बनेपा/काठमाडौंमा अवस्थित ओशो तपोवनमा, ओशो तपोवनद्वार आयोजना गरिएको एक भव्य समारोहमा ‘अष्टावक्र महागीतामृत’ (अध्यात्म तथा अद्वैत वेदान्त दशर्न) लोकार्पण कार्य सम्पन्न भएको छ । सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको उक्त कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो । बोधिसत्व स्वामी आनन्द अरुण, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी तथा अनुसर्जक सुमी लोहनीले संयुक्त रुपमा सो कृतिको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रमको मुख्य वक्ता स्वामी आनन्द अरुणले ओशोले सन् १९७४ मा आफ्ना निकटस्थ अठारजना साधकका बिच अष्टावक्र गीताको चर्चा गर्नुभएको, त्यसलाई विलक्षण र दुर्लभ ग्रन्थको रुपमा स्वीकार गर्नुका साथै सो ग्रन्थ जनकपुरको माटोमा जन्मिएको कारण त्यसको प्रवद्र्धनमा हामी बढी संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले ओशोले राजा जनकलाई प्रभावित र वैराग्य प्रदान गर्नसक्ने अष्टावक्र गीतामा जम्मा २९८ श्लोक मात्र भए पनि ती श्लोकमा असाधारण अर्थ र प्रभाव रहेको तथा पहिलो २० श्लोकले नै राजा जनकलाई आफ्नो प्रभावमा लिन सक्षम भएको बताउनुभएको, अष्टावक्रबारे असंख्य प्रवचन गर्नुभएको, सो प्रवचनको ६ वटा ग्रन्थ तयार भएको स्मरण गर्नुभएको थियो । उहाँले आफूले जनकपुरमा अष्टावक्र मन्दिर बनाउन पहल गरेको र अष्टावक्र गीतालाई राष्ट्रिय कृति धोषणा गराउनका लागि निरन्तर लागिरहेको कुरा पनि बताउनुभएको थियो ।
कार्यक्रमको आरम्भमा अनुसर्जक सुमी लोहनीले कृति रचनागर्भका बारेमा प्रकाश पार्दै आफूले कोरोनाको विशिष्ट कालमा अष्टावक्र महागीता पढी सोबाट प्रभावित भएर आम पाठकलाई लाभ हुने गरी अनुसिर्जन गरिएको कुरा बताउनुभएको थियो । मन्तव्यकै क्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले अष्टावक्र गीताका बोरमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
यसरी नै उक्त कृतिका सन्दर्भमा डा. रमा भट्टराईले विशद टिप्पणी राख्दै आम पाठकका लागि कृति उपयोगी हुने, महिला लेखक भएकाले उपेक्षित गर्न नहुने र आत्मबोधका सन्दर्भमा कृति सदैव उपयोगी रहेको बताउनुभएको थियो । उक्त कार्यक्रममा सुमी लोहनीका शिष्य डा. अनन्त अर्यालले अष्टावक्र महागीता ध्यान तथा सेवा भावसहित पठन हुनसके बुझ्न सकिने धारणा राख्दै सो गीताको बारेमा स्वामी रवि शंकरले समेत सकारात्मक चर्चा गरेको प्रसंग स्मरण गर्नुभएको थियो । साझा प्रकाशनबाट प्रकाशित ११२ पृष्ठको अष्टावक्र महागीतामृतको मूल्य रु.२४० रहेको छ ।
