सिबिएम नेपालले रेयूकाई एईको मासुनागा आँखा अस्पताल ढल्केबर शाखाका लागी Non–Contact Tonometer (NCT) आँखाको प्रेसर नाप्ने मेसिन शुक्रबार हस्तान्तरण गरेको छ । बनेपामा अयोजित कार्यक्रममा सीबीएम नेपालका कन्ट्री डाइरेक्टर राजन भट्टराईले अस्पतालका अध्यक्ष मधुप्रसाद आचार्यलाई मेसिन हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बनेपा शाखा प्रवन्धक मनोज श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोतिविन्दु शल्यक्रियाका लागी रु. २ लाख हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष आचार्यले विपन्न नागरिकलाई गुणस्तरीय आँखा उपचार उपलब्ध गराउने अभियानलाई थप प्रभावकारी बनाउन सहयोगि संस्थाको महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो । सीबीएम नेपालका कन्ट्री डाइरेक्टर राजन भट्टराईले विगत ४० वर्षदेखि नेपालमा अन्धोपन निवारण तथा समावेशी स्वास्थ्य सेवाको क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेपा शाखा प्रबन्धक मनोज श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सहयोग गर्दै आएको जानकारी दिनुभयो । अस्पतालकी मेडिकल डाइरेक्टर डा. दीक्षा मल्लले अस्पतालको सेवा तथा भावी योजनाबारे जानकारी दिँदै हाल पाँच जिल्लाका सात स्थानबाट आँखा उपचार सेवा उपलब्ध गराइरहेको बताउनुभयो । अस्पतालले जलविन्दु, रेटिना, मोतिविन्दु उपचारका साथै विद्यालय लक्षित आँखा परीक्षण (स्कुल स्क्रिनिङ) कार्यक्रम सञ्चालन गर्दै आएको मल्लले जानकारी दिनुभयो । अस्पतालका महासचिव हिरामणी शर्माले उक्त कार्यक्रमको संचालन गर्नुभएको थियो ।
