बनेपा – काभ्रे जिल्लाकै सबै भन्दा बढि ६१ हजार एक सय ५६ जना शेयर सदस्य रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चारवर्षे कार्यकालका लागि पनि शान्तकुमार श्रेष्ठ पुनः अध्यक्ष बन्ने निश्चित भएकोछ । संस्थाको ३३औँ वार्षिक साधारणसभा आगामी असोज ९ देखि ११ गतेसम्म क्षेत्रगत रूपमा हुँदैछ । साधारण सभा अन्तर्गत सञ्चालक समितिको नौ पदमा र लेखा सुपरिवेक्षण समिति तीन पदमा निर्वाचन गर्ने गरी गत भदौ २५ गते बिहीबारदेखि सुरु भएको निर्वाचन तालिका अनुसार भदौ २७ गते भएको उम्मेदवारी मनोनयनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष श्रेष्ठको मात्र उम्मेदवारी परेको हो । त्यस्तै उपाध्यक्षमा केशव थापा, सचिवमा भिमबहादुर खत्री र कोषाध्यक्षमा गणेशप्रसाद पराजुलीको मात्र उम्मेदवारी परेकोछ । सचिवका उम्मेदवार खत्री यसअघि कोषाध्यक्ष थिए भने अन्य पदमा मनोनयन गर्ने वर्तमान सञ्चालक समितिका सदस्य रहेका छन् । युवा सदस्यतर्फ पुष्पा खड्का बस्नेतको मात्र उम्मेदवारी परेको छ । बाँकी चार जना सञ्चालक सदस्यका लागि भने छ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन उप समितिले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा पनि रामकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेकोले उहाँ पनि दोहोरिने पक्का छ । लेखा समितिको अन्य दुई सदस्य पदमा भने ३ जनाको उम्मेदवारी परेको सूचनामा उल्लेख छ । निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवार माथि दाबी–विरोध दर्ता गर्ने समय तोकिएकोमा कुनै पनि पदमा दाबी–विरोध नपरेको निर्वाचन उप समितिले जनाएको छ । उम्मेदवारी फिर्ता लिने समय आगामी असोज १ गतेसम्म रहेकोले सबै पदमा निर्विरोध निर्वाचन गराउने उद्देश्यले सहमतिको लागि अधिकतम प्रयास भइरहेको निर्वाचन समन्वय उप समितिका संयोजक संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष प्रदिप थापाले जानकारी दिनु भएकोछ ।
