IMG-LOGO

तथ्याङ्कशास्त्र, डेटा विज्ञान, कृत्रिम बुद्धिमत्ता माथि बिज्ञहरुबीच ज्ञान आदानप्रदान

 मंगल, असोज ६, २०८३  हरिनाथ न्यौपाने

                नेपाल तथ्याङ्कशास्त्र समाज (NESS) र काठमान्डौ बिश्वविद्यालय गणित बिभागको आयोजनामा “Emerging Trends and Applications in Statistics and Data Science (ICETASD–२०२६)” विषयक २ दिने अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा सोमबार सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रो. डा. विवेक बरालले गर्नुभएको थियो । तथ्याङ्कशास्त्र तथा डेटा विज्ञानका क्षेत्रमा विकसित भइरहेका नयाँ प्रविधि, अनुसन्धानका नवीनतम उपलब्धि, प्रयोगात्मक अभ्यास तथा उदीयमान प्रवृत्तिबारे छलफल र ज्ञान आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको नेपाल तथ्याङ्कशास्त्र समाजका अध्यक्ष प्रो. डा. रामप्रसाद खतीवडाले जानकारी दिनुभयो । सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालय तथा शैक्षिक एवं अनुसन्धान संस्थाका अनुसन्धानकर्ता, प्राध्यापक, तथ्याङ्कविद्, डेटा वैज्ञानिक, पेशाकर्मी, विद्यार्थी, बिदेशी विज्ञ तथा अनुसन्धानकर्ताहरू समेत गरि करिब १५० जनाको सहभागिता रहेको थियो । पछिल्लो समय तथ्याङ्कशास्त्र र डेटा विज्ञानको प्रयोग स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, वित्त, कृषि, वातावरण, सार्वजनिक नीति, व्यवसाय, प्रविधि तथा अनुसन्धानका विभिन्न क्षेत्रमा तीव्र रूपमा विस्तार भइरहेको सन्दर्भमा सम्मेलनलाई महत्वपूर्ण शैक्षिक मञ्चका रूपमा लिइएको छ । विशेषगरी कृत्रिम बुद्धिमत्ता (AI), मेसिन लर्निङ, जैव–सांख्यिकी (Biostatistics), आधिकारिक तथ्याङ्क (Official Statistics), एक्चुरियल विज्ञान (Actuarial Science) तथा अन्य परिमाणात्मक विधिमा भइरहेका नयाँ अनुसन्धान र प्रयोगबारे सम्मेलनमा छलफल भएको थियो ।

                सम्मेलनमा ७० वटा प्राविधिक शोधपत्र प्रस्तुत गरिँयो । सम्मेलनमा प्रस्तुत हुने शोधपत्र तथा अनुसन्धानले परम्परागत तथ्याङ्कीय विधिदेखि आधुनिक डेटा विश्लेषण, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ तथा अन्य उन्नत परिमाणात्मक प्रविधिसम्मका विषयलाई समेटेका छन् । यसले तथ्याङ्कशास्त्रको बदलिँदो स्वरूप, डेटा आधारित निर्णय प्रक्रियाको बढ्दो महत्व तथा विभिन्न विषयसँग तथ्याङ्कशास्त्रको अन्तरसम्बन्धलाई उजागर गर्ने अपेक्षा गरिएको छ । आधुनिक प्रविधिको तीव्र विकाससँगै ठूलो मात्रामा उत्पादन भइरहेको तथ्याङ्कलाई विश्लेषण गरी उपयोगी सूचना र ज्ञानमा रूपान्तरण गर्ने क्षमता अहिले अनुसन्धान, नीति निर्माण तथा निर्णय प्रक्रियाका लागि महत्वपूर्ण बन्दै गएको सन्दर्भमा सम्मेलनले तथ्याङ्कशास्त्र र डेटा विज्ञानलाई केवल शैक्षिक विषयका रूपमा मात्र नभई सामाजिक, आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकासका लागि आवश्यक आधारका रूपमा छलफल गर्ने अवसर प्रदान गरेको छ । सम्मेलनको संयोजन त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. विजय लाल प्रधान र काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. रवीन्द्र कायस्थले गर्नुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्