र पुँजीवाद
हाम्रो समाजले स्त्रीलाई जिउँदो र दुखाइ महसुस गर्ने मान्छे कहिल्यै मानेन उसलाई एक दृश्य वस्तुु मात्र बनाइराख्यो । परम्परागत पुरुष अहम्का लागि सुन्दर स्त्रीसँगको सम्बन्ध आफ्नो पुरुषत्वको झण्डा गाड्ने हतियार बन्यो । जसरी एउटा भव्य महल वा गाडीले समाजमा उसको हैसियत बोल्छ, त्यसरी नै सुन्दर पत्नीुलाई उसले आफ्नो अहम्को शोकेसमा सजाउने हतियार बनाउँछ ।
यसमा पुँजीवादले झन पेट्रोल खन्याउने काम गरिरहेको छ । सौन्दर्य उद्योगले स्त्रीलाई ुहेरिने वस्तुु र पुरुषलाई त्यसको ुउपभोक्ताु बनाउने विशाल बजार तयार पा¥यो । परिणामस्वरूप, स्त्रीको मूल्य उसको बौद्धिक चेतना, विचार वा तर्कमा होइन, उसको छालाको रङ्ग, शरीरको गोलाइ र दृश्य उपस्थितिमा जोखिन थालियो । यो सौन्दर्य(मोह वास्तवमा प्रेम होइन यो त समाजमा आफ्नो अहमलाई प्रदर्शन गरेर तुष्ट हुने एउटा आधुनिक दासता हो ।
नियन्त्रणको कारखाना
के स्त्री जन्मिँदै ‘सहनशील, कोमल, नम्र र सुन्दरु भएर आउँछिन ? अथवा उनलाई योजनाबद्ध रूपमा एउटा काँचो माटोझैँ थिचेर, कोपरेर र आकार दिएर त्यस्तै बनाइन्छ ? घरको आँगनदेखि नै यो विभेदको पहिलो जग बसाइन्छ । छोराको हातमा कार, बन्दुक, रोबोट वा प्राविधिक सामान थमाएर उसलाई कर्ता, आक्रामक, विजेता र नियन्त्रक बन्न सिकाइन्छ । छोरीको हातमा प्लाष्टिकका भान्छाका सामाग्री, शृंगारका बस्तु र कपडाका पुतली दिएर उसलाई ‘अरूद्वारा हेरिने’, ‘सेवाभावी’ र संरक्षित पात्रमा कैद गरिन्छ ।
छोरीलाई घर–घरमा दिनहुँ घोकाइने ‘सहनशीलता’ र ‘नम्रता’का पाठहरू संस्कार होइनन्, ती त पितृसत्तात्मक संरचनाका लागि अनुशासित, प्रश्न नगर्ने र आज्ञाकारी ‘प्रजा’ तयार पार्ने कारखानाका उत्पादन हुन् । स्त्रीको वास्तविक शक्ति– उसको रिस, उसको तार्किक क्षमता, उसको असहमति र नेतृत्व क्षमतालाई ‘असामाजिक’, ‘उद्दण्ड’ वा ‘अलच्छिन’को बिल्ला भिराएर सुरुमै दबाउने काम हुन्छ । बाह्य आवरणलाई मात्र पोत्ने र सजाउने यो कारखानाले यस्तो स्त्री उत्पादन गर्छ, जो हेर्दा बजारको नजरमा आकर्षक देखियो, तर जसको आवाज घरको पर्खाल नाघेर बाहिर आउन नसकोस् ।
सांस्कृतिक दमन
हाम्रा लोककथा, उखान र दैनिक भाषालाई ध्यान दिएर सुन्ने हो भने त्यहाँ पितृसत्तात्मक हिंसाको अमिलो गन्ध आउँछ । ‘पोथी बासे घर भत्किन्छ । ‘छोरीको जात अर्काको घर जाने धन’, वा ‘आइमाईको बुद्धि घुच्चुकमा हुन्छ’, “ब्युटी विथ ब्रेन” । यी शब्द वा उखान मात्र होइनन्, यी त स्त्रीको चेतना र अस्तित्वलाई शब्दकै तहमा सिध्याइदिने सामाजिक हतियार हुन् । सांस्कृतिक रूपमा पनि स्त्रीलाई ‘घरकी लक्ष्मी’को दर्जा त दिइयो, तर त्यो दर्जा तबसम्म मात्र कायम रहन्छ जबसम्म उनी निःशब्द भएर श्रम गरिरहन्छिन् । ‘लक्ष्मी’को यो मुकुट वास्तवमा एउटा चलाखीपूर्ण पासो हो । जब स्त्रीलाई देवी बनाइन्छ, उसबाट मान्छे हुनेसमेत अधिकार खोसिन्छ । उसले गल्ती गर्नु हुँदैन, उसले रिस उठाउनु हुँदैन, उसले थकान महसुस गर्नु हुँदैन र उसले कहिल्यै ‘हुँदैन’ भन्न नै पाउँदिन । यो सांस्कृतिक दमनले स्त्रीलाई आफ्नो आत्मसम्मान खोज्ने बाटो नै बन्द गरिदिन्छ ।
तर्कको डर
जब एउटी स्त्री पढाकु हुन्छिन्, जब उनी इतिहास, समाजशास्त्र, राजनीति र कानुनका पानाहरू पल्टाउन थाल्छिन्, तब उनी सोध्न थाल्छिन– ‘किन ? र, यो समाजको सबैभन्दा ठूलो डर नै यही एउटा शब्द ‘किन’सँग छ । संस्कार, धर्म र परम्पराको खोल ओढेर बसेका पुरुषहरू शिक्षित र तार्किक स्त्रीलाई जीवनसंगिनी बनाउन भित्रभित्रै थरथर काँप्छन् । किनभने तार्किक स्त्रीले पुरुषको परम्परागत विशेषाधिकारमा सिधै बञ्चरो हान्छिन् । उनले भान्छाको कामलाई ‘कर्तव्य’ होइन, ‘अवैतनिक श्रम’ भनिदिन्छिन् । उनले पुरुषको दम्भलाई ‘संरक्षकत्व’ होइन, ‘अधिनायकवाद’ भनेर नाङ्ग्याइदिन्छिन् । उनले बिहानदेखि बेलुकासम्म गरिने विभेदलाई ‘घरको आन्तरिक मामला होइन, ‘लैङ्गिक हिंसा’ भनिदिन्छिन् ।
आफ्नो प्रभुत्व र अहम् जोगाउन अभ्यस्त पुरुष मनोविज्ञानलाई बराबरीको सहयात्री होइन, आफ्नो हरेक निर्णयमा चुपचाप टाउको हल्लाउने एउटा ‘मूक श्रोता’ चाहिएको छ । त्यसैले प्रश्न गर्ने, बहस गर्ने र आफ्ना अधिकार दाबी गर्ने स्त्रीलाई ‘अहंकारी’, ‘रूखो’, ‘अव्यवहारिक वा ‘घर बिगार्ने’ बिल्ला भिराएर पन्छाउन खोजिन्छ ।
लाचारी कि सहनशीलता ?
अशिक्षित वा आर्थिक रूपमा परनिर्भर स्त्रीले हिंसा, अपमान र श्रमको शोषण सहनु उनको कुनै महान् त्याग वा चाहना थिएन । त्यो त उनको विस्थापनको डर, आर्थिक सहाराको अभाव र विकल्पहीनताको चरम मजबुरी थियो । बिडम्बना, समाजले कति चलाखीपूर्वक त्यो लाचारीलाई ‘सहनशीलताको गहना’ र ‘पतिव्रता धर्म’ भनेर भाष्य निर्माण गरिदियो !
यद्यपि, आजका स्त्रीहरू समाजले बनाएको साँचोमा ढालिने काँचो माटो मात्र होइनन् । उनीहरूसँग आफ्नै आन्तरिक विवेक, प्रतिरोधको शक्ति र स्व–चेतना छ । शिक्षित र सचेत स्त्रीले जब आफ्नै गोरेटो र विकल्प निर्माण गर्छिन्, जब उनी त्यो बाध्यताको साङ्लो तोडेर उभिन थाल्छिन्, तब शताब्दीऔँदेखि ठडिएको परम्पराको जग हल्लिन थाल्छ ।
घर बिग्रियो कि दासता भत्कियो ?
‘शिक्षित महिलाले घर बिगारी’ वा ‘पढेलेखेकी केटी आएर परिवार भत्काई’ भन्ने आजको रोदन महिलाको चेतनाको दोष होइन । यो त बदलिँदो संरचना र समतामूलक विचारसँग जुध्न नसकेको पुरुष अहम्को छटपटी मात्र हो । शिक्षित स्त्रीले घर बिगार्दिनन्, घर त परिवर्तनलाई स्वीकार गर्न नसक्ने पुरुषको एकाधिकारवादी सोचले बिगार्छ ।
विडम्बना कस्तो छ भने – समाजमा हैसियत देखाउन ‘सुन्दर र आकर्षक स्त्री’ चाहिएको छ भने घरभित्र आफ्नो दम्भ जोगाउन ‘सोझी, अबोध र दबाउन सकिने स्त्री’ पनि ! पुरुषको यो विरोधाभासी चाहनाले सम्बन्धहरूलाई थप जर्जर र खोक्रो बनाएको छ । समस्या शिक्षित स्त्रीको चेतनामा छैन समस्या त सुन्दरताको शोकेसमा पुतली सजाउन चाहने, तर एउटा जिउँदो र तार्किक मान्छेलाई स्वीकार्न नसक्ने सङ्कुचित मनोविज्ञानमा छ ।
चेतनाको नयाँ शर्त
चेतनाले घर भत्किँदैन, चेतनाले त घरलाई साँच्चिकै समतामूलक, सुरक्षित र जीवित बनाउँछ । तथापी, यसका लागि समाजीकरणको परम्परागत ढाँचालाई पूर्ण रूपमा बदल्नै पर्छ । बाल्यकालदेखि नै छोराहरूलाई ‘घरको मालिक’ वा ‘संरक्षक’ होइन, ‘बराबरीको मान्छेु र सहयात्री बन्न सिकाउनु पर्छ । उनीहरूलाई अरूको अस्तित्वको सम्मान गर्न, असहमतिलाई पचाउन र आफ्ना भावनाहरूलाई नियन्त्रणको साटो संवादमार्फत व्यक्त गर्न सिकाउनु पर्छ । जबसम्म पुरुषत्वलाई नियन्त्रण, शक्ति र प्रभुत्वको कसीबाट मुक्त गरेर सहकार्य, सहानुभूति र बराबरीको सम्बन्धमा रूपान्तरण गरिँदैन, तबसम्म बिग्रिएका सम्बन्धहरूको मुख्य अभियुक्त महिला होइन– यो पितृसत्तात्मक अहम् नै भइरहनेछ । संसार बदलिसकेको छ । अब पुरुषले पनि ‘सुन्दर पुतली’ होइन, ‘सचेत सहयात्री’ लाई स्वीकार्न सक्ने गरी आफूलाई मानसिक रूपमा तयार बनाउनै पर्छ । नत्र “किन शिक्षित महिलाकै घर धेरै बिग्रन्छ ?” भन्ने प्रश्नमा मै रुमल्लिएर जिन्दगी खेर जानेछ !
