सामुदायिक सुरक्षा जालो तथा महिलाबादी आन्दोलनको सुदृढीकरण सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम बनेपा –४ शेरामा गत बुधबार सम्पन्न भएको छ । बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी रहेका बनेपा ३ र ४ वडाका बासिन्दाहरुले लैंगिक हिङ्गसा, महिला सशक्तिकरणका लागि बिभिन्न कार्यक्रम, द्वन्द व्यवस्थापन लगायतका बिषयमा सरोकारवाला हरुलाई गुनासो सुझाव दिएका थिए । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहाल, बनेपा वडा नम्बर ३ का अध्यक्ष रमेश दाहाल, बनेपा ४ का अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, ईलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरिक्षक धिरज कुमार पट्टेल, बनेपा नगरपालिका सामाजिक तथा लैंगिक शाखा प्रमुख भगवती तामाङ लगायतले सहभागीहरुको गुनासोलाई सम्बोधन गर्नुभएको थियो । प्रमुख अतिथि दाहालले महिलाहरुका निमित्त नगरपालिकाले काम गर्दै आएको र आगामी दिनहरुमा समेत महिलाहरुका लागि थप विभिन्न कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रम सामाजिक संस्था टेवा, सुमी फिनल्याण्ड र युएन वुमनको सहयोगमा महिला जागरण समुहले आयोजना गरिएको हो । महिलाहरुका निमित्त बिभिन्न कार्यहरु गर्दै आइरहेको महिला जागरण समुहले आफ्ना कार्यहरुलाई निरन्तरता दिदै आगामी दिनहरुमा थप नयाँ कार्यहरु समेत गर्दै जाने समूहकी अध्यक्ष निर्मला श्रेष्ठले बताउनुभयो । सञ्चारकर्मी सचित खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा टेवाकी कार्यक्रम अधिकृत सरस्वति श्रेष्ठले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नुभएको थियो ।
