IMG-LOGO

प्याब्सन काभ्रेबाट एसईईमा उत्कृष्टता हाँसिल गर्नेलाई सम्मान

 मंगल, जेठ १९, २०८३  -

    प्याव्सन काभ्रेले एसईई सम्मान २०८२ भव्य रुपमा सम्पन्न गरेको छ ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय, शिक्षक तथा अभिभावकलाई सम्मान गरेको छ । प्याब्सन अन्तर्गत यस वर्ष पाँच जना विद्यार्थीले सर्वोत्कृष्ट जीपीए ४ प्राप्त गरेका छन् । विद्यासागर स्कुल बनेपा, सिद्धार्थ इङ्गलिस स्कुल बनेपा, नवप्रतिभा स्कुल पाँचखाल तथा पनौतीस्थित नवरत्न माविका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका हुन् । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. अच्युत वाग्लेले उत्कृष्ट विद्यार्थी, अभिभावक तथा विद्यालयका प्रिन्सिपलहरूलाई समेत सम्मान गरेका थिए । उत्कृष्ट विद्यार्थीहरूले नगद १० हजार रुपैयाँसहित विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।
    त्यसैगरी, प्याब्सन काभ्रेले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने प्याब्सनअन्तर्गतका ३१ विद्यालयलाई सम्मान गरेको छ । प्याब्सनमा आबद्ध ५२ विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । नौ वटा विषयका उत्कृष्ट विषयगत शिक्षकहरूलाई सम्मान गरिएको कार्यक्रममा एउटै विद्यालयमा निरन्तर २५ वर्षदेखि सेवा गर्दै आएका दीर्घसेवी शिक्षकहरूलाई पनि विशेष सम्मान गरिएको थियो । कार्यक्रममा चार सय ५० भन्दा बढी उत्कृष्ट विद्यार्थीहरू सम्मानित भएका थिए । यो वर्ष प्याब्सनबाट १५ सय भन्दा धेरै विद्यार्थीहरु एसईईमा सहभागि भएका थिए ।
    केयूका पूर्व उपकुलपति प्रा. डा. अच्युत वाग्लेले सम्बोधनको क्रममा देशको शिक्षामा स्तर उन्नतीका आधार स्तम्भ धेरै तयार हुँदै गएको छ भन्नुभयो । कार्यक्रममा प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवालले निजी विद्यालयहरूले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा उपमहासचिव भीमसेन केसीले निजी क्षेत्रको लगानीलाई अवमुल्यनगरी विद्यालय क्षेत्रलाई तहसनहस बनाउने खालको वातावरण सिर्जना हुन थालेको बताउनुभयो । 
    कार्यक्रममा उपाध्यक्षद्धय बसन्त नेपाल र सुजेन्द्र श्रेष्ठले प्याब्सन काभ्रेको समग्र गतिविधि तथा कार्यक्रमको औचित्यमाथि धारणा राख्नुभएको थियो । सचिव विमल न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले गर्नुभएको थियो । अध्यक्ष भुजेलले विद्यार्थीहरूको शैक्षिक स्तर विकासमा महत्वपूर्ण योगदान गरेको भएपनि सरकारले अवमुल्यन गरेको बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्