IMG-LOGO

नेपाली कांग्रेस भित्रको किचलोबारे

 मंगल, बैशाख ८, २०८३  – रत्नप्रसाद लुइँटेल

     विगतका नेतृत्वका गलत कर्मका कारण थिलथिलो भएर पछारिएको कांग्रेसका कार्यकर्ताहरु अझै चेतेको देखिंदैन । विभिन्न खेमामा विभाजित साथीहरु एक आपसमा दोषारोपण गर्नमै व्यस्त छन् । मेरो विचारमा एउटाले अर्कोलाई राम्रो वा नराम्रो भनेर समय व्यतितगर्नुको कुनै औचित्य छैन । अव गाली गर्नुभन्दा आ– आफ्‌नो गुटलाई बलियो बनाउनतिर लागौं ।

      कांग्रेस कांग्रेस मिल्दैमा पनि केहि लछारिने भएन । हिजो हाम्रा देउवा दाइले गरेजस्तो माओवादी, एमाले सप्पैसँग जोडिए त केहि नहुने अवस्था आयो भनेपछि कांग्रेस एक हुनु र नहुनुको के नै औचित्य रह्यो र । त्यसमा पनि कसैलाई देउवाको नाम नै गन्हाउने, कसैलाई गगनको नाम नै सुन्न मन नलाग्ने यस्तो अवस्थामा छुट्टिएर बस्नुको विकल्प छैन साथीहरु । एकैघरमा वसेका सन्तानमा मेलमिलाप नभएर किचलो भयो भने त्यो घरको सामाजिक र आर्थिक अवस्था नाजुक हुनपुग्दछ ।

      त्यो तपाई हामीले देख्दै भोग्दै आएका छौं । त्यहि परिवार छुट्टिएर आ–आफ्‌नो लागि कामगर्न लागेभने तिनीहरु दिनरात नभनेर खट्छन् र केहि उन्नति भएको पनि देखिएको छ । त्यसैले गगन थापाको समुहले आधिकारिकता पायो भने देउवा शेखर समुह खिन्न हुनुपर्दैन । खुरुक्क नाममा कांग्रेस जोडेर अर्को पार्टी खोलेहुन्छ । देउवाले आधिकारिकता पाएभने पनि गगन समुहले खिन्न हुनु पर्दैन र रुख त्यतातिर गयो भनेर त्यतै दौडिनु पनि पर्दैन । एउटा दरिलो समुह बनिसकेकै छ, गगनको नेतृत्व क्षमता प्रति विश्वास र लोकतन्त्रका प्रति प्रतिवद्ध पार्टी नीति भएपछि त्यतै बस्छन् बस्नेहरु । होइन रुख उतागयो अव उतैलाग्दा भविष्य सुरक्षित हुन्छ भन्ने कसैलाई लाग्छ भने उ उतैतिर लाग्छ । आधिकारिकता नपाउनेले अर्को लोकतान्त्रीक पार्टी दर्ता गरेर नयाँ ढङ्गले अगाडिबढ्दा धेरै नै राम्रो हुन्छ भन्ने लाग्छ मलाई । अव धेरै एक अर्कालाई गालि गर्न लाग्नु भन्दा छुट्टै भिन्नै बसौं भनेर आफ्‌नो समुहका नेतालाई सम्झाउन तिर लागौं । मन नपर्ने हरुसँग जवर्जस्ति टांसिएर बस्नुपर्ने वाध्यता हामी कसैसँग पनि छैन ।

       विचार मिल्नेहरु पो एकैठाउँमा बस्ने हो । आधिकारिकता नपाए पनि गगन थापाहरु छुट्टै रहन मन्जुर गर्छन भने म चाहिं उनीहरुसँगै रहन्छु । यदी देउवा समूहले आधिकारिकता पायो र गगन हरु नयाँ पार्टी निर्माण नगरी देउवाले नेतृत्वगर्ने कांग्रेसमै रहेर महाधिवेशनमा जाने निर्णयमा पुगे भने मेरो कांग्रेसको सदस्यता तामेलीमा बस्छ र त्यो नेतृत्वले गर्ने महाधिवेशनमा मेरो संलग्नता हुनेछैन । जसका क्रियाकलाप प्रति चरम घृणाभाव पैदा भएर छटपटिएको अवस्थावाट वल्ल अलिकता सुकुन मिलेको छ, फेरि त्यतै फर्कनु भनेको आत्महत्या गर्नु जत्तिकै हो । व्यक्तिगत लाभहानि हेरेर राजनीतिमा लाग्ने चरण पार गरिसकियो । राजनीति मार्फत सामाजिक कामगर्ने नै चाहना हो त्यो धेरथोर स्वतन्त्र रहेर पनि गरिहालिन्छ । यताउता जता रहेपनि सवै साथीहरुलाई धेरै धेरै सम्झना छ, धेरै धेरै माया छ, जयनेपाल  ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्