बनेपा नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । सोमबार प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक गौतमले पूर्ण खोप सुनिश्चितता घोषणा औपचारिक उपलब्धि मात्र नभई बालबालिकाको स्वास्थ्य, सुरक्षित भविष्य र रोग नियन्त्रण तर्फको महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो । बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बालबालिकाको स्वास्थ्य संरक्षणका लागि खोप सबैभन्दा प्रभावकारी र सुरक्षित उपाय भएको बताउँदै पूर्ण खोप सुनिश्चितता घोषणाले नगरको स्वास्थ्य क्षेत्रको उपलब्धिलाई थप मजबुत बनाएको बताउनुभयो । नगरभित्रका १४ वटै वडामा खोप कार्यक्रम अन्तर्गत तोकिएका उमेर समूहका बालबालिकाले नियमित रूपमा सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख आषिश शर्मा कडेंलले जानकारी दिनुभयो । स्वास्थ्य शाखाका महेश्वर श्रेष्ठले जन्मेदेखि १५ महिनासम्मका तथा १६ देखि ५९ महिनामुनिका सबै बालबालिकाले खोप तालिका अनुसार पाउनुपर्ने खोपहरू प्राप्त गरेको बताउनुभयो । कार्यक्रममा बनेपा नगर उपप्रमुख विमला सापकोटा दाहाल, ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी, जनस्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणी न्यौपाने तथा स्वास्थ्यकर्मीहरूले खोप कार्यक्रमलाई सफल बनाउन समुदायस्तरमा गरिएको सहयोगको लागी धन्यबाद दिएका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाकी सिता श्रेष्ठले गर्नुभएको थियो ।
