अमेरिका/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आगामी (२०२६–२०२८) कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । चार दशकदेखि नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित सुवेदीले “प्राज्ञिक अनेसासः समृद्ध–पारदर्शी अनेसास” भन्ने मूल मन्त्रका साथ आफ्नो चुनावी सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको हो ।
स्वर्ण पदक विजेतादेखि अनेसासको नेतृत्वसम्म
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट राष्ट्रिय कविता महोत्सवमा प्रथम स्थान हासिल गरिसक्नुभएका सुवेदी त्रिभुवन विश्वविद्यालयका स्वर्ण पदक विजेता र ‘महेन्द्र विद्याभूषण’ बाट विभूषित व्यक्तित्व हुनुहुन्छ । २१ भन्दा बढी साहित्यिक कृतिका सर्जक सुवेदीसँग दुई दशकको प्राध्यापन अनुभव र डेढ दशकदेखि अनेसासको विभिन्न तहमा रहेर काम गरेको सांगठनिक अनुभव छ ।
एघार बुँदे भावी कार्ययोजना
सुवेदीले आफ्नो घोषणापत्रमा संस्थालाई आधुनिक, प्रविधिमैत्री र प्राज्ञिक बनाउन एघारवटा मुख्य बुँदाहरू अघि सार्नुभएको छ ः
साङ्गठनिक रूपान्तरणः केन्द्र र च्याप्टरहरूबीच सिधा समन्वय र आजीवन सदस्यहरूको सङ्ख्या वृद्धि, आर्थिक सुदृढीकरणः सांस्कृतिक कार्यक्रम, वैज्ञानिक प्रवेश शुल्क र सामुदायिक सहकार्यमार्फत कोष अभिवृद्धि, नेतृत्व विकासः पदाधिकारीहरूको दक्षता वृद्धिका लागि विशेष प्रशिक्षण र दोस्रो पुस्ताका लागि कार्यशाला, अनुवाद र प्रकाशनः नेपाली साहित्यलाई विश्वभाषामा अनुवाद गर्न स्थायी संयन्त्रको निर्माण र डिजिटल जर्नल प्रकाशन, भाषा पुस्तान्तरणः विश्वका हरेक च्याप्टरमा ’नेपाली स्कुल’ स्थापना गरी नयाँ पुस्तालाई भाषा र संस्कृति हस्तान्तरण, ई–पुस्तकालय ः पाठकको पहुँचका लागि अत्याधुनिक डिजिटल पुस्तकालय र लेखक–पाठक संवाद चौतारीको व्यवस्था, पुरस्कारको मर्यादा ः पुरस्कार र सम्मान छनोट प्रक्रियालाई पूर्णतः निष्पक्ष, पारदर्शी र मापदण्डमा आधारित बनाउने, अमेरिकाको कोलोराडोमा आयोजित नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलनले जारी गरेका नौं बुँदे घोषणा–पत्रका प्रतिबद्धताका मूल मर्मलाई आत्मसात गरी संस्थालाई पूर्णतःप्राज्ञिक वाङ्मयिक प्रतिष्ठानका रूपमा रूपान्तरण गर्ने, पूर्व अध्यक्षहरूले जारी गरेका घोषणापत्रहरूको अध्ययन गरी, पूर्व कार्यकालहरूका अधुरा वा अपूर्ण कार्यक्रमहरूलाई पूर्णताको मार्गमा अघि बढाउने, हरेक आजीवन सदस्यलाई पहिलो प्राथमितामा राखी, हरेकमा आत्मसम्मान बोध हुने किसिमका कार्यक्रमको परिकल्पना, सिर्जना र कार्यान्वयन गर्ने र हरेक कोणबाट उच्चतम स्तरमा संस्थाको साखवृद्धि गर्ने ।
पहुँचमुक्त र समावेशी अनेसासको प्रतिबद्धता
सुवेदीले आफ्नो सङ्कल्प पत्रमा संस्थालाई कुनै निश्चित समूहको घेराभन्दा बाहिर राखेर विश्वभरका नेपाली भाषाप्रेमीहरूको साझा घर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “म पद प्राप्तिको लालसाले होइन, बरु संस्थाको आन्तरिक लोकतान्त्रिकीकरण र सीमान्तकृत स्रष्टाहरूको आवाज बुलन्द गर्न चुनावी मैदानमा आएको हुँ,” उहाँले भन्नुभएको छ । अनेसासको आगामी निर्वाचनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ, जसमा सुवेदीले आफ्नो चार दशक लामो प्राज्ञिक यात्रा र सांगठनिक निष्ठालाई मुख्य आधार बनाएर मतको अपिल गर्नुभएको छ ।
