ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार तथा प्रशासनिक कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको उद्धघाटन सत्रमा प्रतिष्ठानका सहायक कलेज प्रमुख नवराज चौलागाईंले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै व्यावसायिक तथा व्यावहारिक शिक्षाको महत्वमाथि प्रकाश पार्दै वर्तमान प्रतिस्पर्धी युगमा आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक मार्गदर्शन र अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ज्ञानकुञ्जले केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेको जनाउनुभयो ।
कार्यक्रममा कलाकर्मी भूषण भोमी श्रेष्ठ, कलाकर्मी तथा संचारकर्मी सचित खड्का र अन्तराष्ट्रिय भलिबल रेफ्रि विजय के.सी.लाई सम्मान गरिएको थियो । कार्यक्रमको विशेष आकर्षणका रूपमा हास्य कलाकार जितु नेपालको प्रस्तुति रहेको थियो । वहाँले हास्यव्यङ्ग्यमार्फत शिक्षा, जीवनशैली तथा सामाजिक मूल्यसँग सम्बन्धित सन्देश प्रस्तुत गर्नुभएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुरकृष्ण वैद्यले शिक्षा प्रणालीलाई केवल परीक्षा र प्रमाणपत्रमा सीमित नराखी विद्यार्थीहरूको सृजनशीलता, नेतृत्व क्षमता तथा जीवनोपयोगी सीप विकासमा केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरे । उनले ज्ञानकुञ्जलाई विद्यार्थीहरूको बहुआयामिक विकासका लागि उपयुक्त शैक्षिक मञ्चका रूपमा स्थापित गर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो । प्रतिष्ठानका अनुसार अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य नवआगन्तुक विद्यार्थीहरूलाई शैक्षिक वातावरण, संस्थागत कार्यशैली, नीति तथा मूल्य–मान्यतासँग परिचित गराउनु रहेको थियो । कार्यक्रममार्फत विद्यार्थीहरूमा अध्ययनप्रति थप जागरुकता र संस्थाप्रति विश्वास अभिवृद्धि भएको विश्वास प्रतिष्ठानले व्यक्त गरेको छ । प्रतिष्ठानले आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी यस्ता प्रभावकारी तथा प्रेरणामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने कुरा प्रबन्ध निर्देशक प्रताप वैद्यले जनाउनुभयो ।
