खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल काभ्रेले विहिबार खाद्य स्वच्छता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । धार्मिक पर्यटकीय गन्तव्यको आधार स्थल दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा न. १ कुरी बजारमा संचालित होटल÷रेष्टुरेन्ट व्यवसायमा संलग्न ६० जना प्रशिक्षार्थीहरुको सक्रीय सहभागितामा पर्यटकीय होटल तथा रेष्टुरेन्ट व्यवसायी लक्षित अभिबृद्धि कार्यक्रम कार्यक्रम सम्पन्न गरेको हो । कालिन्चोक कुरी होटल व्यवसायी समितिका अध्यक्ष भीमसेन पाख्रिनको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल काभ्रेका कार्यालय प्रमुख नारायण प्रसाद भट्टराईको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा “होटलमा खाद्य स्वच्छताको लागि असल आनीबानी र असल उत्पादन अभ्यास” शीर्षकमा कार्यालय प्रमुखले खाद्य स्वच्छता भनेको के हो , खाद्य स्वच्छताको के महत्व छ, खाद्य स्वच्छता कायम गर्न के के गर्नु पर्छ, यो स्वच्छ जीवनको लागि कति महत्वपूर्ण छ, विद्यमान कानुनी प्रावधान के छन् र खाद्य स्वच्छता र गुणस्तर कायम राख्न होटल व्यवसायीहरुको भूमिका के कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्नो प्रस्तुती दिनुभएको थियो । त्यस्तै “खाद्य स्वच्छताको लागि होटल स्तरीकरण एक परिचय” शीर्षक माथि खाध्य निरीक्षक अतिश घिमिरेले होटल स्तरीकरण भनेको के हो, यसमा के के प्रावधान छन् ्र स्तरीकरण गर्ने मापदण्ड र सुचकहरु के के छन् र ति सुचकका आधारमा प्राप्तांक अनुसार स्तरीकरण हुने जानकारी सहितको प्रस्तुतीकरण दिनुभयो । कार्यक्रममा भागीहरुलाई तेलको गुणस्तर परिक्षण गर्न सिकाईएको थियो । कार्यालय प्रमुखले सूचना सन्देश– प्रचार प्रसार सामाग्री (फ्लेक्स प्रिन्ट) कालिन्चोक कुरी होटल व्यवसायी समितिका अध्यक्ष भीमसेन पाख्रिनलाई हस्तान्तरण गर्दै सहभागी सम्पूर्णलाई खाद्य स्वच्छता कायम गर्न अपिल गर्नुभयो ।
