बालेन्द्र साहले जिते काठमाडौं महानगरपालिकाको मेयरको चुनाव । आजको दिन उनी जति खुसी को होला र ? उनी पक्कै खुसी होलान् । तर, मेरो विचारमा बालेन्द्र जति खुसी होलान् त्यो भन्दा बढी उनका समर्थकहरु खुसी होलान् । बालेन्द्रका ती समर्थकहरुले उनलाई साँच्चै समर्थन गर्ने र सघाउने हो भने उनले मेयर पदको शपथग्रहण गर्ने बित्तिकै काठमाडौं शहरको फोहोर उठाउन हातमा साबेल र कुचो समातिहाल्नुपर्छ । किनभने, काठमाडौं महानगरपालिकाको मुख्य काम शहरको सफाइ हो । अहिले महानगरपालिकाको रुपमा देखिए पनि मुल रुपले यो सफाइ अड्डा नै हो । जुनसुकै शहरको मेयर चुनिए पनि अधिकार, कर्तव्य र दायित्वका हिसाबले कुरा एउटै हो । यो स्तम्भकारले बालेन्द्रले शहरको मेयरका रुपमा कुची समात्न पर्ने टिप्पणी गर्दा उनका समर्थकहरुले सामाजिक सञ्जालमा मलाई अमानवीय हिसाबको नकारात्मक गाली गरे ।
उनले प्रयोग गरेको झन्डाबारे प्रश्न उठाउँदा उनका अन्ध समर्थक देखिनेले समूहगत आक्रमण गरेकै थिए । समर्थक हुनु र अन्ध समर्थक हुनु फरक कुरा हो । बालेन्द्रको अहिलेको बल काठमाडौं परिवर्तन भएको हेर्न चाहने समर्थक हुन् । खतरा, उनलाई औँला ठड्याए भाँच्नुपर्छ भन्ने अन्ध समर्थक हुन् । सत्तामा पुगेको मानिस र उसका समर्थकहरुले सडकको मानिसलाई गाली गर्नु राम्रो संकेत होइन । यो ध्रुवसत्य कुरा हो । मलाई त्यसको कुनै दुःख छैन । बालेन्द्रका समर्थकहरुले आफूले खाएको मिठो खाजाको उपलब्धि मलाई गाली गरेर हासिल गरे होलान् । मैले उठाएको मेयरको कर्तव्यको कुरा बालेन्द्रले बुझेका होलान् । उनले नबुझे पनि यो शहरमा फरक पर्नेवाला केही छैन । उसै पनि नेपाली जनतालाई नेपालका सरकार र संस्थाहरुको स्वभावका बारे कसैले केही बताइरहनु पर्दैन । जीवनयापनको क्रममा उनीहरुले धेरै इन्द्र देखेकाले बालेन्द्रलाई पनि देख्ने ठानेका छन् ।
बालेन्द्र साहले नेपाली जनताले नेपालको लोकतान्त्रिक आन्दोलनका लौहपुरुष मान्दै आएका स्वर्गीय गणेशमान सिंहकी बुहारी सिर्जना सिंहलाई मात दिए । यो मातको मुख्य कारण बालेन्द्र होइनन् । कांग्रेस सभापतिको पदमा चुनाव लडेर भर्खरै शेरबहादुर देउवाबाट मात खाएका प्रकाशमान सिंह यसको मुख्य कारण हुन् । सिर्जनाको पराजय अन्ततः सिंह परिवारका लागि साँच्चै ठूलो दुर्घटना हो । सभापति पदको चुनावमा हारे पनि जसोतसो कांग्रेसका वरिष्ठ नेताको लहरमा उक्लिन लागेका प्रकाशमानका लागि नराम्रो झट्का हो सिर्जनाको पराजय । हुन त प्रकाशमान सिंह यस्ता कुरा फिल गरिरहने मानिस होइनन् । उनी आफैंले पनि यसअघिको संघीय संसदको चुनाव झण्डै–झण्डै हारिसकेका थिए । पत्रकार रवीन्द्र मिश्रले आफूसँग चुनाव लड्ने कुरा उनले सपनामा पनि चिताएका थिएनन् । सामाजिक स्तरमा रवीन्द्रसँग उनको सम्बन्ध मित्रवत थियो । तर उनले नचिताएको कुरा भयो । रवीन्द्रले प्रकाशलाई उनकै चुनाव क्षेत्रमा झण्डै–झण्डै हराएका थिए ।
काठमाडौं शहरको बाहिरी भाग अर्थात् चक्रपथ बाहिर प्रकाशमान सिंह खासै लोकप्रिय छैनन् । चक्रपथभित्र, शहरको भित्री भागमा पनि उनी लोकप्रिय होइनन् । उनी आफ्ना पिता गणेशमान सिंहजस्तो नेपाली समाजका रोल मोडल हुन पनि सकेनन् । उनले नेपाल विद्यार्थी संघका नेताका रुपमा जे–जे गरे गरे । त्यसपछि पनि काठमाडौंको पार्टी राजनीतिमा उनी खासै सान्दर्भिक नै रहेनन् । अहिले काठमाडौंमा कांग्रेस संगठनको अवस्था उराठलाग्दो देखिएको छ । उनको साथमा एक जना पनि गतिला नेता छैनन् काठमाडौंमा । उनले स्थानीय रुपमा काठमाडौंको टोल–टोलमा घुसेर आक्रामक राजनीति कहिले गरेनन् । उनको राजनीतिमा प्रेम सदभावको भूमिका कहिल्यै देखिएन् ।
काठमाडौंमा एमालेहरुले स्थानीय सामाजिक गुठीहरुमार्फत राजनीति गरे । टोल–टोलमा घुसे । उनीहरु बलिया भए । प्रकाशमानले त्यस्तो काम गर्नु आफ्नो हैसियत गुमाउनु हो भन्ने ठाने । उनलाई लाग्यो, म गणेशमान सिंह र मंगला माँको छोरा । मलाई कसले भोट नदिने? हेरौंला । यो चुनावमा पनि उनको हुँकार पटक–पटक सुनियो । त्यो हुँकारमा सिर्जना सिंहको विजयको पुकार थिएन । मुल कुरा, उनले आफ्नो परिवारको बृहद राजनीतिक आकारलाई ठम्याउनै सकेनन् । उनले आफ्नो सानो र सुखी परिवारलाई नै परिवार ठाने । गणेशमान र मंगला माँको बृहत राजनीतिक परिवारलाई एकताबद्ध राख्ने क्षमता प्रकाश र सिर्जना दुवैमा देखिएन । चाक्सीबारीको सिंह निवासबाट पीएल सिंहको निर्वासन स्वेच्छिक थिएन । यो बाध्यात्मक थियो भन्ने कुरा काठमाडौंका बच्चा–बच्चालाई थाहा छ । पीएलले प्रकाशको राजनीतिलाई सघाउन सक्थे । तर प्रकाशले पीएलको चित्त त दुखाए–दुखाए, सर्वमान्य नेताका अनुयायीहरुको चित्त पनि दुखाए ।
नेपालको राजनीतिमा सबैका सुरक्षा र आशाका केन्द्र भनेर मानिएका गणेशमान सिंह र मंगलादेवीको पुत्रका कारण पीएल सिंहलाई डाँडा कटाउनु प्रकाशमानको मूर्खता थियो । अहिले वृद्धावस्थामा पनि पीएल सिंह काठमाडौं शहरको सामाजिक मियो हुन् भने यसको कारण गणेशमान सिंह र मंगलादेवी सिंहको व्यक्तित्व नै हो । काठमाडौं निवासीहरुसँग पीएलको व्यक्तिगत सम्बन्ध जति बाक्लो र जति सौहार्द्रपूर्ण छ त्यो आफैंमा आश्चर्यजनक छ । अहिलेसम्म शहरका सम्भ्रान्त र दरिद्र दुवै वर्गका मानिसले पीएललाई बिर्सिएका छैनन् ।सर्वमान्य नेता गणेशमान सिंह र महिला नेतृ मंगलादेवी सिंहसँग सर्वसाधारण जनताको दह्रो कनेक्सन थिए पीएल सिंह । अहिले चाक्सीबारीसँग जनताको त्यो कनेक्सन टुटिसकेको छ । त्यसको फाइदा अनेक तत्वहरुले उठाएका छन् । प्रकाशमान सिंह जति गुर्राए पनि, जति गर्जिए पनि उनको बजार भाउ घटेको छ । नेपाली कांग्रेसको काठमाडौं शाखा सबभन्दा गएगुज्रेको अवस्थामा छ । कार्यकर्ताको मूल्यांकनको प्रश्नमा प्रकाशमान सिंह धेरै पछाडि पुगेका छन् । काठमाडौंको राजनीति धमिलिएको छ । प्रकाशमान सिंहको नेतृत्वको गणेशमान सिंह प्रतिष्ठानले गणेशमान सिंहको व्यक्तित्व उजागर गर्ने एउटै कार्यक्रम ल्याउन सकेको छैन । जनतामा लोकतन्त्रप्रति चेतना जगाउने एउटै उल्लेखनीय कार्यक्रम आयोजना गर्न सकेको छैन ।
जिल्लाका पुराना कांग्रेसीहरु सर्वमान्य नेता गणेशमान सिंह र महिला नेतृ मंगलादेवी सिंहको सम्मानका खातिर पनि केही बोल्न चाहँदैनन् । तर नयाँ जमानाका कांग्रेसी युवाहरु चुप लागेर बस्ने मनस्थितिमा देखिँदैनन् । अहिलेको स्थानीय निर्वाचनमा कांग्रेसको मत जति पातलिएको छ, त्यसैले प्रकाशमानको पोल खोलिदिएको छ । काठमाडौंमा राजनीति गर्छु भन्नेले आफ्नो साख जोगाउनु निकै कठिन छ । किनभने, यो ठाउँ सचेत छ । काठमाडौंका मानिसहरुको राजनीतिक प्रशिक्षण पनि त्यही हिसाबले भएको छ । यो ठाउँमा कसैले पनि मतदातालाई टेकेन फर ग्राण्टेड गर्न सक्दैन । मतदाता प्रकाशमान सिंहसँग चिढिएको छ । नचिढिएको भए, शहरको भित्री भागमा, यसका अन्तर–कुन्तरमा बालेन्द्र साहको स्वागत हुने थिएन । बालेन्द्र साहलाई काठमाडौंले जसरी अपनाएको छ त्यसैगरी बालेन्द्र साहले पनि शहरबासीको सम्मान गर्नुपर्छ । उनका उद्दण्ड कार्यकर्ताहरुले सामाजिक सञ्जालको जसरी दुरुपयोग गरेका छन् त्यो सबैको मनमा चसक्क बिझेको छ । बालेन्द्र काठमाडौं शहरको मेयरमा निर्वाचित भएका हुन् । काठमाडौं होस् वा ठूला–साना अरु शहर हुन् सबैको औकात र अवस्था भिन्न छैनन् ।
केही वर्ष अघिसम्म काठमाडौं शहरलाई दरिद्र देशको सम्पन्न शहर भन्ने गरिन्थ्यो । अहिले त्यो अवस्था छैन । देशसँगै देशको राजधानी शहर हरिकंगाल भइसकेको छ । दरबारमार्ग र नयाँ सडकमा अहिले देखिने उज्यालोमा कुनै चमक छैन । शहरमा एकछाक मात्र खाएर बाँच्न बाध्य मानिसहरुको संख्या बढदो छ । शहरी विकासका काम ठप्प छन् । बागमती, बिष्णुमती र रुद्रमतीका करिडरको खासै विकास हुन सकेको छैन । यस्तो अवस्थामा शहरको मेयर चुनिनु भनेको चुनौतीको सामना गर्नु हो । नवनिर्वाचित मेयर साहबले यो पुरानो शहरको प्रतिष्ठा कायम राख्न पक्कै पनि सुझबुझ पु¥याउनु हुनेछ । शहरका बासिन्दाले आफ्ना मेयरलाई आफ्नै घर–दैलोमा स्वागत गर्न चाहेका छन् । यो कुरा मेयर बालेन्द्र साहले पक्कै बुझ्नुभएको हुनुपर्छ ।
