कला कहिल्यै मर्दैन भन्ने भनाइलाई पाँच वर्षको कलिलो उमेरदेखि आफ्नो गायन यात्रा सुरु गरेका सदाबहार गायक रबिन श्रेष्ठले पुष्टि गरेका छन् । गायन, गीत लेखन साथै कम्पोजरको रुपमा परिचित रबिन श्रेष्ठ सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् । आगनैभरि, लजाउने माया, नक्कली कान्छी, छेक्यो छेक्यो लगायत दर्जनौँ कालजयी गीतका गायक श्रेष्ठ संगीतका अमूल्य धरोहर, पुराना गायक तथा सर्जक हुन् । उनको स्वर, सिर्जना र समर्पणले नेपाली संस्कृति, भावना र पहिचानलाई उजागर गरेको छ । गीत संगीतप्रति उनको योगदान सधैं अमर र प्रेरणादायी रहने छ । उनले देखाएको मार्गले नयाँ पुस्तालाई सधैं प्रेरित गरिरहनेछ । नेपालकै नम्बर १ बन्न सफल नेपथ्य ब्यान्डका पहिलो भोकलिस्ट समेत रहेका श्रेष्ठले पछिल्लो समयमा एकल गायन मार्फत आफूलाई स्थापित गरेका छन् ।
पप गीतको क्षेत्रमा संसारभर छरिएर रहेका नेपाली माझ आफूलाई स्थापित गरेका श्रेष्ठले दर्जनौँ गीत गाएका छन् । संगीतको शिक्षा लिएरै आफूलाई अब्बल बनाएका श्रेष्ठले अघिल्लो पुस्ताका गायक प्रेमध्वज प्रधान, ओम विक्रम बिष्ट, दीप श्रेष्ठ साथै बच्चु कैलाश जस्ता विशिष्ट गायकहरूको गायकीबाट प्रभावित थिए । नेपाल लगायत संसारका धेरै देशहरूमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका श्रेष्ठ सयौँ कार्यक्रमहरुबाट सम्मानित पनि भइसकेका छन् । पछिल्लो समयमा श्रेष्ठको गायनमा तयार भएको गीतको म्युजिक भिडियो दिल्लगी दर्शक माझ आएको छ जुन गीत छोटो समयमै सबैको रोजाईमा पर्न सफल भएको छ । हाम्रो डबलीको प्रस्तुति रहेको गीतलाई ब्रदर्श प्रोडक्सनबाट निर्माण गरिएको छ भने रविन श्रेष्ठ अफिसियल युट्युब च्यानलबाट दर्शक माझ ल्याइएको छ । गीतका गीतकार, कम्पोजर, एरेन्जर रबिन बान्तवा खाहोङ राई, निर्माता मधु गुरुङ, मोडलहरू सुवन चाम्लिङ, रश्मी उप्रेती र मणिकुमार बुढाथोकी रहेका छन् भने पवित्रा राईले यस गीतलाई निर्देशन गर्नुभएको छ ।
