IMG-LOGO

संविधान किन संशोधन गर्ने ?

 मंगल, पौष २३, २०८१  – किशोर नेपाल

       अहिले अन्तराष्ट्रिय सम्बत सन् दुईहजार पच्चीसमा प्रवेश ग¥यो संसार । हाम्रो आफ्नै राष्ट्रिय सम्बत दुईहजार बयासी आउन तीन महिना र केही चानचुन दिनहरु बाँकी छन् । अघिल्ला वर्ष अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन भयो । नेपालको बौध्दिक समाजले राष्ट्रपति कार्टरले नेपालमा हिंसात्मक द्वन्दको अन्त्य र शान्ति स्थापनाको प्रारम्भका लागि पु¥याउनु भएको योगदान सम्झिए । विश्वमा शान्ति स्थापनाका लागि कार्टरले स्थापनागर्नु भएको कार्टर फाउण्डेशनले नेपालमा शान्ति स्थापना र द्वन्द व्यवस्थापनका लागि यो मामिलामा ‘दक्ष’ कतिपय नेपालीको जीवन ‘सुखमय’ बनाई दियो । नेपालको बौद्धिक समाजमा द्वन्द र शान्ति ‘कमोडिटी’ का रुपमा स्थापित भए ।

       शान्ति–प्रक्रियाको टुंगो अठार वर्ष अघि, दुईहजार बयसट्ठी सालमा नै, लागि सकेको थियो । ‘जनयुद्ध’ का नाममा बहु–प्रचारित र बहु–प्रशंशित हिंसात्मक द्वन्दको प्रभावबाट देश अहिलेसम्म मुक्तहुन सकेको छैन । जनयुद्धका नायक मानिनुहुने ‘प्रचण्ड’ पुष्पकमल दाहालको रुपमा तीनपटक प्रधानमन्त्री भै सक्नु भयो । पहिलो कार्यकालमा उहाँले पशुपतिनाथका ‘परम्परागत’ पुजारी हटाएर नेपाली पुजारी भर्नागर्ने ‘साहस’ गर्नुभयो । नेपाली समाजले उहाँको त्यो कदम रुचाएन । पछि, उहाँ आफ्नै नेतृत्वमा बनेको प्रचण्ड पथ छाडेर ‘पाखण्ड’ पथमा लाग्नु भयो । सुनसरीको चतरा तीर्थमा ‘भैंसी पूजन’ बाट शुरु भएको उहाँको यो यात्रा भारतको औपचारिक भ्रमणका बेला उज्जैनमा महाकालेश्वरको ‘राजकीय दर्शन’ पछि अन्यत्र कुनै इश्वरको दर्शनमा अलमलिएको–नअलमलिएको थाहा छैन ।

       यी त सबैले जानेका, सुनेका र बुझेका कुरा भए । झण्डै बीस वर्षको यो अवधिमा देशले एउटा गणतान्त्रिक संविधान पायो । गणतान्त्रिक संविधानलाई प्रचण्डले मात्र होइन, शेरबहादुर देउवाले समेत बिना कुनै हिचकिचाहट आत्मसात गरे । गोरुगाडा चढेर अमेरिका पुगिदैन भन्ने केपी ओली समेत रमाए । संविधान सभादेखि संघीय संसद र प्रदेश तथा स्थानीय पालिकाका चुनाव भए । यी चुनावले देशको राजनीतिप्रति जनतामा आकर्षण नबढाएका होेइनन । देशलाई विकासको बाटोमा अघि बढाउने अभिभारा बोक्न सिके राउत आएका थिए । हालै एउटा टेलिभिजन अन्तर्वार्तामा उनी भन्दै थिए, ओलीले रविलाई सिध्याए । अब मलाइ सिध्याउँछन....!

       यही एउटा वाक्यले उनको राजनीतिक हैसियत देखायो ।

       हो नि, राउत आए, रवि आए, बालेन आए, साम्पाङ् आए, हमाल आए । सबै राजनीतिको मूल सडकमा आए । मूल सडकको आकर्षण बढ्यो । ध्वजा–पताका टांगिए । तर, सबैको नियति चारदिनकी चाँदनीमा नै टक्क रोकियो ।

       त्यसपछि खासै केही भएन ।

       पछिल्लो पटक, एमालेको सहयोगमा प्रचण्ड नेतृत्वको सरकार बनेपछि वामपन्थीको सरकार बनेकोमा खुशीहुने धेरै थिए । तर, देशका दुई महान कम्युनिष्ट पार्टी माओवादी र एमालेलाई जोड्ने टाँका बीचैमा खुस्कियो । प्रचण्ड नेतृत्वको सरकारको पाराले आफूले चाहेजस्तो काम नहुने देखेपछि ओली छटपटाउनु स्वाभाविक थियो । कांग्रेसलाई प्रचण्ड आफैले बिच्क्याउनु भएको थियो । तै पनि, देउवा प्रचण्डको नेतृत्वको सरकार बिथोल्ने मूडमा हुनुहुन्न्थ्यो । तर, प्रचण्ड सरकारका गृहमन्त्रीले श्रीमती आरजु देउवा सहित कांग्रेसका केही सांसदलाई गिरफ्तार नगरी नछाड्ने हल्ला बाहिर आएपछि उहाँ श्रीमती सहित बालकोट पुग्नुभयो । देशको अवस्थामा सुधार ल्याउन संविधान संशोधनगर्ने सहमति भयो देउवा र ओलीका बीचमा । यही क्रममा सरकारको नेतृत्वबाट प्रचण्ड बाहिरिनु भयो । प्रधानमन्त्रीका रुपमा ओली सरकारमा भित्रिनु भयो ।

       एमाले–कांग्रेसको संयुक्त सरकार अहिलेसम्म त सुमधुर चलेकै देखिन्छ । त्यसमा कुनै द्विविधा रहेन । तर, द्विविधा यसमा छ कि एमाले र कांग्रेसले संविधान संशोधनको जुन कुरा चलाएका छन, अन्तर्यमा त्यो के हो ? वर्तमान संविधानको पर्याप्त परीक्षण र प्रयोग नै नभएको अहिलेको अवस्थामा एमाले र कांग्रेसले संविधानमा कस्तो संशोधन खोजेका हुन् ? यो कुरालाई दुबै पार्टीले गोपनीय राखेका छन् । यसबारे कसैले अन्दाजगर्न सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा कि त बोल्दै बोल्नुहुन्न कि कम बोल्नु हुन्छ । प्रधानमन्त्री ओली यति धेरै बोल्नुहुन्छ कि उहाँको भाषामा एकरुपता हुँदैन र त्यो कसैले बुझ्दैन ।

       संघीय गणतन्त्र नेपालको संविधान लेखिएको एक दशक नवित्दैे बाक्लो राजनीतिक अन्योल छाउन थालेको छ देशमा । अहिलेसम्म केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका बीच तादम्य मिल्न सकेको छैन । विकास–निर्माणका काम जताततै असरल्ल छन । सहकारीमा लागेका र नलागेका नेता गण र कर्मचारी तन्त्र, सबैको जिब्रोमा जनताको रगतको स्वाद गढी सकेकोछ ।

       केन्द्रीय तहमा सहकारीका ऋण खाएका सबै दलका नेताहरुको पक्ष–विपक्षमा राजनीतिक परिवेश रंगमंगिएको छ । भ्रष्टाचार ठूलो मुद्दा बनेको छ । तर, आर्थिक अपचलनका घटनाहरुमा शहर र गाउँको मत बाझिएको छ । शहरतिर सामन्ती धाक देखाएर पुराना शासकहरुको जयगान गाउने कमाराहरुको तुजुक देखिन्छ । सहकारी लुटेराका सहयोगीहरु ‘झिल्केहरुले देश बनाउँछन्’ भन्ने एउटा भाष्य तयारगर्न खोज्दैछन् । गरीब जनताको स–सानो वचत लुटेर राजनीतिमा लागेकाहरुको प्रतिरक्षामा मोजमज्जाको राजनीति गर्दै आएका व्यक्तिहरु हावी भएका छन् ।

       संविधानमा के संशोधनगर्ने ? किन संशोधनगर्ने ??

       प्रयोगमा आउनै नपाएको अथवा प्रयोगमा ल्याउनै नखोजिएको संविधान संशोधनको आधार बिन्दू के हो त प्रचण्डजी, ओलीजी र देउवाजी ?

       तपाईहरुलाई थाहै छ – अहिले त गणतन्त्र नेपालको संविधानको रक्षा र पालना एकजना सम्मानित व्यक्तित्व राष्ट्रपति रामचन्द्र पौडेलले मात्रै गर्नु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्