काभ्रे बहुमुखी क्याम्पसले आफ्नो स्वामित्वको जग्गा विरुद्ध भइरहेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत मंगलबार क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख के.जि बैदारले विज्ञप्ति जारी गर्दै बनेपा नगरपालिका–६ बुडोलस्थित क्याम्पसको स्तरोन्नति, संरक्षण र विकासका लागि सबै पक्षसँग संवाद गर्न क्याम्पस प्रशासन तयार रहेको जनाउनुभयो ।
विज्ञप्तिमा क्याम्पसको स्थापना र विकासमा स्थानीय समुदाय तथा तत्कालीन जनप्रतिनिधिहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरिएको छ । तत्कालीन प्रधानपञ्च स्वर्गीय पृथ्वीध्वज केसीको पहलमा गाउँपञ्चायतबाट जग्गा उपलब्ध गराउने निर्णय भएको र मन्त्रिपरिषद्को २०५२ असार १९ गतेको निर्णयबाट श्रीखण्डपुर पञ्चायत वडा नं. ५ (हाल बनेपा–६) स्थित कित्ता नं. १६५ को १८ रोपनी १० आना ३ दाम जग्गा क्याम्पसको नाममा हकहस्तान्तरण भई पुर्जा प्राप्त भएको क्याम्पसले जनाएको छ । तर पछिल्ला केही वर्षयता केही व्यक्तिहरूले क्याम्पसलाई जग्गाको स्वामित्वबाट वञ्चित गराउने तथा संस्थाको अस्तित्व नै संकटमा पार्ने उद्देश्यले गतिविधि गरिरहेको आरोप क्याम्पसले लगाएको छ । विज्ञप्तिमा बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (बीसीएमटी) मार्फत सञ्चालनमा रहेका बीएससी सीएसआईटी, बीबीए र एमबीए कार्यक्रम बन्द गराउन दबाब तथा धम्की दिने कार्य भएको दाबी पनि गरिएको छ । क्याम्पस प्रशासनले विवाद समाधान तथा समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउन कृपेन्द्र श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको जनाएको छ । समितिमा डा. माधवप्रसाद तिमिल्सिना, श्रीराम श्रेष्ठ, आत्माराम थापा, युगेश्वर कायस्थ र रोहिन पराजुली सदस्य रहेका छन् ।
