पनौती नगरपालिकाले नगरवासीलाई सहज र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अन्धोपन न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउने भएको छ । पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पताल विच मोतियाबिन्दु तथा आँखा सम्बन्धी रोगहरूको निःशुल्क उपचार, समुदाय तथा विद्यालय स्तरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन, नियमित आँखा उपचार सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार नगरपालिकाभित्र रहेका समुदाय र विद्यालयहरूमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिनेछ । परीक्षणका क्रममा दृष्टिदोष भएका, मोतियाबिन्दु तथा आँखाको पर्दासम्बन्धी जटिल समस्या देखिएका बिरामीहरूको निःशुल्क उपचार गरिने सम्झौतामा उल्लेख रहेको छ । सम्झौतामा पनौती नगरपालिका–७ स्थित पनौती स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार निःशुल्क आँखा उपचार क्लिनिक सञ्चालन गरिने जनाएको छ ।
नगरपालिकाले उक्त कार्यक्रमबाट ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न परिवार विद्यार्थी तथा दुर्गम बस्तीका नागरिकलाई लक्षित गरी आँखा स्वास्थ्य सेवा प्रवाह पहुँचमा विस्तार गरी संचालन गरिने कुरा बताउनुभयो । नगर प्रमुख रामशरण भण्डारीले पनौती नगरपालिकाले नागरिकको स्वास्थ्य संरक्षण र अन्धोपन न्यूनीकरणका लागि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने उल्येख गर्नुभयो । अस्पतालका प्रमुख हिरामणी शर्माले १३ वटै पालिकामा आँखा शिविर स्वास्थ्य सेवा प्रभावकारी बनाउँदै लगिएको जनाउनुभयो । अस्पतालले नागरिकहरुलाई आँखा सम्बन्धि उपचरामा प्रविधि मैत्री र गुणस्तरीय सेवा दिदै आएको बताए ।
