IMG-LOGO

गणतन्त्रवादीले दिनुपर्ने जवाफ

 मंगल, बैशाख २, २०८२  – नरेन्द्रजंग पिटर

– नरेन्द्रजंग पिटर

बर्बाद गुलिस्तां करने को बस एक ही उल्लू काफी है

हर शाख पे उल्लू बैठें हैं अंजाम ऐ गुलिस्तां क्या होगा ।

(बगैँचा बर्बाद गर्नका लागि एउटा उल्लु नै काफी छ, तर हरेक हाँगामा उल्लु बसेका छन् भने बगैँचाको हालत के होला ?)

–शौक–ए– बहराइच

     दुर्गा प्रसाईंले माओवादी र एमालेलाई ‘बेवकुफ’ बनाएरै छाडे, अहिले ज्ञानेन्द्र शाह, राप्रपा र राजतन्त्रवादीलाई पनि निर्वस्त्र पारेका छन् । दुर्गा समूह भनिए पनि त्यसको ‘कमिसारिएट’ निर्मल निवासले चलाएको थियो, जसले प्रसाईँलाई ‘जनकमान्डर’को उपमा दियो । लामो समयको राजतन्त्रवादी अभियान एउटै उद्दण्डताले ध्वस्त पारिदियो । कमान्डरको चयनले नै युद्धको चरित्र र परिणाम निर्धारण गर्छ र हरेक पात्रसँग उसको विगत पनि सँगसँगै यात्रा गर्छ भन्ने कुरा राजावादीहरूलाई थाहा रहेनछ । शक्ति लालसाले  कुन व्यक्ति र कस्तो हतियार प्रयोग गर्ने भन्ने सामान्य कुरो पनि बुझ्न सकेनन् ज्ञानेन्द्र शाहले ।

     नेपाली राजनीति तीनकुनेमा विभाजित छ । हरेक समाजमा यथास्थितिवादी, पश्चगमनकारी र प्रगतिवादी—तीन धार, चिन्तन र अभ्यास हुन्छन्। यी त्रिकोणीय शक्तिको सन्तुलनमा समाजको गति निर्भर हुन्छ । हाम्रो समाज अघि बढिरहेको छ, तर चिन्तन र दर्शनले त्यसलाई पछ्याउन भने सकेन । पार्टीहरूमा सत्तामुखी सोच हाबी हुँदा राजनीति समाजीकरण र सँस्कृतिकरण हुन नसकेको परिणाम ‘तीनकुने घटना’ बनेर देखियो ।

     तीनकुने घटनाले नेपाली राजनीति मात्र होइन, सामाजिक मनोविज्ञानको चित्र, चरित्र र चिन्तनलाई पनि छरपस्ट पारिदियो । यसको ‘बिटविन द लाइन्स’ नियाल्नुपर्छ—कारण र परिणामको विवेचना बिना निष्कर्षमा पुग्न सकिँदैन । दुर्गा प्रसाईँ पात्र मात्र होइनन्, एउटा प्रवृत्तिको प्रतिनिधि हुन् । ‘शिवपुराण’को भस्मासुर कथाबाट कसैले सिकेनन् । तीनकुनेले संसदीय शक्तिहरूलाई आफ्ना कमजोरी र भ्रष्टाचार ढाक्ने मौका भने दियो । सरकारले पछिल्ला निर्णय गर्दा पनि सिकेन । संविधान पक्षधरको पनि सर्वपक्षीय एकै स्वर बनाउन सकेन ।

     तीनकुने आन्दोलन थिएन—आन्दोलनको आवरणमा गरिएको षड्यन्त्र अभ्यास  थियो । आपराधिक गतिविधि, जलेका घर, लुटिएका स्टोर, जलाइएका औषधि कम्पनी र सहभागीहरूको अवस्थाले षड्यन्त्रको नियत प्रस्ट्याउँछ । भिडले बनाएका निशाना झनै चिन्ताजनक छन्। । रैतीहरूका लक्षदार भक्ति गान त सामाजिक सञ्जालमा देखिँदै आएका हुन् । सबैभन्दा दुःखद पक्ष—नागरिकहरू रैती बन्न मरिहत्ते गरेको भयावह दृश्य तीनकुने वरपर देखियो ।

     नेतृत्वमा साहस, खुलापन र धैर्य चाहिन्छ । सचेत मान्छे नेतृत्व नियालेर जुलुस बन्छन्—जुलुस र भिड फरक हुन्छ । अनुशासनहीन नेतृत्वले आन्दोलन बन्दैन, भिड नियन्त्रित रहँदैन । सफल आन्दोलनका लागि नैतिक नेतृत्व, स्पष्ट लक्ष्य र जनसमर्थन चाहिन्छ । राजनीतिक आन्दोलन भएको भए जुलुस बन्ने थियो, तर यो अराजक समूहको आव्हान र पर्दापछाडिको योजनाबद्ध षडयन्त्र सिद्धान्तको अभ्यास ‘ताण्डव’ बन्यो । दुःखद कुरा, यस्तो अराजकता र पश्चगमनलाई सामाजिक सञ्जाल र मिडियामा सौन्दर्यीकरण गर्ने प्रवृत्ति पनि देखा परे ।

     बोल्न जिब्रो भए पनि के बोल्ने भनेर सोच्न दिमाग चाहिन्छ । लोकतन्त्रलाई जुत्ताको तलुवा बनाउनेहरू घृणास्पद छन् । विकल्प खोज्दै भिडमा होमिएका राप्रपा र दुर्गा समूहबीचको द्वन्द्व अब स्पष्ट देखा पर्दै छन् । कतिपयले त आफूलाई अलग्याई पनि सके ।  भिडको मूल समस्या भनेकै विचार शून्यता नै हो । तर राजतन्त्रवादीलाई कानुनी डन्डा चलाएर आफ्ना कुकृत्य लुकाउने र निरन्तरता दिने सत्ताले सोच्यो भने त्यो ‘सुसुको न्यानो’ हो ।

तीनकुनेका अनुपस्थित अगुवाहरू

     राजावादीहरूको नाममा आन्दोलन भयो, तर जसका लागि आन्दोलन गरियो—उनीहरू नै अनुपस्थित रहे । न ज्ञानेन्द्र शाह, न पारस, न हिमानी । सत्तामा फर्काउने नारा बोकेर भिड उर्लियो—मान्छे मरे, लुटपाट भयो, औषधी कम्पनी जलाइयो—तर जसका लागि भनियो, उनको छायासम्म देखिएन । राप्रपाका राजेन्द्र लिङ्देन र कमल थापा पनि तीनकुनेमा देखा परेनन् । उनीहरू घटनाबाट टाढै रहन रुचाए—जिम्मेवारीको डर वा असफलताको जोखिमले होला ।

     अझ रोचक कुरा, अराजक आन्दोलनको पूर्वसन्ध्यामा रवीन्द्र मिश्र र दुर्गा प्रसाईं ज्ञानेन्द्र शाहलाई भेट्न गए । यो सामान्य शिष्टाचार थिएन—रणनीतिक ‘प्लानिङ सेसन’ थियो । प्रश्न उठ्छ ः ज्ञानेन्द्र शाहलाई तीनकुने काण्डबाट कसरी अछुतो राख्न मिल्छ ? यदि दुर्गा प्रसाईँ, धवल शमशेर, रवीन्द्र मिश्र, नवराज सुवेदीलाई जिम्मेवार ठानिन्छ भने उनीहरूका राजनीतिक प्रेरक ज्ञानेन्द्र पनि उत्तिकै जिम्मेवार छन् । तर त्यत्रो घटनामा पनि निर्मल निवास मौन भयो, जिम्मेवारीको त कुरै छोडौँ, एउटा वक्तव्य पनि आएन ।

ज्ञानेन्द्र शाहको अतृप्त सत्ता भोक

     हामी पूजा र भजनले देउता पुज्ने समाजमा छौँ । मान्छेले आफ्नो असली चेहरा लामो समय लुकाउन सक्दैन । ज्ञानेन्द्र शाहको सत्ताको अतृप्त भोक अहिले फेरी जागृत भएको छ। महाकुम्भको भिड देखेर उनले आफूलाई हिन्दु सम्राट्को कल्पना गर्न थाले । चाकडीशास्त्रले हुर्केको दरबारी संस्कारले चाकर छान्न सक्छ, तर युगीन, योग्य र क्षमतावान् सहयोगी छान्न सक्दैन—जस्तो विगतमा डा. तुलसी गिरी र अहिले वयोवृद्ध पञ्च नवराज सुवेदी र दुर्गा प्रसाईँ छानिए । अदूरदर्शिताले मान्छे आफैलाई केन्द्र ठान्छ, आफ्नो अस्तित्व विशाल देख्छ । सिंहलाई बुढै भए पनि सिकारको झझल्को भइरहन्छ । सिकार गर्न नसके झिँगाको पनि काम चल्छ । रैती र कमैया बन्न चाहनेहरूको भिड पछि लागेर जयजयकार गरेको देखिसकेपछि दुई पटक काकतालीले राजा बनेका ज्ञानेन्द्रलाई फेरि राजा बन्ने रहर जाग्यो । सपनाको ह्याङओभरले बिपनामा पनि श्रीपेचको भ्रम बौरियो ।

कुरा राजतन्त्रका

     राजतन्त्र, लोकतन्त्र वा गणतन्त्र कुनै व्यक्ति वा संगठन मात्र होइन– सोच, दृष्टिकोण र जीवन अभ्यास हो । चिन्तनको पक्षधरता हो। हाम्रो पुस्ता ‘बहुदलीय व्यवस्था खराब हो’ भन्ने पञ्चायती पाठ पढेर हुर्किएको हो । संघर्षको इतिहास बिर्सँदा इतिहास दोहोरिन्छ । अहिले त्यही भइरहेको छ । प्रश्न उठ्छ– राजसंस्था फर्किँदा बेरोजगारी, गरिबी हट्छ ? शिक्षा र स्वास्थ्य सुविधा सबैले पाउँछन् ? भ्रष्टाचार, कुशासन र सामाजिक विभेद अन्त्य हुन्छ ? ग्यारेन्टी के छ ? नेपालमा धेरै वंशले राज गरे । अहिले कस्तो र को राजा भन्ने प्रश्न पनि छ । ज्ञानेन्द्र शाहको विगत पनि उनको जीवनसँगै यात्रा गर्छ ।

     स्वेच्छाले उनले गद्दी त्यागेको भनिन्छ। तर इतिहासमा बुद्ध, चन्द्रगुप्त मौर्य र अशोकले मात्र स्वेच्छाले गद्दी छोडे । चन्द्रगुप्त मौर्य (ई.पू. ३२१–२९७) ले नन्द वंश पराजित गरी विशाल साम्राज्य बनाए र अन्त्यमा जैन सन्यासी बने । जापानका सम्राट् आकिहितोले सन् २०१९ मा उमेर र स्वास्थ्यका कारण छोरा नारुहितोलाई गद्दी सुम्पे ।

     संसारकै राजतन्त्रवादी र अभिजातहरू अचम्मका हुन्छन् । विशेषाधिकार, वैभव र श्रेष्ठताको भ्रमले सताइरहेको हुन्छ । धर्म र राजाबाट मुक्त गर्ने संसारकै पहिलो क्रान्ति फ्रान्सेली (१७८९–१७९९) हो । तर, अहिले पनि ससाना समूहहरूले वर्षमा दुई पटक राजतन्त्रको पक्षमा त्यहाँ पनि जुलुस निकाल्छन्।्  मूलधारको राजनीतिमा यस्ता समूहको कुनै  प्रभाव नभए पनि  सांस्कृतिक, ऐतिहासिक वा परम्परावादी दृष्टिकोणको वकालत गर्छन् यिनीहरू ।

     ‘एक्सन फ्रान्से’जस्ता संगठनले २०औं शताब्दीमा राजतन्त्र ब्युँताउन खोजे, तर अहिले सीमित सांस्कृतिक गतिविधिमा खुम्चिए । ओर्लियन र बुर्बन वंशका समर्थकहरू संवैधानिक राजतन्त्रको बहस गर्छन्, जँ द ओर्लियाँ र लुई अल्फोन्स द बुर्बनलाई प्रतिकात्मक रूपमा समर्थन गर्छन्—तर उनीहरूसँग राजनीतिक शक्ति भने छैन । फ्रान्सेली क्रान्तिको वार्षिकीको विरोध गर्दै राजा लुई सोह्रौँको मृत्युदण्ड (जनवरी २१, १७९३) लाई ‘शहीद दिवस’ मानेर अझै साना सभा गर्छन् उनीहरू ।

गणतन्त्रवादीले दिनु पर्ने जवाफ

     इतिहासको यात्रा अग्रदिशा हो, पश्चगमन हुनै सक्दैन । ०६२र६३ को आन्दोलनले राजनीतिमा क्रमभंगता ल्यायो, तर राजनीतिक संस्कृतिले फड्को मार्न भने सकेन। राजनीतिको सामाजिकीकरण र संस्कृतिकरण नहुँदा मानवीय व्यवहार र चिन्तनमा सामन्तवाद नै हाबी भयो। राजनीतिक व्यवहार फेर्ने सोच, केन्द्रमा रहेन ।

     आन्दोलनको राप र ताप समयसँगै फेरिन्छ । समयको पनि उमेर हुन्छ, निश्चित अवधिपछि ऊर्जा सकिन्छ। राजतन्त्रवादीहरू त्यसै उत्साहित भएका होइनन्। परिवर्तनका पक्षधरहरू आफ्नो व्यवहारले नायकबाट खलनायक बन्दै गएपछि सर्वसाधारणले व्यक्तिको पतन मात्र होइन, समग्र व्यवस्थाप्रति असन्तोष देख्न थाले । नेतृत्वले आदर्श धान्न नसक्दा विश्वासको शून्यता पैदा भयो, जसको खाली ठाउँमा प्रतिगमनकारी तत्वहरू सक्रिय भए ।

     सत्ताको खेल कहिल्यै सकिँदैन । दासत्वविरुद्ध लड्नेहरू आज पार्टीभित्र चाकरीमा किन रमाए ? भ्रष्टाचारविरुद्ध होमिनेहरू नै भ्रष्टाचारी र संरक्षक कसरी बने ? शक्तिले दोष पखाल्छ भनिन्छ, तर अब भ्रष्टतालाई ढाक्न अरूलाई पनि भ्रष्ट बनाउने प्रवृत्ति मौलायो, यहीँबाट भ्रष्ट सिन्डिकेट बन्छ । ललिता निवास र भुटानी शरणार्थी प्रकरण त्यसको उदाहरण मात्र हो । बालकृष्ण खाँड र सप्तरीका कोइरी सांसद पक्ष र प्रतिपक्ष  एमाले र कांग्रेसले साटासाटको खेल खेले । सन्देश स्पष्ट छ—‘पार्टीमा लागेपछि जस्तोसुकै अपराध गर्न छुट छ ।’

     राजनीति अब महाउद्योग बनिसक्यो । कर्पोरेट र राजनीतिको ककटेल ठूला उद्योगको बिजुली, भ्याट मुद्दाबाट सुरु भएर एनसेल, सुन र गिरीबन्धु चिया बगानसम्म फैलियो। सत्ता, प्रतिपक्ष, मिडिया र नागरिक समाजबीच अदृश्य सिन्डिकेट बन्दै गए । ठूलो घटना भएपछि पुराना मुद्दा तपसिलमा झर्छन्—अचम्म मान्नुपर्दैन । समाज किन यति मुर्दा भयो ? गम्भीर प्रश्न  उठेनन् । सडक खाली भएपछि पश्चगमनले कब्जा त गर्छ नै ।

     भ्रष्टाचार केवल आर्थिक विषय मात्र होइन—यसले समाजलाई आदर्शहीनतामा धकेल्छ । सुविधाका तर्क गढिन्छन्, नैतिकता खुकुलो बन्छ, भ्रष्ट आचरणलाई पौरख ठानिन्छ । सिद्धान्त र आदर्श असमर्थताको गुनासोझैँ बुझिन्छ । तर नायकलाई भ्रष्ट हुने छुट हुँदैन । सामान्य नागरिक भ्रष्ट भए समाज चल्छ, तर नायकको पतन समयको सामाजिक दुर्घटना हो । नेतृत्वले विश्वास गुमाउँदा ठूलो त्रासदी हुन्छ ।

     नेताहरूको निजी जीवन हुन्छ, तर उनीहरू सामान्य नागरिकझैँ बाँच्ने सुविधा राख्दैनन् । उनीहरू ‘जोगी’ होइनन् , तर पारिवारिक दायरामा सीमित हुने छुट पनि हुँदैन । नेता बन्न सपना होइन, धेरैको सपना बोक्ने शक्ति चाहिन्छ । इच्छा र वासना गाडेर युगलाई आशा दिने साहस चाहिन्छ ।

     राजनीति सबैको केन्द्र हो । चालक नेतृत्व र पार्टीहरू हुन्। भ्रष्टाचार एक्कासि पैदा हुँदैन । सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा बदलिँदा मूल्य, आदर्श र मान्यता भत्किन्छन् । विश्वासको दुर्घटना हुन्छ । नायकलाई अहंकारले घेर्दा सत्य सुन्ने क्षमता गुम्छ ।

     भिडले सोच्दैन । अगुवाले जे छैन, त्यो बोल्छ, जे छ त्यो लुकाउँछ—भिडले पत्याउँछ । पहिले परिवर्तन र आदर्शका लागि मूल्य तिर्न सक्ने समाज थियो । अब आदर्श स्यालको सिङजस्तो भयो, शिला खोज्नु पर्ने भयो ।

     हामी आदर्शहीन र कुण्ठाग्रस्त नेतृत्वको शासनमा बाँधिएका छौं । कस्तो देश र भविष्य सुम्पेर बिदा हुन्छौं? अन्याय र अपराध चारैतिर छ, तर मान्छे चुप छन् । प्रश्न र जिज्ञासा रित्तिए। जनमत निराश छ । निराशा फैलाउनेहरू सक्रिय छन् । भ्रष्टाचार, कुशासन र दण्डहीनता सामान्य बन्दैछ । आजका भ्रष्टहरू हिजो आदर्शको गीत गाउँथे—अहिले ठहर्छ–अवसर नपाएर मात्र तिनले आदर्शका गीत गाएका रहेछन् ।

     संगठनहरू सत्ता प्राप्तिका लागि लालायित हुन स्वाभाविकै हो । तर सिद्धान्तले जालझेल नगर भन्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्