नागरिक अगुवा देवेन्द्रराज पाण्डेलाई अब हामीहरुले अल बिदा डाक्टरसाप भन्नु परेको छ । उहाँको शुक्रबार आफ्नै निवास काठमाडौमा निधन भएको थियो । २०६२/६३ सालको आन्दोलन विशेष खालको थियो । २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि ६ महिना त देश मुर्दा शान्तिमा बदलियो । सेनाले मिडिया हाउसमा पसेर सेन्सर गर्थे । मोफसलमा राजावादी बाहेकका पत्रिका बन्द भए एफ. एम. रेडियोहरुले गीत मात्रै बजाउँथे । त्यस्तो परिस्थितिमा कहाँ के भएको छ, पत्ता लगाउन कठिन थियोे हो, त्यही बेला डा. देवेन्द्रराज पाण्डे नागरिक समाजका चेतना भए ।
दलहरू अघोषित रुपमा प्रतिबन्धित गरिएको थियो नेताहरु नजरबन्दमा थिए । नागरिक समाजको नेतृत्व गर्दै डा. देवेन्द्रराज पाण्डेले पत्रकार वकिल बिद्यार्थी शिक्षक डाक्टर सबैलाई जुरुक्कै उचाले । डा. देवेन्द्रराज पाण्डे कै प्रेरणाले हामीहरुले पनि बनेपामा आन्दोलन गरेका थियौँ ।
२०६२ मंसिरमा माओवादी र सात दलमा १२ बुँदे सम्झौता भयो । २४ चैत देखि आन्दोलन भयो । ११ वैशाखमा राजाले घुँडा टेके आन्दोलन सफल भयो । यसरी त्यो आन्दोलन उठाउन चेतना छर्ने काममा डा. देवेन्द्रराज पाण्डेको योगदान अतुलनीय छ ।
