१२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति काभ्रेपलाञ्चोकको महिला तथा युवा समितिको संयुक्त आयोजनामा बनेपामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पतञ्जली योग समिति बागमती प्रदेशको विशेष सहभागिता रहेको थियो ।
पंतञ्जली योग समिति काभ्रेका जिल्ला अध्यक्ष प्रकाश कायस्थको सभापतित्व सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपकुमार गौतम, बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, पतञ्जली योग समितिका कर्पोरेट सदस्य उद्धवप्रसाद तिमल्सिना, प्रदेश समिति अध्यक्ष ग्रुवेन तौजले, विभिन्न वडाका अध्यक्ष, पूर्व जनप्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश समिति अध्यक्ष ग्रुवेन तौजलले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एक घण्टासम्म योगाभ्यास गरिएको थियो । सो अवसरमा जिल्ला अध्यक्ष प्रकाश कायस्थले काभ्रेपलाञ्चोकमा सञ्चालन भइरहेका योग केन्द्रहरू तथा जिल्लालाई योगमय बनाउने उद्देश्यका साथ गरिएका विभिन्न प्रयासबारे जानकारी गराए । बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा बेथान्चोक र भुम्लु गाउँपालिकामा योग केन्द्र सञ्चालनमा रहेका छन्। साथै, खानिखोला, महाभारत, चौरीदेउराली, रोशी र तेमाल गाउँपालिकामा समेत योग केन्द्र विस्तार गर्ने योजना रहेको जनाएको छ ।
पंतञ्जली योग समितिका कुल ५६ केन्द्रमध्ये बनेपा नगरपालिकाभित्र २६ वटा केन्द्र सञ्चालनमा रहेका छन् । आजाद माध्यमिक विद्यालयका कृष्णकुमारी मगर, शिक्षा सदन माध्यमिक विद्यालयका सुजन श्रेष्ठ, चैतन्य माध्यमिक विद्यालयका संस्कार रञ्जित, चण्डेश्वरी माध्यमिक विद्यालयकी रुसिया परियार, महेन्द्र माध्यमिक विद्यालयकी रुवी श्रेष्ठ तथा हिमालय र भक्तेश्वर माध्यमिक विद्यालयका एक–एक जना विद्यार्थीलाई ट्र्याकसुट, जुत्ता–मोजा र तीन महिनाका लागि शैक्षिक सामग्री वितरण गरिएको थियो । पंतञ्जली योग समिति काभ्रेले ती विद्यार्थीलाई प्रत्येक तीन–तीन महिनामा शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिइने अध्यक्ष कायस्थले जनाउनुभयो । कार्यक्रम पतञ्जली योग समिति काभ्रेका महामन्त्री श्याम श्रेष्ठ र महिला समितिका महामन्त्री भवानी गुरुङले संचालन गर्नुभएको थियो ।
