धुलिखेल । विश्व जनसंख्या दिवस २०२६ को पूर्वसन्ध्यामा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनसंख्या तथा स्वास्थ्यसँग सम्बन्धित वर्तमान अवस्था, चुनौती तथा भावी नीतिगत दिशाबारे केन्द्रित समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगमको प्रमुख आतिथ्यता तथा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख डा. रागिश्री कक्षपतिको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाको जनसंख्या प्रवृत्ति, स्वास्थ्य सूचक, प्रजनन स्वास्थ्य, बसाइँसराइ, वृद्धजन तथा युवा जनसंख्याको अवस्था लगायत समसामयिक विषयमा बहस पैरवी गरिएको थियो ।
कार्यक्रममा तथ्याङ्क समन्वय कार्यालयका तथ्याङ्क समन्वय अधिकारीले काभ्रेपलाञ्चोक जिल्लाको पछिल्लो जनसंख्या अवस्थासम्बन्धी तथ्याङ्क, जनसांख्यिकीय परिवर्तन तथा त्यसले स्वास्थ्य, शिक्षा, स्थानीय विकास र नीति निर्माणमा पार्ने प्रभावबारे प्रस्तुति दिनुभएको थियो। प्रस्तुतीकरणपछि सहभागीहरूले तथ्याङ्कमा आधारित योजना निर्माण, प्रभावकारी जनसंख्या व्यवस्थापन, स्थानीय तहको भूमिका तथा दिगो विकासका लक्ष्य हासिल गर्न आवश्यक रणनीतिका विषयमा अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोद न्यौपाने, सचिव नगेन्द्र अधिकारी, कोषाध्यक्ष केशवराज पौडेल, सञ्चारकर्मी तथा स्वास्थ्य, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा महासंघका कोषाध्यक्ष पौडेलले विश्वसनीय तथ्याङ्कको उपयोगले प्रभावकारी नीति निर्माण, विकास योजना तथा जनस्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि निराजन जंगमले स्थानीय तहले जनसंख्यासम्बन्धी तथ्याङ्कलाई विकास योजना, स्वास्थ्य सेवा विस्तार तथा स्रोत–साधनको प्रभावकारी व्यवस्थापनमा उपयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यवहाक नगरप्रमुख जंगमले धुलिखेल नगरले स्वास्थ्य सेप्रभावकारीतालाई थप पुस्त दुरुस्त पार्दै लागेको, धुलिखेल स्वस्थ सहर कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको व्यप प्रस्ट पार्नुभयो । अध्यक्ष डा. रागिश्री कक्षपतिले स्वस्थ, सन्तुलित र दिगो समाज निर्माणका लागि जनसंख्या र स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई सबै तहबाट गम्भीर रूपमा बुझ्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले गर्नुभएको थियो ।
हरेक वर्ष जुलाई ११ का दिन विश्व जनसंख्या दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइने यस दिवसले जनसंख्या, प्रजनन स्वास्थ्य, लैङ्गिक समानता, परिवार नियोजन, मातृ तथा शिशु स्वास्थ्य, दिगो विकास र जनचेतना अभिवृद्धिसम्बन्धी विषयमा व्यापक बहस र सचेतना फैलाउने उद्देश्य राखेर कार्य गर्दै आएको छ ।
