बनेपा । बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले आर्थिक वर्ष २०८३÷०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको छ । नगरसभाको १८औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख शाक्यले सीमित स्रोतसाधनका बाबजुद नगरवासीका आवश्यकता सम्बोधन गर्दै दिगो विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो । त्यसैगरी उप–प्रमुख बिमला सापकोटा दाहालले १ अर्ब २१ करोड ३ लाख बजेट प्रस्तुत गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत उर्मीला काफ्लेले सरकारको नीति नियम अनुसार तिब्रढङ्गबाट बजेट कार्यान्वयन गरिने बताउनुभयो । आन्तरिक आय स्रोतबाट ५९ करोड ४० लाख प्रक्षेपण गरेको छ ।
नगरप्रमुख शाक्यले कृषि क्षेत्रलाई नगरको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएको अवस्थामा उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । खेतीयोग्य जमिनको संरक्षण, कृषि उत्पादन क्षेत्र निर्धारण, अर्गानिक खेती प्रवद्र्धन, किसान परिचयपत्र वितरण, कृषि यान्त्रीकरण तथा शीत भण्डार निर्माणलाई प्राथमिकता नगरप्रमुख शाक्यले जनाउनुभयो ।
पशुपालन क्षेत्रलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन नश्ल सुधार, पशु बीमा, निःशुल्क खोप, आधुनिक वधशाला निर्माणको सम्भाव्यता अध्ययन तथा छाडा चौपाया व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । कृषि उत्पादनलाई ब्रान्डिङ तथा प्याकेजिङमार्फत बजारसँग जोड्ने योजनासमेत नगरपालिकाले अघि सारेको छ । नगरकोट, नागीडाँडा, चण्डेश्वरी, गोसाइस्थान, वासुकी पार्क लगायतका पर्यटकीय क्षेत्रको संरक्षण, स्तरोन्नति र प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीय अर्थतन्त्रलाई सबल बनाउन घरेलु तथा साना उद्योग प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता विकास तथा पर्यटन क्षेत्रको विस्तारलाई प्राथमिकता दिइएको छ ।
