जेन्जी आन्दोलन कसरी भयो ? यसको पृष्ठभूमिमा हामी जानुपर्छ । जेन जी सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूको समूह हो। अंग्रेजीको न्भलभचबतष्यलश् लाई छोटकरीमा जेन जी भनिएको हो । सन २०१८ मा स्विडेनमा जलवायु परिवर्तनको असरका विरुद्ध यो पुस्ताले आन्दोलनको शुरूवात गरेको थियो ।
त्यसपछि सन. २०२० मा अमेरिकामा काला जातिमाथि भएको दमनविरुद्ध विरोध प्रदर्शन भयो । युवाहरूले आफ्नो आवाजलाई विस्तारै बुलन्द गर्दै लगेका बेला सन. २०२४ जुनबाट केन्यामा भएको आन्दोलनले हिंसात्मक रूप लियो ।
जसमा ६५ जना भन्दा बढीले ज्यान गुमाए । तत्पश्चात युवा पुस्ताको आन्दोलन अहिले विश्वभर फैलिएको छ । सर्बिया (नोभेम्बर २०२४– सेप्टेम्बर २०२५), माली (सन. २०२५ को मध्य), फ्रान्स (सन. २०२५ को मध्य), युक्रेन (जुलाई २०२५), स्लोभाकिया (डिसेम्बर २०२४– मे २०२५), अमेरिका (फेब्रुअरी–अप्रिल २०२५), बेलायत (जुलाई २०२५), टर्की (अप्रिल २०२५), इरान (मे २०२५), बंगलादेश (अप्रिल २०२५) र इन्डोनेसियामा २५ अगस्त २०२५ मा सांसदहरूले पाउने विलासितापूर्ण भत्ता, सुविधाविरुद्ध तथा आर्थिक असमानताविरुद्ध न्यायको माग लिएर आन्दोलन शुरू भयो ।
यो नेतृत्वविहीन आन्दोलन थियो र युवाहरूको व्यापक समर्थन थियो । प्रदर्शनहरू हिंसात्मक बन्दै देशका ३२ प्रान्तमा फैलियो । जसको नतिजाको रूपमा सरकारले सांसद सुविधा रद्द गर्न बाध्य भयो । अफ्रिकी देशहरू युगान्डा, मलावी, घाना र गाम्बियामा पनि केन्याको आन्दोलनले प्रेरणा दिएर युवा बेरोजगारीआर्थिक संकट र भ्रष्टाचारविरुद्ध आन्दोलनहरू शुरू भएका छन् ।
कारण ः
मुख्यरूपमा नेपालमा जेनजी आन्दोलन सरकारको नयाँ नियम अन्तरगत दर्ता हुन नआएका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स, (ट्विटर), युट्युब सहित २६ प्रमुख सामाजिक सञ्जालहरू माथि सरकारले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा वि.सं २०८२ भदौ २३ का दिनबाट जेनजीहरूको अगुवाई तथा नेतृत्वमा स्वतस्फूर्तरूपमा देशव्यापी विरोध प्रदर्शन सुरु भयो ।
प्रदर्शन सुरु हुनुमा उल्लेखित कारण मात्र नभएर देशका प्रमुख दुई ठूला शक्तिहरू मिलेर बनेको सरकारले एक वर्षको यात्रा पूरा गर्दैगर्दा जनताले चाहेका अपेक्षाहरू पुरा गर्न नसक्नु, सरकार बन्नुभन्दा अघि कांग्रेस र एमाले बीचमा भएको ७ बुँदे सहमतिपत्रमा संविधान संशोधनको मुख्य एजेन्डा राखेपनि त्यो एजेन्डा एक वर्षसम्म प्रक्रियामा अगाडि नबढ्नु, सबै नेताले मञ्चहरूमा २०४६ सालदेखि यताका प्रमुख पदमा बसेका राजनीतिक दल र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउने भनेर भाषण गर्ने तर निर्णय गरी कार्यान्वयनमा नलैजानु, ठूला ठूला भ्रष्टाचार काण्डहरू समाचार र हेडलाइनमा मात्र आइरहनु, भ्रष्टाचार सूचकांकमा समेटिएका १८० देशमध्ये सन् २०२४ मा नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थानमा पर्नु, सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ ।
त्यसमा पनि ५० अंकभन्दा कम प्राप्त प्राप्त गर्ने मुलुकलाई भ्रष्ट र १८० मुलुकको औसत अंक ४३ भन्दा कम प्राप्त गर्ने मुलुकलाई अति भ्रष्ट मुलुक मानिन्छ । यस अनुसार ३४ अंक मात्र प्राप्त गरेको नेपाल अति भ्रष्ट मुलुकमा पर्नु, विगत १० वर्षको सूचकांक हेर्दा नेपाल ३५ अंकभन्दा माथि उक्लिन नसकेर अति भ्रष्ट मुलुकमा पर्दै आउनु, न्यायालय लगायत राज्यका विभिन्न निकायमा हुने नियुक्ति तथा पदस्थापनमा चरम राजनीतिकरण हुनु, योग्य र क्षमतावान व्यक्ति नियुक्त हुने ठाउँमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू बिना क्षमता पनि भर्ना हुनु, जनतामा अधिक मात्रामा नैराश्यता र सत्ताप्रति वितृष्णा पैदा हुनु, संविधान निर्माणपछि बन्नुपर्ने देशका मूल कानुनहरू जस्तै संघीय निजामती ऐन, संघीय शिक्षा ऐन, प्रहरी ऐन लगायतका दर्जनौं ऐनहरू संसदमै वर्षौंसम्म थन्किनु जस्ता कुराहरू रहेका छन् ।
भाद्र २३ गते सत्तापक्षबाट भएको बर्बर दमनको कारणले गर्दा भाद्र २४ गते देशले नै नसोचेको क्षति बेहोर्नुपर्यो। जसमा देशका मुख्य धरोहरका रूपमा रहेका सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, संसद भवन लगायत देशव्यापी रूपमा हजारौं सरकारी संरचनाहरू ध्वस्त भए। २९ भदौ २०८२ सम्म, विरोध प्रदर्शनमा मृत्यु हुनेको कुल संख्या ७२ पुगेको थियो, जसमा ५९ प्रदर्शनकारी, १० कैदीबन्दी, ३ प्रहरी अधिकारीसमेत थिए ।
प्रभाव ः
भाद्र २४ गते भएको विध्वंश पश्चात बालबालिका, युवा तथा वृद्धहरूमा गहिरो मनोवैज्ञानिक असर परेको छ । जसले गर्दा उनीहरूलाई नियमित रूपमा फर्किन धेरै समय लाग्नेछ । राजनीतिक दलका नेता, राजनीतिकर्मी, पार्टी कार्यालयहरू, सांसद, उद्योगी, व्यवसायी तथा स्थानीय तहका जनप्रतिनिधिहरूको व्यक्तिगत सम्पत्ति र घरहरूमा तोडफोड, लुटपाट र आगजानी भएको कारण सामाजिक सद्भाव खलबलिनेछ ।
साथै आगामी निर्वाचनहरूमा शुद्ध मनबाट देश र समाजको सेवा गर्छु भनेर राजनीतिमा होमिने व्यक्तिहरूलाई पनि म साँच्चै यसमा जाउँ त भनेर एकचोटी सोच्न बाध्य बनाउनेछ । साथै अर्कोतर्फ जसको घरबारबिहिन भएको छ जसको सम्पत्ति लुटिएको छ र चोरिएको छ ।
उसले व्यक्तिगत रिसिबीका कारण समाजमा फेरि अर्को आन्तरिक द्वन्द्व वा बदलाको भावना प्रकट हुने देखिन्छ । जसको कारण फेरि पनि अशान्ति हिंसा नै देखापर्ने छ । भाद्र २४ गतेकै आन्दोलनको कारणले जेलबाट भागेका करिब १० हजारभन्दा कैदीबन्दी अझैपनि फरार रहेका छन् ।
ती कैदीबन्दीहरू जघन्य अपराधका घटनाहरू जस्तै बलात्कार, हत्या, लागूऔषध, मानव बेचविखन र देशद्रोह समेतका मुद्दामा रहेका थिए । तिनीहरू यही समाजमा घुमिराखेका छन् । तिनीहरूले फेरि पुरानै आफ्ना अपराधका कुकर्महरू गर्नेछन् जसले गर्दा समाजमा अमनचयन कायम गर्न निकै नै गाह्रो पर्नेछ र यसको क्षति वर्षौंसम्म राज्यले बेहोर्नुपर्नेछ ।
