IMG-LOGO

तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’

 मंगल, सावन २६, २०८३  हरिसुन्दर छुकां

    भक्तपुर, चाँगुनारायण नगरपालिका–९, ताथलीको सौडोलको खगां टोलमा विगत करिब तीन दशकदेखि अवरुद्ध मौलिक तथा परम्परागत ‘भैलः प्याखं’ (भैरव नाच) लाई पुनःजीवन दिने तयारी सुरु भएको छ । लामो समयदेखि रोकिएको उक्त सांस्कृतिक परम्परालाई नयाँ पुस्तासँग जोड्दै पुनः सञ्चालनमा ल्याउने उद्देश्यले ‘खगां भैलः प्याखं पुनर्जागरण कार्यझ अघि बढाइएको हो । खगां दाफा भजन खलः, पुरानो पुस्ताका जानकार, नयाँ पुस्ता तथा संस्कृतिप्रेमीहरूको बिहीबार भएको सामूहिक छलफलपछि भैलः प्याखंलाई पुनः सञ्चालन गर्ने निष्कर्ष निकालिएको हो । छलफलमा समयक्रमसँगै मौलिक कला, नृत्य तथा सांस्कृतिक परम्पराहरू कमजोर हुँदै गएको अवस्थामा समुदायको पहिचानसँग जोडिएको भैलः प्याखंलाई संरक्षण र पुस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।
    खगां भैलः प्याखंलाई व्यवस्थित रूपमा पुनर्जीवन दिन प्रशिक्षण सञ्चालन तथा व्यवस्थापनका लागि स्थानीय हरिसुन्दर छुकांको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ । समितिले भैरव नाचको प्रशिक्षण सञ्चालनदेखि नियमित अभ्यास, सहभागी तथा कलाकारको व्यवस्थापन, आवश्यक सामग्रीको तयारी, पुराना गुरु तथा जानकारसँग समन्वय र आगामी प्रस्तुतिको व्यवस्थापनसम्मका काममा सहजीकरण गर्नेछ । लामो समयसम्म भैलः प्याखं सञ्चालन नहुँदा यसको अभ्यास तथा प्रस्तुति शैलीसँग नयाँ पुस्ताको प्रत्यक्ष सम्बन्ध कमजोर हुँदै गएको छ । त्यसैले नयाँ पुस्तालाई प्राथमिकतामा राखेर प्रशिक्षण सञ्चालन गर्ने र पुराना गुरु तथा जानकारबाट प्राप्त ज्ञान तथा सीपलाई नयाँ पुस्तासम्म पुर्याउने अभियानको उद्देश्य रहेको छ ।
गुरु–शिष्य परम्परामा बाँचेको भैलः प्याखं
    ताथलीको भैलः प्याखंको इतिहास स्थानीय सांस्कृतिक जीवन र स्मरणसँग जोडिएको छ । स्थानीय जानकार तथा ज्येष्ठ पुस्ताले सुनाउँदै आएको मौखिक इतिहासअनुसार भक्तपुर नगरका विभिन्न स्थानमा प्रचलित भैलः प्याखं सिकाउने क्रममा ताथलीका गुरुहरूको समेत भूमिका रहेको बताइन्छ । गुरुबाट शिष्यमा ज्ञान र सीप हस्तान्तरण हुँदै आएको भैरव नाचमा नृत्यका चाल, ताल, अभिनय, पात्रको प्रस्तुति, बाजागाजासँगको समन्वय तथा अनुशासन महत्वपूर्ण पक्षका रूपमा रहेका छन् । यस्ता पक्ष पुस्तौँदेखि अभ्यास र प्रशिक्षणमार्फत हस्तान्तरण हुँदै आएको स्थानीय भनाइ छ । यसैले खगां भैलः प्याखंको पुनर्जागरणलाई रोकिएको नाचलाई पुनः जीवित बनाउने मात्र नभई गुरु–शिष्य परम्परामा आधारित सांस्कृतिक ज्ञानको पुनःस्थापना गर्ने अभियानका रूपमा समेत हेरिएको छ ।
भैरव नाचमा धार्मिक आस्था र सांस्कृतिक पहिचान
    भैलः प्याखं भक्तपुर उपत्यकाको मौलिक सांस्कृतिक परम्परासँग जोडिएको नृत्य–नाट्य शैली हो । यसमा नृत्य, अभिनय, संगीत, बाजागाजा, भेषभूषा तथा धार्मिक आस्थाको संयोजन पाइन्छ । स्थानीय समुदायमा यस्ता प्याखंहरू मनोरञ्जनका लागि मात्र नभई धार्मिक तथा सांस्कृतिक अनुष्ठान, सामुदायिक एकता र स्थानीय पहिचानको अभिव्यक्तिका रूपमा समेत स्थापित छन् । खगां टोलमा लामो समयदेखि रोकिएको भैलः प्याखं पुनः सञ्चालन हुँदा स्थानीय सांस्कृतिक गतिविधिमा नयाँ ऊर्जा थपिने र युवा पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग प्रत्यक्ष जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रशिक्षणमा युवाहरूलाई सहभागी गराई भैलः प्याखंका चाल, ताल, नृत्यशैली, पात्रको भूमिका, बाजागाजा तथा प्रस्तुति पद्धतिबारे अभ्यास गराउने तयारी गरिएको छ । पुराना गुरु तथा अनुभवी कलाकारबाट नयाँ पुस्ताले प्रत्यक्ष रूपमा सिक्ने वातावरण तयार पार्ने लक्ष्य राखिएको छ । यसले पुराना पुस्तामा सीमित हुँदै गएको ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै भविष्यमा भैलः प्याखंलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति तयार हुने विश्वास गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्