काभ्रे । नेवाः राष्ट्रिय पत्रकार दबू काभ्रे शाखाको आयोजनामा आइतबार बनेपामा एक दिवसीय पत्रकारिता सम्बन्धी तालिम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै बनेपा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले मानिसको क्षमता विकास गर्नको लागि लेखन शैली, सिप निकै आवश्यक रहेको बताउनुभयो । एकदिने तालिमबाट पनि धेरै सिक्न सकिन्छ । जन्मेदेखी कोही कसैले पनि सबै सिकेर आएको हुँदैन, हामीले जीवनको अन्तिम घडी सम्म सिक्नुपर्छ भन्नुभयो । राज्यको चौथो अंग पत्रकारिता भनिएता पनि पत्रकारितालाई राज्यले सम्मानित रुपमा हेर्न, देख्न सकेको छैन । नेवार समुदाय पछि पर्नुको कारण हामी आफैं अघि नसरेर हो भन्दै वडा अध्यक्ष मानन्धरले हामी अगाडी बढ्न आफ्नै समुदायका नागरिकहरूले चासो र चिन्तन गर्नुपर्ने औलाउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगरले पत्रकारिता पेशा चुनौतीपूर्ण रहेको बताउँदै नेवाः राष्ट्रिय पत्रकार दबुमा उठेका मुद्धाहरू फोनिजले पत्रकार महासंघसम्म पु¥याउन सहकार्यको भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि वरिष्ठ साहित्यकार मोहन दुवाल, नेवाः राष्ट्रिय पत्रकार दबु बागमती प्रदेशका सहसचिव विश्वनाथ ताम्राकार, केन्द्रीय सहसचिव विजयराम कर्माचार्य, रेडियो एविसीका अध्यक्ष रमेशप्रसाद न्यौपाने, सञ्चारकर्मी प्रल्हाद शर्मा हुमागाई लगायतको उपस्थिति रहेको थियो भने संस्थाका सचिव दिलिप श्रेष्ठले सञ्चालन गरेका थिए । तालिममा २० जनालाई प्रशिक्षक केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र महासचिव कृष्णकाजी (केके) मानन्धरद्वारा प्रशिक्षण गरिएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठले गर्नुभएको थियो ।
