धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार गत २०८३ जेठ २३ गते रोशी गाउँपालिका–८ घर भई हाल धुलिखेल नगरपालिका–७ अङ्कुशधारामा डेरा गरी बस्ने ३८ वर्षीया सरिता हायु धुलिखेल अस्पताल चोकतर्फ जाँदै गर्दा बाटोमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले उनको घाँटीमा लगाएको सुनको सिक्री लुटेर फरार भएका थिए ।
उक्त घटनापछि पीडितले दिएको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको विशेष टोलीले अनुसन्धान तथा खोजतलास तीव्र बनाएको थियो । अनुसन्धानका क्रममा घटनामा संलग्न व्यक्तिहरूलाई मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेँसी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई चोरीसम्बन्धी कसुरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–६ का १८ वर्षीय युनिस कपाली, मण्डनदेउपुर नगरपालिका–४ का १८ वर्षीय नविन तामाङ, तेमाल गाउँपालिकाका १८ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–८ का ३८ वर्षीय कमल बराइली, धुलिखेल नगरपालिका–३ का २३ वर्षीय अजय तामाङ, ओखलढुङ्गाका १८ वर्षीय किरण भुजेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनासम्बन्धी थप अनुसन्धान जारी दिनुभयो ।
