काठमाडौँ । यसवर्षको ‘बी डी त्यागी प्रतिभा सम्मान’ द्धारा साहित्यकार तथा सञ्चारकर्मी प्रदीप सापकोटा सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई केन्द्रकी संरक्षक गौरी आचार्य, अग्रज साहित्यकार वेदमणी घिमिरे, उपन्यास समाजका अध्यक्ष एवं सम्मान चयन समितिका संयोजक शंकर भारतीलगायतले सम्मान समर्पण गरे । पनौती, काभ्रेका स्रष्टा सापकोटाका ’यात्राका इन्द्रेणी रंग’,’यात्राको लय’, ’मनको वारपार’ कृति प्रकाशित छन् । फुटकर रुपमा साहित्यका प्रायःविधामा कलम चलाउने सुनकोशी वाङ्मय प्रतिष्ठानका महासचिव सापकोटाका निबन्ध, नियात्रा, समीक्षा, कविता, मुक्तक, लघुकथा फुटकर रुपमा थुप्रै प्रकाशित भैसकेका छन् । जीवनभर लेखन कार्यमा लागे पनि प्रकाश र चर्चामा आउन नचाहने साहित्यकार बी डी त्यागीको नाममा स्थापित उक्त सम्मान उनको स्मृति दिवसको अवसरमा बी डी त्यागी स्मृति केन्द्रले समर्पण गरेको हो ।
