IMG-LOGO

जिल्ला प्रशासन कार्यालय काभ्रे सेवा प्रभावकारीतामा लम्कँदै

 मंगल, असार ९, २०८३  -

    धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले आर्थिक वर्ष २०८२÷८३ को जेठ महिनामा नागरिक सेवा, राष्ट्रिय परिचयपत्र वितरण, बजार अनुगमन, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य काम गरेको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरण प्रस्तुत गरेको छ । जेठ महिनामा १ हजार ५५८ जनालाई नयाँ नागरिकता जारी गरिएको छ भने १ हजार ५८ जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन् । यस अवधिमा पाँच जनाले नागरिकता परित्याग गरेका छन् भने पाँच जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको छ । साथै एक जनाको नागरिकता रद्द गरिएको र दुई जनालाई अंगीकृत नागरिकता प्रदान गरिएको विवरणमा उल्लेख छ ।
    राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत ३ हजार ३५५ जनाको विवरण दर्ता गरिएको छ । त्यसमध्ये ५२३ जनाले राष्ट्रिय परिचयपत्र कार्ड प्राप्त गरेका छन् । राहदानी सेवातर्फ १ हजार २४२ जनाको आवेदन दर्ता भएको छ भने १९५ वटा राहदानी वितरण गरिएको छ । कार्यालयले ४० जना बालबालिकालाई नाबालक परिचयपत्र जारी गरेको छ । दलित तथा जनजाति परिचयपत्रतर्फ १३२ जनाले परिचयपत्र प्राप्त गरेका छन् ।
    त्यस्तै गरी जेठ महिनामा विभिन्न प्रकृतिका १० वटा मुद्दा दर्ता भएका छन् । एक मुद्दाको फैसला भएको छ । अदालतबाट प्राप्त ३७ वटा उजुरी तथा सूचना सम्बन्धित निकायमा पठाइएको र सोही संख्यामाका पत्रहरूको फछ्र्योट गरिएको कार्यालयले जनाएको छ । शान्ति सुरक्षाको अवस्थातर्फ जिल्लामा ७३ वटा अपराधजन्य घटना दर्ता भएका छन् । ती घटनामा संलग्न ४५ जना पक्राउ परेका छन् भने ११ जना फरार रहेको विवरण छ । लागूऔषध सम्बन्धी दुईवटा मुद्दा दर्ता भई चार जना पक्राउ परेका छन् । यस अवधिमा ३५ जना विशिष्ट व्यक्तिको भ्रमण व्यवस्थापन गरिएको थियो ।
    त्यस्तै गरी उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्दै कार्यालयले जेठ महिनामा ११ वटा फर्म तथा पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा पाँचवटा व्यवसायलाई जरिवाना गरिएको छ । नियम उल्लङ्घन गर्ने व्यवसायबाट ४० हजार रुपैयाँ जरिवाना असुल गरिएको कार्यालयले जनाएको छ । यस्तै म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त सामग्री बिक्री गरेको पाइएपछि पाँचवटा पसलबाट करिब १४ हजार ३०० रुपैयाँ बराबरका सामग्री जफत गरी नष्ट गरिएको जनाएको छ ।
    कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि जेठ मसान्तसम्म ११ वटा होटल तथा खाजा घरको अनुगमन गरिएको छ । अनुगमनका क्रममा पाँचवटा होटल तथा खाजा घरलाई ४० हजार रुपैयाँ जरिवाना गरिएको र १४ हजार ८०० रुपैयाँ बराबरका अखाद्य सामग्री नष्ट गरिएको छ । 
    त्यस्तै गरी विपद् प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्य पनि निरन्तर रहेको छ । जेठ महिनामा मृतकका परिवार, घाइते तथा बेपत्ता व्यक्तिका परिवारलाई गरी ४५ लाख ४८ हजार ६१८ रुपैयाँभन्दा बढी राहत रकम वितरण गरिएको छ । चौँरीदेउराली गाउँपालिकामा विपद्बाट प्रभावित ६७ घरपरिवारलाई अस्थायी आवास निर्माणको दोस्रो किस्ताबापत २७ लाख रुपैयाँ वितरण गरिएको कार्यालयले जनाएको छ ।
    त्यस्तै गरी सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा नागरिक सहायता कक्ष तथा सोधपुछ कक्ष सञ्चालनमा ल्याइएको छ । कार्यालयले सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउन व्हाट्सएपमार्फत समेत सेवाग्राहीसँग समन्वय र सहजीकरण सुरु गरेको जनाएको छ । नागरिकताको प्रतिलिपि वितरण प्रक्रियालाई थप सहज बनाउँदै निवेदकको फोटो र बायोमेट्रिक विवरणका आधारमा प्रतिलिपि उपलब्ध गराउने प्रणाली लागू गरिएको छ । कार्यालयमा रहेको पुरानो कम्प्युटर प्रणालीको स्तरोन्नति तथा ऋऋक्ष्ःक् प्रणालीमा आवश्यक उपकरण जडान गर्ने कार्य पनि सम्पन्न भएको छ ।
    जिल्ला प्रशासन कार्यालय काभ्रे धुलिखेलले निःशुल्क स्वास्थ्य परीक्षण कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै एकदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा आँखा जाँच शिविर सञ्चालन गरेको जनाएको छ । शिविरबाट कार्यालयका कर्मचारी र सेवाग्राही लाभान्वित भएको कुरा कम्प्यूटर अपरेटर विनिता गिरीले बताउनुभयो । काभ्रेपलाञ्चोकमा जेठ महिनाभर नागरिक सेवा प्रवाह, परिचयपत्र व्यवस्थापन, बजार अनुगमन, विपद् राहत वितरण र प्रशासनिक सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाउन लागि परेको कुरा प्रमुख जिल्ला अधिकारी सचिवालयका विश्वराज बजगाइले जनाउनुभयो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्