जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसकी नेता विनिता खड्कालाई छाड्न आदेश दिएको छ । अदालतले उनलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काले सोमबार उनलाई छाड्ने आदेश दिएका हुन् । प्रहरीले उनलाई म्याद थप गर्न पेस गरेको सुनुवाइमा जिल्ला अदालतले यस्तो आदेश गरेको हो ।
जिल्ला अदालतको आदेशपछि उनलाई थुना बाहिर राखेर अनुसन्धान गर्नुपर्ने छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले उनीसहित पाँच जनालाई संगठित अपराधमा अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाका बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ पनि पक्राउ परेका थिए ।
पक्राउ परेका अन्य प्रतिवादीको बयानमा खड्कालाई पोल गरेको सम्बन्धमा पनि रहेको नदेखिएको, पीडितहरूको तर्फबाट पेस भएको जाहेरीमा खड्काले जाहेरवालाबाट रकम लिई खाएको तथा कसुरमा संलग्नता रहेको देखिने कुनै पनि तथ्य उल्लेख गरेको अवस्था नदेखिएको भन्दै अदालतले उनलाई थुनामा राखेर अनुसन्धान नगर्नू भनेको हो । उनी नेपाली कांग्रेसको १५ औं महाधिवशेनमा केन्द्रीय सदस्यको उम्मेदवार रहेकी थिइन् । महाधिवेशनस्थलबाटै उनलाई पक्राउ गरिएको थियो ।
