IMG-LOGO

रवि–स्वर्णिमको उदयले दिएको संकेत र सन्देह

 मंगल, बैशाख १९, २०८०  – नरेन्द्रजंग पिटर

          बारा, चितवन र तनहुँमा १० वैशाखमा भएको उपचुनावको मतपरिणाम आइसकेको छ । यो चुनावपछि पुराना बहस खारेज भएर नयाँ बहस सुरु भए । जो नयाँ हुन सक्दैन, ती डाइनोसर बन्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहसको केन्द्रमा पुग्यो । के यो वैकल्पिक राष्ट्रिय राजनीतिक शक्ति हो ? वा खहरे ? स्वाभाविक हो वा प्रायोजित ? जहाँसम्म मतदाताको कुरा छ, समयसँगै प्रतिरोधी धारा कहिले सतहमा, कहिले ’अन्डर करेन्ट’ बगिरहेको हुन्छ । पीडा, सपना, आक्रोश र प्रतिरोध व्यक्त गर्ने आ–आफ्नै शैली हुन्छन् ।  सङ्केतले सन्देश दिइरहेको थियो– आदेशले मतदान हुँदैनथ्यो । प्रतिधाराले आवेगको पेट्रोल पाएपछि अझ दन्किन्छ । चुनावमा समर्थकभन्दा विपक्षीप्रतिको घृणा र प्रतिक्रिया भरसिलो समर्थक मत वा भनौँ, विश्वासिलो सहयोगी बन्ने गर्छ । यस अर्थमा उपचुनावमा मतदाता जिताउनभन्दा पनि हराउन सक्रिय भए । शक्ति स्थिर नभई चञ्चल हुन्छ । विकल्पको चाहना मानवीय स्वभाव हो । मधेशमा भने वर्चस्वको लडाइँ उपेन्द्र यादव र सीके राउतको भिडन्त  हो । यादवलाई जसरी भए पनि संसद पुग्नु थियो ।

कुरा सहानुभूतिको

          जुनसुकै घटना र परिवेशलाई वास्तविकता बुझ्न सोही वस्तुको नजिक पुग्नुपर्छ । टाकुरामा उभिएर सतहको कुरा बुझ्न सकिन्न, देख्न सकिन्न । दूर क्षितिजको द्रष्टाले वस्तुको यथार्थ न बुझ्न सक्छ, न त अनुभूत गर्नै । कारण र कार्य नबुझेर परिणाम मात्रै नियाले तितो सत्यनजिक पुग्न सकिँदैन । नाङ्गा आँखाले सतहभित्रका कुरा देखिँदैन, सुनिँदैन, बुझिँदैन । नाटक बुझ्न कलाकारलाई हेरेर मात्रै पुग्दैन, स्क्रिप्ट लेखक र निर्देशकको भूमिका र आशय बुझ्न पनि आवश्यक हुन्छ । रङ्गमञ्चमा कलाकारको भूमिका नियालेर ताली त भिडले मात्रै पड्काउँछ । कुरा त्यति मात्रै हैन, वास्तविकता र नाङ्गो वास्तविकताबीचमा ठूलो अन्तर हुने गर्छ । परिणामलाई हेरेर मात्र घटना र प्रवृत्तिलाई बुझ्न सकिँदैन । अन्तर्निहित कार्य र कारणले नै नियतिलाई निर्धारण गर्छ । रूप हेरेर सारप्रति धारणा बनाउनु सतही होइन्छ ।

          आफ्नो गौरव धान्न नसकेका राजकीय र संवैधानिक संस्थाहरूले राजनीतिक शक्तिप्रति अति आशक्ति र अति भक्ति जाहेर गर्दा नकारात्मक धारणाको जनमत बढ्दै गयो । भ्रष्टतन्त्र राज्यको सिद्धान्तलाई सत्ताले लुकाउन सकेन । व्यवहारमा सर्वाङ्ग थियो । अदालत र वैधानिक आयोगहरू आशङ्काको घेरामा थिए । छोपे पनि सर्वत्र देखिएको भ्रष्टतन्त्र संस्थागत भएको नाङ्गो अवस्था यत्रतत्र–सर्वत्र देखिँदाको परिणामस्वरुप  राज्यप्रति अविश्वास चुलिँदै गयो । जहाँ विश्वास हुँदैन, त्यहाँ विरोध र  प्रतिक्रिया  बढ्छ ।  अवस्था र व्यवस्था धमिलो पोखरी बन्न पुग्छ । धमिलो पानीमा त जसले पनि माछा मार्न सक्छ । उपचुनावसम्म पुग्दा  दल र संस्थाप्रति प्रतिक्रियाको कुशल व्यवस्थापन रास्वपाले ग¥यो । निर्वाचन आयोग र अदालतप्रतिको अविश्वासको प्रतिक्रिया रास्वपाप्रति सहानुभूतिमा फेरियो । विश्वास नै मिडियाको पहिलो सम्पत्ति र धारिलो हतियार बन्ने गर्छ । रविले आक्षेप लगाएका मिडियाहरूका एकोहोरो उनीमाथिको  आक्रमणले  पनि उल्टो असर पा¥यो । ‘मूलधार’का मिडियाप्रति विश्वास खस्कियो । सामाजिक सञ्जालको मायावी जालले परम्परागत मिडियालाई ‘चुनौती र जवाफ’ दियो । सूचना र मनोविज्ञानको सूक्ष्म अध्ययन गर्ने एजेन्सीका सिफारिसका प्रवक्ता मात्रै रास्वपाका नेता थिए । मण्डली र एनजीओको त पूरै समर्थन र भूमिका रह्यो ।

अरु दलले ऐना हेर्लान् ?

          पार्टीहरू अहिले पनि निर्मम समीक्षा नगरी आफ्ना कमजोरीको भारी अरुको ढाडमा बिसाउन चाहिरहेका छन् । इतिहासको सधैँ ब्याज खाइरहन पाइँदैन । हकवाला बन्न सान्दर्भिक पनि रहिरहनुपर्छ । ‘कम्युनिस्ट’का त धेरै प्रतिस्पर्धी ‘कम्युनिस्ट’ नै थिए, अब भने कांग्रेसको पनि बुर्जुवा प्रतिद्वन्द्वी देखियो । जनताले नयाँ खोजेको हुन्छ, तर हरेक नयाँ पुरानाभन्दा पनि खराब देखिएपछिको निराशाको प्रतिक्रिया चुनाव बन्यो । पुराना दलहरू सिद्धान्तहीन र आचरणहीन भएपछि नयाँ दलले दिमागमा घन्टी बजाइदिए । जब पार्टीहरू ट्रेडमार्कमा रहन्छन्, नेताका आदेशपालक मात्रै कार्यकर्ता रहन्छन्, तब रास्वपाहरूले आवेग र प्रतिक्रियाको मैदानमा गोल हान्छन् नै । स्वयम् नेताहरू सिद्धान्त अर्थहीन भएपछि पार्टीलाई राज्य र आफूलाई शासक सोच्न थाल्छन् र पार्टी मुखियाहरूका हुकुमलाई कार्यकर्ता र जनताले शिरोधार्य  गर्छन् भन्ने भ्रममा रहन्छन् । भ्रमको चस्मा लगाएपछि तितो यथार्थ देख्न सकिँदैन । चुनाव मात्रै महँगो भएन, टिकटसमेत महँगो भयो । पार्टीबीच के कारण चरित्र, अभ्यास र भूमिकाले फरक हुन् भन्ने तर्कपूर्ण प्रमाण पार्टी र उम्मेदवारले जनअदालतमा पुष्टि गर्न सकेनन् । धनाढ्य र पूर्वबर्दीधारीले अवसर पाउँदा जैविक कार्यकर्ताको उपहास भयो । समर्थक र मतदाताले अपमानित महसुस गरे ।

          सिद्धान्त र विचार, व्यवहारलाई समयअनुसार सामाजिकीकरण हुन अनिवार्य हुन्छ । आक्रोश दल र नेतामाथि पोखियो । कार्यकर्ताले पार्टी छोडेका नभई दलका ठालुलाई गणतन्त्रवादी चेतको प्रतिक्रिया दिन मतदान गर्ने लाइनमा उभिँदा १० मिनेटका लागि मात्र पार्टी छोडेर रास्वपा बने । फेरि परम्परागत पार्टीमै फर्किए । मित्र र शत्रुको सामाजिक प्रतिष्ठा र उचाइ अवस्था मूल्याङ्कनअनुसार नै जोडेर व्यक्ति वा पार्टीप्रति धारणा बनाइन्छन् । सङ्गत कोसँग छ भनेर जाँचिन्छन् । सङ्कटमा, प्रतिकूल परिस्थितिमा आफ्नो क्षमता कसरी देखाइन्छन् ? फर्मुलाले सफलता तय हुँदैन, कुनै किताबमा तरिका लेखिएका पनि हुँदैनन्, समय नै महान् पथप्रदर्शक बन्छ । प्रतिकूलता र अनुकूलतालाई ज्ञान, बुद्धि, कला, सूचना हिम्मतले परास्त गर्न सकिन्छ । अन्तर्निहित शक्तिलाई प्रयोग गरे, आफ्नै विचार र विश्वासले हाँकिन सकिन्छ ।

जे भयो र हुनेवाला छ

          जीवन र जगत्लाई नियाल्ने आफ्नै मानक हुन्छन् । सत्यबोध र विश्लेषणका निजी चस्मा हुन् । त्यसैले सुन्दर र कुरुपता निर्धारण गर्छ । तर, समयले कसैलार्ई पर्खिरहँदैन । समय र सम्भावनासँग धैर्य रहँदैन । सिद्धान्तमै नअडिएकाहरूका सिद्धान्तका कुरा सुन्न कोही पनि तयार भएनन् । सूचनाको तीव्र पहुँचले कुन मिडियामा भर परेर सोच बनाउने भन्ने पनि रहेन । अस्तव्यस्त जिन्दगी र  जीवनको हरेक क्षेत्रमा भ्रष्टतन्त्रको बिगबिगीले छियाछिया पारेका मतदाता थिए । नाङ्गो व्यवहार देखिसकेका मतदाताहरू पाल्सी कुरा र गम्भीर कुरा सुन्न तयार भएनन् । रास्वपाले  पुरानाका गल्ती समातेर प्रतिक्रियामा भिड उतारेपछि उसलाई नयाँ आशा जगाउने र नयाँ प्रतिबद्धता गर्नै परेन । अब रास्वपामा स्वत्वको टकराहट बढनेछ । क्षमता, स्वच्छ र राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यक्तित्वको रूपमा पत्याइन र जुन शक्तिले वातावरण तयार गरेको थियो, त्यसमा रविभन्दा डा. स्वर्णिम वाग्ले अब्बल रहनेछन् । उनी अमेरिकी परियोजना एमसीसीका व्याख्याता र सौन्दर्यशास्त्री पनि हुन् । लामिछानेले विगतमा आफू नभएपछि अरुलाई सत्तामा रहन पनि दिएनन्, न सरकारको समर्थन नै फिर्ता लिए ।

          संसद अब जीवन्त हुनेछ । शासक र प्रतिपक्ष दललाई जिम्मेवारी र तर्कसहित संसदमा उपस्थित हुन बाध्य पार्नेछ । पार्टी र नेतृत्वलाई सुध्रिने कि सक्किने भन्ने चुनौती थपिएको छ । पार्टीलाई ट्रेडमार्क मात्रै बनाउने छुट अब हुने छैन । नाराका मालिकले बेवास्ता गरे नाराले नयाँ स्वामी खोजिरहन्छन् । गहन निराशा र भ्रान्तिले सिद्धान्तहीन भिड जन्मिएपछि नागरिक भिडमा फेरिन्छन् । रूप, धन र शक्ति मात्रै हैन, क्रेज पनि त्यस्तै चञ्चल हुन्छ । शक्तिको मैमत्तता र घृणाको बिगबिगी वर्चस्वशालीका प्रेरक हुन् । अल्पमतप्रतिको घृणाले बहुसंख्यकवादी सत्तामा पुग्छन् । शक्तिशालीका दास बनेर कमजोर र स्वाभिमानमाथि रजाइँ गर्छन् । नेपाल अहिले प्रयोगशाला र रणभूमि हो । यहाँ एमसीसी र बीआरआईको लडाइँस्थल बन्छ । राजनीतिक र सामाजिक प्रयोगशाला बनिरहेको नेपाल भू–संवेदनशील देश हो । सामाजिक सञ्जालको मायावी जालले अराजनीतिक व्यक्तिलाई पनि सत्तामा पु¥याँउछ । कमेडियन जेलेन्स्कीको उदयको कारण र परिणाममा युक्रेनको अवस्था, जेलेन्स्की मतियार र भूमिका यस संवेदनशील भूगोलका लागि पनि शिक्षा भएकाले नियाल्न आवश्यक छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्