मानव जीवनका सबैभन्दा निर्णायक परिवर्तनहरू प्रायः त्यहाँबाट सुरु हुन्छन्, जहाँ आँखाले देख्न सक्दैन । संसारले कर्म देख्छ, इतिहासले घटना लेख्छ, समाजले परिणामको मूल्याङ्कन गर्छन्, तर यी सबैको वास्तविक आरम्भ मानव चेतनाको मौन अन्तरतमबाट हुन्छ । त्यहीँ विचार जन्मिन्छ, त्यहीँ मूल्यहरूको छनोट हुन्छ, त्यहीँ सत्य र असत्यबीचको पहिलो छनोट हुन्छ । त्यसैले जीवनलाई बुझ्ने पहिलो सर्त बाहिरी संसारलाई हेर्नुभन्दा पहिले आफ्नै चेतनाको स्वरूपलाई बुझ्नु हो ।
चेतना मानव अस्तित्वको केन्द्र हो । विचार त्यसको पहिलो तरङ्ग हो, वाणी त्यसको पहिलो श्रव्य अभिव्यक्ति हो र कर्म त्यसको पहिलो दृश्य रूप हो । मानिसले बोलेका शब्दहरू आकस्मिक हुँदैनन् ः तिनले स्वयम् भित्रको संस्कार, विवेक, करुणा, अहंकार वा भ्रमलाई बोकेका हुन्छन् । यसैले एउटै विषय बोल्ने दूई व्यक्तिका शब्द समान भए पनि तिनको प्रभाव समान हुँदैन । प्रभाव शब्दको मात्र होइन, शब्दभित्र रहेको चेतनाको हुन्छ ।
मानिसले निर्माण गरेका अधिकांश सम्बन्ध विश्वासमा टिकेका हुन्छन् र विश्वासको पहिलो आधार वाणी हो । शब्दले मनलाई जोड्न पनि सक्छ, टुक्राउन पनि सक्छ । त्यसले आशा जगाउन पनि सक्छ, निराशा फैलाउन पनि सक्छ । तर शब्दको वास्तविक शक्ति अरूलाई बदल्नुमा मात्र छैन । शब्दले सर्वप्रथम बोल्ने व्यक्तिको चेतनालाई नै संस्कारित गर्छ । असंयमित वाणीले विवेकलाई क्षीण बनाउँछ । मर्यादित वाणीले अन्तःकरणलाई परिष्कृत गर्छ । त्यसैले वाणी अरूसँग संवाद गर्ने माध्यम मात्र होइन, स्वयंलाई संस्कारित गर्ने अनुशासन पनि हो ।
यद्यपि शब्दले रोपेको बीउ तत्काल फल्दैन । प्रत्येक विचार, प्रत्येक वाणी र प्रत्येक कर्म समयको विशाल प्रवाहमा प्रवेश गर्छ । समयले कुनै निर्णय तुरुन्त सुनाउँदैन उसले कारणलाई परिणामसँग भेट गराउने धैर्य राख्छ । यस अर्थमा काल न त दण्डदाता हो, न पुरस्कारदाता । काल जीवनको निष्पक्ष उद्घाटक हो । उसले आवरण हटाएर अन्ततः प्रत्येक कर्मको वास्तविक स्वरूप प्रकट गर्छ ।
यही कारणले मानिसको जीवन केवल वर्तमान क्षणले निर्धारण गर्दैन । आजको एउटा विचारले भोलिको निर्णय जन्माउन सक्छ । एउटा निर्णयले जीवनको दिशा बदल्न सक्छ । एउटा शब्दले सम्बन्धको भविष्य तय गर्न सक्छ । एउटा कर्मले पुस्तौँसम्म प्रभाव छोड्न सक्छ । यसरी हेर्दा मानव जीवन क्षणहरूको असम्बद्ध सङ्ग्रह होइन । चेतना, वाणी, कर्म र कालबीचको अखण्ड प्रवाह हो ।
जब चेतना स्वार्थले ढाकिन्छ, शब्दले आफ्नो मर्यादा गुमाउँछ । जब शब्दले मर्यादा गुमाउँछ, कर्मले उत्तरदायित्व गुमाउँछ । जब कर्म उत्तरदायित्व विहीन हुन्छ, चरित्र कमजोर बन्छ । चरित्र कमजोर हुँदा समाजमा विश्वास घट्छ, र विश्वास कमजोर भएको समाजमा कानुन बढे पनि न्याय बलियो हुँदैन । त्यसैले सभ्यताको वास्तविक संकट प्रविधिको अभावबाट होइन, चेतनाको असन्तुलनबाट सुरु हुन्छ ।
यसको विपरीत, जब चेतना सत्यप्रति जागृत हुन्छ, विवेकले विचारलाई सन्तुलित गर्छ । सन्तुलित विचारले मर्यादित वाणी जन्माउँछ । मर्यादित वाणीले उत्तरदायी कर्मलाई प्रेरित गर्छ । उत्तरदायी कर्मबाट चरित्र निर्माण हुन्छ, चरित्रबाट विश्वास जन्मिन्छ, विश्वासबाट न्यायपूर्ण समाजको आधार तयार हुन्छ । यसरी सभ्यताको वास्तविक निर्माण कुनै भवन, संस्था वा शासनबाट होइन, मानव चेतनाको परिष्कारबाट प्रारम्भ हुन्छ ।
जीवनको सबैभन्दा ठूलो प्रश्न मानिसले कति वर्ष बाँच्यो भन्ने होइन, उसले आफ्नो चेतनालाई कति परिष्कृत बनायो भन्ने हो । किनकि समयले सबैलाई समान रूपमा अघि बढाउँछ, तर सबैले समयलाई समान अर्थ दिन सक्दैनन् । कसैले समयलाई अवसर बनाउँछ, कसैले बोझ, कसैले अनुभव बनाउँछ, कसैले पश्चात्ताप । अन्तर समयमा होइन, चेतनामा हुन्छ ।
अन्ततः मानिसले संसारमा छोडेर जाने सबैभन्दा स्थायी सम्पत्ति न धन हो, न पद, न प्रसिद्धि । समयले यी सबैलाई परिवर्तन गर्न सक्छ । तर सत्यले निर्देशित विचार, करुणाले सन्तुलित वाणी, उत्तरदायित्वले प्रेरित कर्म र तिनबाट निर्माण भएको चरित्र समयको परिवर्तनभन्दा पनि दीर्घजीवी हुन्छ । यही कारणले मानव जीवनको वास्तविक साधना बाहिरी संसारलाई जित्नुमा होइन, आफ्नै चेतनालाई परिष्कृत गर्नुमा छ । चेतना परिष्कृत हुँदा शब्दले गरिमा प्राप्त गर्छ, शब्दले गरिमा प्राप्त गर्दा कर्मले दिशा पाउँछ, कर्मले दिशा पाउँदा समय पनि शत्रु रहँदैन । उही समय सत्यको साक्षी बन्छ ।
यसर्थ, विचारको यात्रा पहिलो शब्दबाट होइन, पहिलो प्रतिबद्धताबाट सुरु हुन्छ । ज्ञानले विवेकलाई प्रकाशित गरोस्, विवेकले चरित्रलाई संस्कारित गरोस्, र चरित्रले लोकमंगलको मार्ग आलोकित गरोस् ।
(लेखक अघोरीबाबा हुन् ।)
