धुलिखेल नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ । जिल्लाको ११ औँ पूर्णखोप सुनिश्चितता पालिकाकोरूपमा मंगलबार धुलिखेल नगरपालिका घोषणा भएको हो । घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगमले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले भन्नुभयो ः यस वर्ष धुलिखेल नगरपालिकाभित्रका ६१४ जना बालबालिका पूर्णखोप सुनिश्चित भएका छन् । खोप कार्यक्रममार्फत बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप उपलब्ध गराई पूर्णखोप सुनिश्चित गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा वक्ताहरूले पूर्णखोप सुनिश्चितता कायम राख्दै आगामी वर्षहरूमा पनि खोपबाट वञ्चित हुने अवस्था सिर्जना हुन नदिन सबै सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अभिभावकको निरन्तर सहकार्य आवश्यक रहेको जनाउनुभएको थियो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणासँगै धुलिखेल नगरपालिका बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति प्रतिबद्ध रहेको सन्देश दिएको छ । यससँगै धुलिखेलमा वातानुकूलित खोप केन्द्र पनि संचालनमा ल्याइएको छ । यस्तो खोप केन्द्र संचालनमा ल्याउने यो पालिका दोस्रो हो । यसअघि मण्डनदेउपुरमा वातानुकूलित खोप केन्द्र संचालनमा ल्याइएको थियो । कार्यक्रमको सञ्चालन सरोज थापाले गर्नुभएको थियो ।
