पनौती, श्रावण १३ । गुरु पूर्णिमाको पावन अवसरमा रोटरी क्लब अफ काभ्रे भ्यालीको आयोजनामा पनौती–५ स्थित ग्रामोदय विद्यालयमा स्टेसनरी सामग्री वितरण, निःशुल्क रक्तचाप परीक्षण तथा दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई आवश्यक स्टेसनरी सामग्री वितरण गरिएको थियो । साथै, विद्यार्थीका अभिभावक, शिक्षक–शिक्षिका तथा उपस्थित स्थानीय समुदायका सदस्यहरूको निःशुल्क रक्तचाप परीक्षण, स्वास्थ्य परामर्श तथा दन्त स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य परीक्षण सेवा Banepa Health Care ले उपलब्ध गराएको थियो भने दन्त स्वास्थ्य परीक्षण सेवा Suprime Dental Care ले प्रदान गरेको थियो । दुवै संस्थाको सहयोगले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन महत्वपूर्ण योगदान पुगेको क्लबले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी तथा रोटरी क्लब अफ काभ्रे भ्यालीका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार, Banepa Health Care, Suprime Dental Care, स्वास्थ्यकर्मी, स्थानीय समुदाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति क्लबले हार्दिक आभार व्यक्त गरेको छ । रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष रोटेरियन वासुदेव अधिकारीले शिक्षा र स्वास्थ्यसँग सम्बन्धित यस्ता सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । त्यसैगरी क्लबका सचिव रोटेरियन विदुर दाहालले समुदायको आवश्यकताअनुसार प्रभावकारी सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
