IMG-LOGO

मार्क्सलाई किन पढ्ने ?

 मंगल, बैशाख २६, २०८०  – केदार सिटौला

       मार्क्सको नाम आउने बित्तिकै सामान्य मानिसहरुमा एउटा प्रश्न उठ्ने गर्छ अब माक्र्सलाई पढेर के फाइदा हुन्छ ? के उनको बिचारले २१ औ शताब्दीका समस्याहरुलाई समाधान गर्न सक्छ ? हुनपनि हो एक जना १९ औ शताब्दीका दार्सनिक र चिन्तकका बिचारहरु अहिले २१ औ शताब्दीमा पढ्नुको के अर्थ होला ? माक्र्सको समय र अहिलेको समयमा बिज्ञान र प्रविधिको क्षेत्रमा आकाश–पातालको परिवर्तन भैसकेको छ । माक्र्स पहिलो दोश्रो औधोगिक क्रान्तिको समयमा मानिस थिए । उनको समयमा रेल, टेलिग्राफ जस्ता प्रविधिहरु युगान्तकारी मानिन्थे भने अहिले हामि चौथो औधोगिक क्रान्तिको संघारमा छौ। जहाँ एआई, फाइभ जी र न्यानो टेक्नोलोजीको प्रमुख भूमिका हुनेछ। यस्तो फरक हुँदाहुदै पनि १९ औ शताब्दीमा व्यक्ति कार्ल मार्क्सको सान्दर्भिकता अझै पनि पुरानो भएको छैन। उनको बिचारले अझै पनि हाम्रो समयलाई मार्ग निर्देशन गर्न सक्छ ।

       माक्र्सवादको उत्पति औधोगिक पुँजीवादी समाजको समस्याहरु संग जोडिएको छ । अब संसार बदलिसकेको छ ।  त्यसैले अब उत्तर पुजिवादी औधोगिक संसारमा माक्र्सवादको प्रासंगिकता समाप्त भएको छ भनेर आलोचना गरिन्छ । यो प्रश्नको जवाफ बेलायती लेखक टेरी ईगलटर्नले राम्रो संग दिएका छन् । यदि माक्र्सवादको प्रासंगिकता समाप्त हुन्छ भने माक्र्सवादी जतिको खुसि कोहि पनि हुनेवाला छैनन् । किनकि माक्र्सवादको अस्तित्व तब सम्म रहनेछ जव सम्म उसको बिरोधी पुँजीवाद रहनेवाला छ । आज पुँजीवाद समाप्त हुनुको साटो झन् आक्रामक बनेर आएको छ। मार्क्सले पहिले नै अनुमान गरेका थिए कि पुँजीवाद अत्यन्त परिवर्तनशील छ । माक्र्सवादले नै यसको अलग अलग स्वरुपलाई पहिचान गरेका थिए । जस्तै व्यापारी, कृषिप्रधान, औधोगिक आद । सन् ७० र ८० को दशकमा पुँजीवादले आफ्नो स्वरुप बदलेर परम्पतागत औदोगिक उत्पादनको साटो सेवा क्षेत्र, सूचना र प्रविधि र उपभोक्तावाद अगाडी आयो । यो संगै पुँजीवाद संग अत्यन्त आक्रमकता बढेर आएको छ । त्यस संगै माक्र्सवादीहरुमा निरासवादिता बढेको छ । माक्र्सवादीहरुमा पुँजीवादको अन्त्य गर्न नसक्ने हिम्मत हराउदै गरेको छ। माक्र्सवादको अप्रसंगिकताको सकिएको तर्कको मूल चुरो यहि हो  ।

       अब एउटा प्रश्न फेरी उठ्छ कि माक्र्सलाई पढ्दा के फाइदा हुन्छ ? यसको जवाफ प्रख्यात अमेरिकी इतिहासकार हार्वर्ड जिनले दिएका छन् । हार्वर्ड जिन भन्छन– माक्र्सका पुंजी लगायतका पुस्तकहरु पढ्न जोकोहीलाई पनि कठिन पर्न सक्छ । तर उनको सानो तर प्रख्यात पुस्तक कम्युनिस्ट पार्टीको घोषणापत्रले हामि बाचेको संसारको ऐतिहासिक दृष्टि प्रदान गर्छ । यसले कसरी समाजहरु एउटा स्वरुप बाट अर्को स्वरुपमा परिवर्तन हुदै आए भनेर देखाउछ । सामाजिक प्रणालीहरु आदिम साम्यवादी समाज देखि सामन्तवाद हुदै पुँजीवाद सम्म कसरि बिकाश भए भनेर यो पुस्तक देखाउछ । पुँजीवाद पनि यहा अनन्तकाल देखि अस्तित्वमा थिएन । यो अस्तित्वमा आएको केहि सय बर्ष मात्र भयो। पुँजीवाद जन्म हुनुको मुख्य कारण सामन्तवादले प्रविधिको बिकाशलाई आत्मशात गर्न नसक्दा भएको हो । बाणिज्यवाद, औधोगीकरण र नयाँ प्रविधिलाई आत्मसाथ गर्न नसक्दा सामन्तवादको पतन भयो । जवकि पुँजीवादी समाजले यी कुराहरुलाई आत्मसाथ गर्न सक्दा आफुलाई झन् बलशाली बनाउदै लग्यो ।

       माक्र्सले पुँजीवादको अर्को एउटा विशेषता उजागर गरेका छन् । पुँजीवादी समाजले अर्थतन्त्रलाई प्रभावकारी ढंगले बिकसित बनाउछ र बस्तुहरुको उत्पादनमा ज्यामितीय रुपमा बिस्तार गर्छ । तर उसले यो बिशाल उत्पादनको प्रतिफल स्वरुप प्राप्त परिणामलाई समतामुलक ढंगले वितरण गर्न सक्दैन । जसको फलस्वरूप समाजमा एउटा सानो धनि वर्ग र बहुसंख्यक गरिब बर्ग उत्पन्न हुन्छ । माक्र्सले १९ औ शताब्दीमा पुँजीवाद बारे गरेको बिश्लेषण अहिले झन् सहि साबित भएको छ । अक्सफामले गत वर्ष जारि गरेको रिपोर्ट अनुसार यति बेला बिश्वका १% मानिसको हातमा बाकि ९९% मानिसको भन्दा दोब्बर बढी सम्पति थुप्रिएको छ ।

       त्यस्तै माक्र्सको अर्को महत्वपुर्ण देन भनेको वर्गहरुको विश्लेषण हो। माक्र्सका अनुसार कुनै पनि राजनीतिक वा संस्कृतिक द्वन्दको सतह भन्दा गहिरिएर भित्र हेर्न हो भने त्यस मुनि वर्ग संघर्ष हुने गर्छ । कुनै पनि परिस्थितिमा एउटा प्रश्न सोध्नु जरुरि हुन्छ कि यसले कसलाई फाइदा पुराइरहेको छ ? कुन बर्गलाई यसले फाइदा पुर्याउछ ? यदि चुनाबमा कुनै पार्टीहरु उठेका छन् भने ति मध्ये कुनै एउटा पार्टी छान्नु पर्र्यो भने यो पार्टीले कुन वर्गको प्रतिनिधित्व गर्छ भनेर सोध्नु पर्ने हुन्छ । संसदमा कुनै कर सम्बन्धि कानुन पेश भयो भने त्यो कानुनले कुन बर्गलाई फाइदा पुर्याउछ भनेर प्रश्न सोध्नु पर्ने हुन्छ ।

       माक्र्सवाद बारे परिचय दिदै लेनिनले १९१३ मा एउटा प्रख्यात लेख लेखेका थिए । लेनिनका अनुसार माक्र्सवादका तिन श्रोतहरु हुन् जर्मन दर्शन शास्त्र, बेलायती राजनीतिक अर्थशास्त्र र फ्रेन्च काल्पनिक समाजवाद। यी तिन विचारका श्रोतले माक्र्सलाई अत्याधिक प्रवावित गरेका थिए । अमेरिकी जीव बैज्ञानिक रिचार्ड लेबिन्सका अनुसार अब यो युगमा माक्र्सवादलाई थप सम्बृद्ध गर्नको लागि अरु चार श्रोतहरु महत्वपुर्ण हुने बताएका छन्। ती श्रोतहरु हुन् – पर्यावरण, नारीवाद, रास्ट्रीय संघर्ष, शान्तिवाद। माक्र्सवादलाई अबको युगमा जिवन्त बनाउने हो भने यी चार क्षेत्रमा आफुलाई माक्र्सवादी भन्नेहरुले अध्ययन, मनन र चिन्तन गर्न जरुरि छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्