गत शुक्रबार गुण्डुमा गोकर्णले ओलीसँग करोडौँको हिसाब मागेपछि बैठक नै एकछिन शून्य भयो ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा केन्द्रीय सचिवालयको बैठक जारी थियो । राजनीति र पार्टी सञ्चालनका नियमित कार्य सूचीमाथि छलफल चल्दै गर्दा बैठकको माहोल अचानक बदलिएको थियो । त्यसपछि माहोल तब गर्मायो, जब गोकर्ण विष्टले एउटा यस्तो विषय निकाले, जसको चर्चा पार्टीका उपल्ला कमिटीहरूमा समेत यसअघि कहिल्यै भएको थिएन । विष्टले अध्यक्ष ओलीसँग एउटा प्रश्न तेस्र्याए । त्यो प्रश्न थियो— ‘राज्यकोषबाट नेताहरूले उपचारका नाममा दिएको करोडौँ रुपैयाँ एमालेको खाताबाट किन फिर्ता गरियो ?’
त्यो एउटा प्रश्न, जसको ओलीले जवाफ नै दिन सकेनन् । विगतमा केपी ओली नेतृत्वको सरकार हुँदा विशिष्ट व्यक्तिहरू (VIP) को उपचारका नाममा राज्यकोषबाट करोडौँ रुपैयाँ बाँडिएको थियो । चौतर्र्फी आलोचना र कानुनी प्रश्न उठेपछि त्यो पैसा हालै राष्ट्र बैंकमा फिर्ता त गरियो, तर सरकारको खातामा पैसा एमाले पार्टीको कोषबाट गयो । यहीँनेर विष्टले नेतृत्वको नियतमाथि प्रश्न उठाए । बैठकमा विष्टको आक्रोश मिश्रित भनाइ थियो । ‘भिआइपीका नाममा विगतमा सरकारले गरेको खर्च एमालेको कोषबाट फिर्ता गरियो भन्ने सुन्यौं । यदि त्यो खर्च कानुन विपरीत थियो भने विगतमा किन त्यसरी राज्यकोषको दोहन गरियो ? र, यदि गल्ती नेताहरूले गरेका थिए भने, अहिले त्यसको आर्थिक भार सिंगो पार्टी माथि किन थोपरियो ? नेतृत्वले यसको हिसाब दिनुपर्छ ।’
ओलीको मौनता र प्रवक्ताको ‘अज्ञानता’
गोकर्ण विष्टले सिंगो कमिटीकै अगाडि सिधै ओलीतर्फ लक्षित गर्दै करोडौँको हिसाब त मागे, तर अध्यक्ष ओलीले त्यसको कुनै उत्तर दिएनन् । ओलीको यो ‘मौनता’ले बैठक कक्षमा सन्नाटा छायो । पार्टी भित्र प्रश्न उठिसकेको छ—“केपी ओली वा अन्य मन्त्रीहरूको व्यक्तिगत उपचार खर्च सिंगो एमाले कार्यकर्ताले बुझाएको लेबी र चन्दाबाट किन तिर्ने ? गल्ती गर्ने व्यक्तिले सजाय भोग्नुपर्ने कि पार्टीले ?”
यो कथामा सबैभन्दा रोचक ट्वीस्ट त तब आयो, जब पार्टीका प्रचार विभाग प्रमुख (प्रवक्ता) मीनबहादुर शाहीले आफू यति ठुलो कारोबारबारे पूर्ण रूपमा बेखबर रहेको स्वीकार गरे । करोडौँ रुपैयाँ पार्टीको खाताबाट राष्ट्र बैंक पुगिसक्यो, तर प्रवक्ता भन्छन्— “मलाई यसबारे केही जानकारी छैन, पार्टीमा छलफल भएको पनि थाहा छैन ।”
रहस्यमय स्रोत कतै यो “कालो धन” सुद्धीकरण त होइन ? अब एमालेभित्र एउटा नयाँ र डरलाग्दो शङ्काले जन्म लिएको छ । बैठकमा सहभागी केही नेताहरूले कानेखुसी गर्न थालेका छन् — कतै यो पैसा एमालेको आफ्नै वैधानिक कोषको नभएर कुनै “अज्ञात वा बाह्य स्रोत” बाट आएको त होइन? कतै एमालेको नाम प्रयोग गरेर कसैको अवैध धनलाई सरकारी खातामा जम्मा गराई वैध बनाउने खेल त भइरहेको छैन ?
गोकर्ण विष्टले उठाएको यो एउटा प्रश्नले एमालेभित्र ठूलो नैतिक र आर्थिक सङ्कट खडा गरिदिएको छ । नेताको गल्तीको बोझ पार्टीले बोक्न सक्दैन भन्ने अडानमा विष्ट र उनी पक्षीय नेताहरू छन् । अब हेर्नु यो छ कि, करोडौँको यो रहस्यमय हिसाबकिताबमा सधैँ “वाकपट” रहने केपी शर्मा ओलीले आफ्नो मौनता कहिले तोड्छन् ? कि यो प्रश्नलाई पनि शक्तिको बलमा यसै दबाउनेछन् ? हेर्न बाँकी छ ।
