७४ को चुनावमा प्रचण्ड नेतृत्वकै माओवादी केन्द्रले चुनावमा घर घरमा वाईफाई पुर्याउने घोषणा गरेको थियो । जुन उसको चुनावी एजेन्डा बन्यो । माओवादीले खुबै प्रचार पनि गरेको थियो । तर त्यो त्यत्तिकै सेलायो । न माओवादीले घर घरमा वाईफाई दियो । न त त्यही नाराले भनेजस्तो चुनाव जित्यो । केही वर्ष अघि नै नेकपा एमालेले देशलाई लोडसेडिङमुक्त बनाउने घोषणा चुनावी एजेन्डामा लेख्यो । तर एमालेले होइन कि प्रचण्ड प्रधानमन्त्री भएका बेला जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा कुलमान घिसिङलाई विद्युत प्राधिकरणको नेतृत्व दिलाएर माओवादीले नै देशलाई लोडसेडिङमुक्त बनायो । तर एमालेको चुनावी एजेन्डा केवल नारा मात्रै बन्यो ।
कांग्रेसले कम्युनिष्टजस्तो खास नारा दिलाउन नसकेपनि उसका चुनावी मुद्दा पनि खोक्रो राजनीतिक नै छन् । गएको संसदीय चुनावमा एमाले र माओवादी मिलेर राष्ट्रवादलाई हतियार बनाए । जुन चुनावमा मुद्दा थिएन, केवल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको मुहारलाई एक ठाउँमा देखेपछि कार्यकर्ताले एकता बलियो बनाए ।ओली र प्रचण्डको तुलनामा कांग्रेस सभापति शेरबहादुर देउवाको मुहार बलियो देखिएन । जसकारण देउवा स्वतः कमजोर भए । चुनाव हारे ।पार्टीहरुको मुखमा एउटा, व्यवहारमा अर्को भइरहेको छ । त्यो पार्टीमा होस् वा सरकारमा । नेताहरु मुखैपिच्छे आफ्नो व्यक्तिगत स्वार्थ र पैँसाको राजनीति गरिरहेको कुरा कसैबाट लुकेको छैन । आजको तथ्य, कम्तीमा नेताहरुबाट देखिएको यही सत्य हो । भलै आवरण र आँकलन फरक फरक होलान् ।
केवल सत्ताका लागि हानथाप गर्ने नेताहरुको अनुहार जनतालाई दिक्दारी मात्रै छ । उनीहरु नेताबाट आश गर्न सक्ने ठाउँमा पनि छैनन । किनकी आधारभूत आवश्यकता परिपूर्ति गर्नै हम्मेहम्मे परेका बेला जनता भारत, खाडी देश र युरोपदेखि कोरियासम्म हानिन बाध्य छन् । सकेको व्यक्तिले राजनीति गर्दा मुद्दाभन्दा पैँसालाई पहिलो प्राथमिकतामा राखेको देखिन्छ । जसले अकुत पैँसा कमाएर खर्च गर्न सक्छ । उसले चुनाव जित्ने कुरामा नेताहरुको मत नै बलियो बन्दै गएको छ । यस्तो परिदृश्य हावी रहेका बेला आउँदो चुनावमा मुद्दा चल्छ कि नेताहरुको मुहार ? प्रश्न पेचिलो छ । कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी एक ठाउँमा छन् । जसलाई सत्ता गठबन्धनको नाम दिइएको छ । देउवा, प्रचण्ड र माधव नेपाल एक ठाउँमा भएपछि कार्यकर्ता पनि मिलेर चुनाव जित्न सजिलो ठानिरहेका छन् ।
अनि तीन अनुहार एक ठाउँ आउँदा गएको चुनावमा देउवाजस्तै एक्लिएका पात्र हुन्, केपी शर्मा ओली । नेताहरु फकाउने, स्वार्थ देखाउन, प्रधानमन्त्री र मन्त्री पद बाँड्ने अनि आफू सत्तामा रमाउने शीर्ष राजनीतिक पार्टीका नेताहरुको प्रवृत्तिबाट जनता वाक्कदिक्क छन् । अनुहारबाटै वाक्क दिक्क भएका नेताहरुबाट जनताले ठूलो चुनावी एजेन्डाको खास आश नदेखेर यो अवस्था आएको हो । त्यसमाथि संघीयता, समावेशी, स्वतन्त्रता सबै एजेन्डा स्थापित छन् । तर व्यवहारिक बन्न सकेका छैनन् । यस्तोमा भ्रष्टाचारविरुद्ध नारा दिन झनै सुहाउँदैन । नेताहरु सबै भ्रष्ट छन् । त्यसमा पनि सबैभन्दा ठूलो भ्रष्टचारी राजनीतिक दलका नेता कार्यकर्ता नै छन् । जनताले दलहरुका घोषणापत्र केवल खोक्रा नारा हुन् भन्ने बुझेका कारण भरोसा नगरेरै यो अवस्था आएको हो । भरोसा नभएका नेताहरुकै कारण यो चुनावमा नाजका युवाहरुले उठाएको आवाज हो ‘नो नट अगेन’ अभियान ले नै घनटककको दिन आएको हो ।
