पनौती बाँसघारी स्थित श्रीदेवी भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको चतुर्थ ब्रह्मोत्सव हुने भएको छ । श्रीमुक्तिनाथ मन्दिर संरक्षण समिति, पनौती नगरपालिका वडा नं ५ ले संचारकर्मी सम्मेलन गरेर ब्रम्होत्सवबारे जानकारी दिएको हो । बैशाख २४ गतेदेखि २६ गतेसम्म हुने ब्रम्होत्सबमा २४ गते पुर्वाङ्ग हुनेछ । उक्त दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्राह्मणवरण, अङ्कुरारोपण, द्वारतोरण पूजा, अग्निप्रतिष्ठा, ध्वजारोहण हुनेछ । २५ गते नित्य पूजा आराधना, श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवान्को बाजागाजा साथ विहान ११ः३० बजे मुक्तिनाथ मन्दिरदेखि पनौती त्रिवेणी धामसम्म यात्रोत्सव (नगरपरिक्रमा) गराइनेछ ।
२६ गते विहान ११ः०० बजे महापूर्णाहुती श्रीमुक्तिनाथ भगवान्को १०८ कलशद्वारा महाभिषेक, कल्याण उत्सव हुने आयोजक संस्थाका अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । २०७४ सालमा शुरुवात भएको मुक्तिनाथ मन्दिरमा भक्तजहरूको भीड बढ्दै गएको र धार्मिक पर्यटनमा टेवा पुगेको मन्दिर संरक्षण समितिका सल्लाहकार भोला थापाले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेशाखा अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्वअध्यक्ष महेशराज पौडेल लगायतले मन्दिर र ब्रम्होत्सव बारेमा बोल्नुभएको थियो ।
