काभ्रे । पाँचखाल नगरपालिकालाई यस आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगर प्रमुख एवं पालिकास्तरीय खोप समितिका संयोजक महेश खरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । पाँचखाल नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो । उक्त पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्ये जिल्लामै चौथो नम्बरमा पर्न सफल भएको छ । यसवर्ष नमोबुद्ध नगरपालिका पहिलो भयो भने मण्डनदेउपुर नगरपालिका दोस्रो र भुम्लु गाउँपालिका तेस्रो भएका छन् ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले पाँचखाल नगरपालिका जिल्लाका पालिका मध्ये चौथोे पूर्णखोप पालिका भएको जनाउँदै खोपका सबै सूचकहरु पूरा गरेर केही सातामै जिल्लाका १३ वटै पालिकालाई यस अभियानमा संलग्न गराइने बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रमुख महेश खरेलले पालिकाको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहेको र नागरिकको स्वास्थ्य अवस्थाप्रति आफूहरु सधैं सजग रहेको धारणा व्यक्त गरे । कार्यक्रममा सहभागी सबैले हरेक बालबालिकाको खोप पाउने अधिकारलाई सुनिश्चित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले वैशाख १५ गतेदेखि राष्ट्रिय पोषण लेखाजोखा अभियान–२०८३ प्रारम्भ गरेको छ । अभियान वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । अभियानमा जिल्लाका २३ हजार २ सय ८४ जना बालबालिकाहरुलाई सहभागी गराइँदैछ । जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले अभियानअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्म उमेर समूहका बालबालिकाको पाखुरा नाप, उमेर अनुसारको तौल र उमेर अनुसारको उचाईका आधारमा पोषणको अभिलेखिकरण गरिने जनाउनुभयो । यस्तै ६ महिनादेखि २३ महिनासम्मका ७ हजार ४ सय २७ जना बालबालिकालाई बालभिटासमेत प्रदान गरिने जनाएको छ ।
