महिला जागरण समूह नालाले पालिकाका प्रमुख राजनैतिक दलहरु र बहु–सरोकारवाला मञ्चका प्रतिनिधिहरु सँग गत मंगलबार छलफल कार्यक्रम सम्पन्न गरेको छ । “स्वस्च्छ, सफा, सवल बनेपा नगर जलवायु परिवर्तन न्यूनिकरण हाम्रो रहर” भन्ने अभिप्रायले आयोजित छलफल कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगर उप–सभापति हरिशरण घिमिरे, नेकपा समाजवादीका बनेपा नगर अध्यक्ष रघुवर चौ प्रधान, जनता समाजवादी पार्टी बनेपा नगर इन्चार्ज पवनराज कर्णजित, नेकपा माओवादी केन्द्रका नरेन्द्र लामा, राष्ट्रिय जनमोर्चाका सुजन ज्ञवली लगायत नेताहरुको उपस्थिति रहेको थियो । आगामी निर्वाचनको समयमा घोषणापत्र सार्वजनिक गर्दा जलवायू परिवर्तन न्यूनिकरणका सवाललाई प्राथमिकताका साथ घोषणापत्रमा समेट्ने सहभागी नेताहरुले प्रतिवद्धता जनाएका छन् ।
बनेपामा रहेका ९ वटा संस्थाहरुका प्रतिनिधि सहभागि छलफल कार्यक्रममा जलवायु परिवर्तन सम्वन्धि विषयमा नगरपालिकाले के कस्ता कदम चाल्न आवश्यक छ , नगरभित्र देखा परेका समस्या, जलवायु परिवर्तन सम्वन्धित रहेर नगरले के कस्तो बजेट विनियोजन गरेको छ भन्ने बारे सहभागिहरुले आ–आफ्नो धारणा राखेका थिए । नगरपालिकाले सुधार गर्नुपर्ने विषयहरुलाई गम्भिरताका साथ लिई आगामी बजेट विनियोजनमा जलवायु परिवर्तन शिर्षकमा पनि बजेट राखिनुपर्ने बहु–सरोकारवाला मञ्चहरुको माग रहेको छ । महिला जागरण समूह नालाका अध्यक्ष निर्मला श्रेष्ठ लगायत विभिन्न संस्थाका प्रतिनिधि सहभागि रहेको छलफल कार्यक्रममा जलवायु परिवर्तन सम्वन्धि प्रस्तुति समेत दिइएको थियो ।
